site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलाडी छनोटका निम्ति सुदूरपश्चिममा कोटा प्रणाली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डरमै समावेश गरेको मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टिम बनाउन अहिले सबै प्रदेश धमाधम लागिरहेका छन् ।

प्रतियोगिताका लागि पाँच दिनमात्र बाँकी रहेका कारण पनि सबै प्रदेश टिम बनाउने चर्को तयारीमा छन् । कास्कीको पोखरामा हुने तालिका रहेको प्रतियोगिता माघ २८ गतेदेखि फागुन ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक आयोजकको टोली गरी कुल आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले प्रतियोगिताका लागि माघ १२ गते सुदूरपश्चिम प्रदेशलाई टिम तयारी अवस्थामा राख्न भन्दै पत्र लेखेको थियो । तर, त्यसको पाँच दिनपछि क्यानले सोही बेहोराको पत्र पुनः पठाएको थियो । पहिलो पत्रमा क्यानले सहभागी खेलाडीको जन्ममिति २०६५ भदौपछिको हुनुपर्ने बताए पनि दोस्रो पत्रमा भने २०६४ माघपछिका खेलाडीले खेल्न सक्ने जनाएको थियो ।

प्रतियोगिता सुरु हुन एक हप्तामात्र बाँकी रहँदा छनोट सुरु गरेको सुदूरपश्चिमले टिम बनाउन कोटा प्रणाली ल्याएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले छनोटमा आउने खेलाडीको खाना र आवासका निम्ति चटकपुर धनगढीमा रहेको होटेल जुमेरा प्रा.लिलाई लेखेको पत्रमा सात जिल्लाका खेलाडीलाई कोटा छुट्याइएको छ । 

उक्त पत्रअनुसार बैतडीका ६ खेलाडी रहँदा अछाम र कञ्चनपुरका समान चार खेलाडी छन् । डोटी, दार्चुला र बझाङका समान तीन खेलाडी कोटामा रहँदा डडेल्धुराले भने पाँच खेलाडी ल्याउन पाउने उल्लेख छ । 

“त्यो पत्र मैले लेखेको हैन । अध्यक्षज्यूले किन त्यसरी जिल्लालाई निश्चित कोटा दिएर पत्र लेखे त्यसबारे मलाई जानकारी पनि छैन । प्रदेश टिम बनाउन कोटा प्रणाली ल्याएको देख्दा म नै अचम्मित छु,” सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बाह्रखरीसँग भने ।

पत्रमा क्यानका केन्द्रीय अध्यक्ष समेत रहेको चतुरबहादुर चन्दको जिल्ला बैतडीलाई ६ र प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको जिल्ला डडेल्धुरालाई पाँच खेलाडी छुट्याइएको छ । प्रदेश क्रिकेट संघको यो निर्णयप्रति कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले कुन आधारमा कोटा छुट्याइएको हो ? भन्दै प्रश्न गरे ।

“प्रदेशले कुन आधारमा कोटा प्रणाली ल्याएको हो भन्ने नै अचम्मलाग्दो छ । बैतडीलाई ६ र डडेल्धुरालाई पाँच खेलाडी दिइँदा क्रिकेटकै उर्वर जिल्ला कञ्चनपुरलाई चार खेलाडीको मात्र कोटा कुन आधारमा छुट्याइएको हो,” चन्दले बाह्रखरीसँगको कुराकानीमा भने, “प्रदेशले खर्च धान्न सक्दैन भने हामीलाई भन्नुपर्यो । चारजनाको मात्र कोटा आएपछि मैले खेलाडी नै छनोटमा पठाएको थिइन् । तर, अहिले आठ खेलाडी पठाउने सहमति बनेको छ । जसमध्ये चारजनाको खर्च जिल्लाले गर्नेछ । छनोटमा सहभागी हुन चाहनेलाई खेल्न पाउने वातावरण मिलाउन सक्नुपर्छ भन्ने हो ।”

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका चन्द साउद, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कमलसिंह ऐरी, प्रदीप ऐरी, नरेश बुढाएर, भीम सार्की, सन्दीप जोरा, विक्रम सोब, दीलिप नाथ, ललित भण्डारीसँगै युवा टिमबाट खेलिसकेका सुरेन्द्र चन्द (बादसाह), आकाश चन्द, सन्तोष भट्ट, हेमन्त धामीसँगै धेरै खेलाडी कञ्चनपुरकै उत्पादन हुन् ।

प्रादेशीय छनोटका लागि केन्द्रबाट ५० हजारमात्रै
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले खेलाडी छनोटका लागि क्यानले ५० हजार रुपैयाँ मात्र पठाएको बताए । उनले बजेट अभावकै कारण जिल्लालाई निश्चित संख्यामा खेलाडी ल्याउन अनुरोध गरिएको बताए ।

“मनमोहन स्मृति प्रतियोगिताका लागि क्यानले जम्मा ५० हजार पठाएको छ । यसलाई बढाएर एक लाख पु¥याउने भन्ने चर्चा भए पनि आधिकारिक केही आएको छैन,” अध्यक्ष जोशीले बाह्रखरीसँग भने, “बैतडीले जिल्ला छनोट गरेर ६ जना राख्नुस् भनेर अनुरोध गरेपछि हामीले त्यहाँबाट ६ जना खेलाडी राख्ने भएका हौँ । छनोटमा आउने सबै खेलाडीको खर्च प्रदेशले धान्न नसक्ने हुँदा जिल्लालाई यसरी निश्चित संख्या ल्याउन अनुरोध गरेका हौँ । तर, आफ्नै खर्चमा आउने खेलाडीले पनि छनोट खेल्न पाउने र खेलिरहेका छन् ।”

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro