काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडविरुद्ध २–० को सहज जित निकालेको छ । शनिबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीलाई जित दिलाउन रोड्री र हुलियन अल्भारेजले गोल गरे ।
खेलको १४औँ मिनेटमा रोड्रीको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले फिल फोडेनको पासलाई सदुपयोग गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि एक गोल थप्यो ।
६१औँ मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । यसपटक पनि फोडेनले नै अवसर सिर्जना गरेका थिए ।
जितसँगै १९ खेलमा ४० अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी दुई अंकमा झारेको छ । समान खेलबाट ४२ अंकसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।
सिटीसँग पराजित सेफिल्ड भने २० खेलबाट नौ अंकसहित पुछारमा छ । सेफिल्ड रेलिगेसन क्षेत्रभन्दा माथि रहेको एभर्टनभन्दा सात अंकले पछि छ ।