काठमाडौं । अभिनेता निश्चल बस्नेत केमियो रोलमा नेपाली सिनेमामा बाक्लै देखिने व्यक्ति हुन् । केमियो रोलमात्रै होइन सिनेमाको टिमले गीतका लागि आग्रह गर्दा पनि नकार्न नसक्ने कलाकार हुन्, निश्चल ।
उनको जन्मदिनमा निर्देशक सौरभ चौधरीले तस्बिरसहित दिएको शुभकामनाबाट निश्चल चलचित्र अगस्त्यमा रहेको पुष्टि भएको छ ।
‘अगस्त्य’मा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ । निश्चललाई ‘अजित’ पात्रको भूमिकामा सिनेमामा देख्न सकिनेछ ।
‘दिमाग खराब’मा पनि निश्चलको सरप्राइज भूमिका थियो । आफू सिनेमामा नरहेको भनेर प्रचार गरे पनि निश्चल चलचित्रको सुरुदेखि नै पर्दामा देखिन्थे ।
फागुन १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्थ्य’मा सौरभ चौधरीको लेखन तथा निर्देशन छ ।
निश्चलले आफ्नो जन्मदिनको अवसरमा यो वर्ष ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्ने र दसैं अगाडि नै एक्सन सिनेमा निर्देशन गर्ने बताएका छन् ।