site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुखुराको 'विषाक्त' मासुका कारण भएका थिए बिरामी !
प्रतीकात्मक तस्बिर ।

पोखरा । गएको हप्ता लमजुङको सुन्दरबजारमा सामूहिक भोज खाएकामध्ये ३८ जना बिरामी र एकजनाको मृत्यु भएको घटनाबारे प्रदेशको स्वास्थ्य निर्देशनालयले भोजमा प्रयोग गरिएको कुखुराको मासु विषाक्त रहेको 'अनुमान'सहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई बुझाइएको छ ।

गएको मंसिर २२ गते लमजुङको सुन्दरबजार नगरपालिका–८, डुडकुलामा क्रिसमसका अवसरमा आयोजित एक कार्यक्रममा सामूहिक भोज गरिएको थियो । भोजमा ४१ जना सहभागी रहेको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूमध्ये बिरामी भएकी ३२ वर्षीय देवी परियारको मंसिर २४ गते अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । बेंसीसहर नगरपालिका–४, पुरानकोट घर भएकी उनी सुन्दरबजार नगरपालिका–९, भोटेओडार बस्दै आएकी थिइन् । त्यसबाहेक ३९ जना एकैपटक बिरामी परेका थिए ।

बिरामी भएकाहरूमध्ये १० जना पुरुष र २८ जना महिला छन् । यसमा १५ वर्षमुनिका तीनजना बालिका र आठ बालक छन् ।

“उक्त परिकारहरू सेवन गरेपछि भोलिपल्टदेखि ३९ जनालाई झाडापखाला, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन गई एचडीसीएस नमुना सामुदायिक अस्पतालमा उपचारका लागि जानुभएको,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भोजमा प्रयोग भएको खाद्यान्नको अध्ययन तथा अनुसन्धानका लागि एउटा टोली गठन गरिएको थियो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. शशि कँडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट भुपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद अर्याल र विश्व स्वास्थ्य संगठनका डाक्टर सुजन अधिकारीसहितको अध्ययन टोली मंसिर २६ गतेदेखि स्थलगत अध्ययनका लागि लमजुङ पुगेको थियो ।

टोलीले गत शुक्रबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा, महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अधिकारी लगायतसँग आफ्नो अध्ययनको नतिजा प्रस्तुत गर्दै मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो ।

अध्ययन टोलीले पेस गरेको प्रारम्भिक अध्ययनको सारांश अनुसार भोजमा दाल, भात, कुखुराको मासु र मुलाको अचार सेवन गरिएको थियो । सोही परिकार सेवनबाट बिरामी भएकामध्ये केही अझै उपचाररत छन् ।

“भोजमा सेवन गरिएका परिकारहरूमध्ये कुखुराको मासुमा विषाक्त रहेको अनुमान गरिएको छ,” प्रतिवेदनमा औँल्याइएको छ ।

यसबाहेक भोजमा मासु काट्न प्रयोग गरिएको धारिलो हतियार र अचानोबाट स्वाब निकाली परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro