काठमाडौं । लियोनल मेसीको टोली इन्टर मियामीले प्रि–सिजन टुरमा पहिलो जित निकालेको छ । मियामीले प्रि–सिजन टुरअन्तर्गत आइतबार भएको खेलमा हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको हो ।
आइतबार हङकङस्थित हङकङ रंगशालामा भएको खेलमा मियामीलाई जित दिलाउन रोबर्ट टेलर, लसन कोनेरी, लियोनर्दो क्याम्पाना र र्यान साइलोरले गोल गरे । हङकङ–११ का हेन्री एनिएरले एक गोल फर्काएका थिए ।
हङकङ–११ विरुद्ध मियामीका नियमित कप्तान लियोनल मेसी र फरवार्ड लुइस स्वारेज भने मैदान उत्रिएनन् ।
प्रि–सिजनको यसअघिका खेलमा मियामीले एल साल्भाडोरसँग गोलरहित बराबरी खेल्दा एफसी डल्लाससँग १–० को, अल हिलालसँग ४–३ को र अल नासरसँग ६–० को हार बेहोरेको थियो ।
इन्टर मियामीले अब जापानी क्लब भिसेल कोबे र अर्जेन्टिनी क्लब नेवेल्स ओल्ड ब्वाइजसँग खेल्ने छ । नेवेल्स ओल्ड ब्वाइज अर्जेन्टिनी कप्तान लियोनल मेसीको पुरानो क्लबसमेत हो ।