site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी
सांकेतिक तस्बिर ।

काठमाडौं । ७१औँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपांगता हुनबाट जोगाउने बताए । 

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । 

कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् ९४४ बिरामी रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५६५, कोसीमा ४७१, सुदूरपश्चिममा २३०, वाग्मतीमा १२०, गण्डकीमा ११९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको संख्या एक हजार ४९, बालबालिकाको संख्या १८१ रहेको देखिन्छ ।

विभागका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताए । रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ । 

पछिल्लो समय तराई र विशेषगरी मधेस प्रदेशमा कुष्ठरोगका बिरामीको संख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताए । कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताए । 

यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । “एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ,” सिंहले भने ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताए । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ । रासस

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro