काठमाडौं । अग्रज गायक योगेश वैद्यको निधन भएको छ । ‘सपना भुलाई सारा...’ लगायत दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।
सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति १२ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले करिब ५०० नेपाली र १०० भन्दा बढी नेपालभाषाका गीतमा स्वर दिएका छन् । वि.सं. २००३ सालमा काठमाडौंमा वैद्यको जन्म भएको थियो ।
लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए । उनको अन्तिम श्रद्धाञ्जलीका लागि तयारी गरिरहेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।