site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अपराजित धनगढीलाई हराउँदै झापा शीर्ष चारमा

काठमाडौं । साविक उपविजेता धनगढी एफसीविरुद्ध २–० को जित निकाल्दै झापा एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष चारमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापालाई जित दिलाउन कप्तान अञ्जन विष्ट र समिरराज थोकरले गोल गरे । एनएसएलको दोस्रो संस्करणमा धनगढीको भने यो पहिलो हार हो ।

झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५३औँ मिनेटमा कप्तान अञ्जनले गरेको गोलबाट झापाले अग्रता बनाएको हो । छिरिङ लामाले राइट साइडबाट गरेको क्रसमा अञ्जनले हेडर गोल गरेका हुन् ।

यस्तै, ७७औँ मिनेटमा समिरराज थोकरले गोल गर्दै झापाको अग्रता दोब्बर बनाए । प्रदीप लामाले पेनाल्टी बक्सको लेफ्ट साइडबाट निकालेको पासलाई ओर्गे सान्चेजले ‘फर्स्ट टच’ पोस्टको दिशा दिएका थिए । तर, लाइनबाट समिरराजले बललाई जाली चुमाएपछि उनको नाममा गोल भएको हो ।

जितसँगै सात खेलबाट १० अंक जोडेको झापा तालिकाको चौँथो स्थानमा उक्लिएको छ । प्रतियोगितामा झापाको यो दोस्रो जित हो । 

झापासँगको हारले अन्तिम खेलअगावै प्लेअफमा पुग्ने धनगढीको लक्ष्य पूरा हुन पाएन । सात खेलबाट १२ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा यथावत् छ । समान खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा आसिन पोखरा थन्डर्सले भने प्लेअफमा स्थान निश्चित गरिसकेको छ । 

दशरथ रंगशालामा दुवै टिमले गोलका आधा दर्जनभन्दा धेरै अवसरको सदुपयोग गर्न सकेनन् । खेलको पहिलो मिनेटमा नै झापाले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । धनगढीका अहमद सिजाजीले खेलको सुरुआत गर्दै बल रोहन कार्कीलाई पास दिएका थिए । तर, रोहनले डिफेन्डर डियाग्ने फालोउलाई दिएको निकै कमजोर पास नियन्त्रणमा लिँदै झापाका प्रशान्त लक्षमले बल अघि बढाए । लक्षमले ओर्गे सान्चेजलाई पास दिए पनि १८ यार्ड बक्समा ‘चिप’ गर्ने उनको प्रयास राम्रो हुन नसक्दा बल बाहिरिएपछि झापाले अग्रता बनाउन सकेन ।

तेस्रो मिनेटमा धनगढीका अहमेद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो । अभिषेक गुरुङको पासलाई नियन्त्रणमा लिँदै आशिष चौधरीले १८ यार्ड बक्सभन्दा निकै परबाट प्रहार गरेका थिए । तर, आशिषले बलसँग ‘कन्ट्याक्ट’ सही गर्न नसक्दा उनको प्रहारलाई पेनाल्टी बक्सका अहमेद हिजाजीले नियन्त्रणमा लिँदै भली प्रहार गरे पनि बल आकासिएको हो ।

छैटौँ मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि गोलकिपर स्टेफन कुपिकले खतरा टारे ।

२०औँ मिनेटमा झापाका गोलकिपर स्टेफन कुपिकले पुनः एकपटक टिमको खतरा टारे । रामचन्द्र वाजीले मध्यभाग बाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई झापाका गोलकिपर कुपिकले मुस्किलले बचाएका थिए । कुपिकबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे ।

२२औँ मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक झापाका गोलकिपर कुपिकले मुस्किलले जोगाए । अभिषेक गुरुङमाथि फाउल गरेपछि प्रशान्त लक्षमले फाउल गरेपछि लेफ्ट साइडमा पेनाल्टी बक्सभन्दा बाहिरबाट धनगढीले फ्रिकिकको अवसर पाएको थियो । जसमा कमलको प्रहारलाई कुपिकले पन्च गरि फ्याकिदिए ।

२४औँ मिनेटमा झापाले पुनः अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । राइट साइडबाट लक्ष्मण रुचालले निकालेको क्रसलाई बक्सभित्रका सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो ।

४१औँ मिनेटमा झापाका सान्चेजको प्रहारमा धनगढीको गोलकिपर मोहम्मद ताहा बाधक बने । प्रशान्त लक्षमले मिडफिल्डबाट गरेको ‘स्विच’ नियन्त्रणमा राख्दै राइट साइड पेनाल्टी बक्सभित्रबाट सान्चेजले गरेको सशक्त प्रहारलाई ताहाले विफल बनाए । सोही रिबाउन्डमा झापाका लक्ष्मण रुचालले ‘एक्रोबेटिक’ को प्रयास गरे पनि बलसँग ‘कनेक्ट’ गर्न सकेनन् ।

७०औँ मिनेटमा धनगढीका फोडे फोफानाको प्रयासलाई पुनः झापाका गोलकिपर कुपिकले विफल बनाए । लेफ्ट साइडबाट अभिषेक गुरुङले गरेको क्रसमा फोफानाको हेडरलाई कुपिकले बारबाट माथि फ्याकिदिएका थिए ।

७९औँ मिनेटमा धिरज थातलीले रातो कार्डको दर्शन गरेपछि झापा १० खेलाडीमा सीमित बनेको थियो । धिरजले धनगढीका साइमोन लिम्बुमाथि गरेको ट्याकलमा रेफ्री राम दासनले सोझै रातो कार्ड देखाएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro