पोखरा । बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा जिल्ला अदालत कास्कीले एकैदिन दुईवटा सहकारीमा मुछिएका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
पोखराकै मित्रमिलन सहकारीले करोडौँ रकम अपचलन गरेको अरोप छ । सूर्यदर्शन सहकारीले त अर्बौं रकम हिनामिना गरेको बतान्छ । थुप्रै व्यक्ति फरार छन् ।
मंगलबार जिल्ला अदालतले पक्राउ परेकाहरूको बयानपछि थुनामा पठाउन आदेश दिएको हो । अदालतले थुनामा पठाएका व्यक्तिहरूमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म छन् ।
कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । उनी गत बुधबार कार्यरत कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ परेका थिए । प्रमुख प्रशासकीय अधिकृतमा बहालवाल रहेकै अवस्थामा पर्वत प्रहरीले नियन्त्रणमा लिई कास्की प्रहरीलाई सुम्पिएको थियो ।
पराजुलीले सहकारी रजिस्ट्रार हुँदा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।
पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन् । दुईपटकमा गरी उनले केही रकम फिर्ता पनि गरेको उनको भनाइ छ ।
तर, काम नभएपछि थुनामा रहेका सञ्चालकले पराजुलीको पोल खुलाएका थिए । सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड बिगो दाबीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो । ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ६ जनामात्र पक्राउ परेका छन् ।
पूर्वरजिस्ट्रार पराजुलीसँगै मंगलबार कर्मचारी गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल पुर्पक्षका लागि जेल पठाइए । सहकारीका अध्यक्ष एवं सञ्चालक ३२ वर्षीय रमन पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघिदेखि नै कारागारमा छन् । सहकारीका तीनहजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।
सहकारीका बचतकर्ताको ठगीमा देशैभर बद्नामी कमाएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अर्का एक अभियुक्त अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका शिवबहादुर गुरुङ भनिने महेन्द्र भोटे कानुन व्यवसायीसहित जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । उनको बयान नसकिएका कारण उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।
कास्की प्रहरीले रेड कर्नर नोटिस जारी गर्नका लागि प्रहरीको केन्द्रीय कार्यालय गुहारेको बेला आफैँ अदालतमा उपस्थित भएका भोटे र अर्का आरोपित भविश्वर अर्याललाई बयान नसकिएका कारण न्यायाधीश वसन्तजंग थापाको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
महेन्द्र कास्कीको मादी गाउँपालिका वडा नम्बर १० घर भई हाल पोखरा–१२ लालीगुराँस टोल निवासी हुन् । भविश्वर गल्याङ–९ स्याङ्जाका बासिन्दा हुन् । महेन्द्र अघिल्लो वर्षको स्थानीय चुनावमा एमालेको तर्फबाट मादी गाउँपालिकाको अध्यक्षका प्रत्यासीसमेत रहेका थिए ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले मंगलबार बयान लिने काम मात्रै भएको जानकारी दिए । उनका अनुसार आदेश नआउन्जेल उनलाई प्रहरी हिरासतमा राखिने छ ।
“आज बयान मात्रै भयो । थुनछेक बहस भोलि (बुधबार) हुनेछ । आज दुईजना उपस्थिति भएका थिए । हाल उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ,” अधिकारीले भने ।
यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । यही हप्ता काठमाण्डौबाट पक्राउ परेका रम्तेल रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षसमेत भएको खुलेको छ । उनी माओवादीबाट निर्वाचित भएका थिए ।
गीतेन्द्र बाबु (जीवी) राईको समुहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरूको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको बताइन्छ । सूर्यदर्शन सहकारीको १० करोड भन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको खुलासा भएको थियो ।
सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
यो सहकारीले एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको आरोप छ ।