काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कूटनीतिक पहल गरी हटाउन माग गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरबमा अनिवार्य नभएको तर नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउन अनिवार्य गरिएको बताए ।
संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । त्यस्तै, नि:शुल्क तालिमका नाममा बनाइएको कार्यविधिका अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ ।
मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए ।