site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जब शताब्दी पुरुषलाई चिनेँ... 
Sarbottam CementSarbottam Cement

जागिरबाट निवृत्त भएर म घरमा बसेको ६ महिना हुन लागेको थियो । एक दिन मित्र कुलबहादुर आचार्यले फोन गर्नुभयो ।

“समय के छ ? तपाईं त भाषासाहित्यमा रुचि राख्ने मानिस, जाऊँ आज होटेल अन्नपूर्णमा । मेरा पुुराना हितैसी बर्मा निवासी कुमार कार्कीको  पुस्तक विमोचन कार्यक्रम छ ।”

हामी अन्नपूर्णमा पुग्दा सर्जकसहित अरू आमन्त्रितहरू फोटो खिचिरहेका थिए । त्यसैमा मिसियौँ हामी पनि ।

Prabhu Bank
Agni Group
NIC Asia

हलमा पुगेपछि केही चिनेका मानिसमध्ये पहिले भेटिए कलाकार राजाराम पौडेल । बीए पढ्दा रत्नराज्यलक्ष्मी क्याम्पसमा उनी सहपाठी थिए । चिन्लान् नचिन्लान् भन्ने थियो, झ्याप्पै चिने ।

उनी तिनताक क्याम्पसमा जसरी प्रस्तुत हुन्थे, त्यसरी नै प्रस्तुत भए । मानिसको स्थायी स्वभावले सम्बन्ध सहज बनाउँछ, मलाई त्यस्तो लाग्छ ।

Global Ime bank

कार्यक्रमको प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष, इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशी रहेछन् । अरू अतिथिहरूमा कलाकार राजेश हमाललगायत थिए ।

म अगाडिकै लहरमा बसिरहेको थिएँ । मित्र कुलबहादुर तीन लहरपछाडि बर्मेली साथीसित कुरा गर्दै थिए । मेरो छेवैमा आएर सत्यमोहन जोशी बसे । मैले आदरपूर्वक नमस्कार गरेँ । उनले नमस्कार फर्काए ।

सत्यमोहन जोशीसितको बसाइले मलाई कस्तोकस्तो व्यक्तित्वको भारले थिचेको अनुभूति भइरहेको थियो । एकैछिनपछि कलाकार राजेश हमाल पनि आएर मेरै छेउमा बसे । म त्यहाँ धेरै बेर बस्न सकिनँ । पछाडि कुलबहादुरकै छेउ लागेर बसेँ ।

एउटै लहरमा, एकै ठाउँमा देशका ठूला ठानिएका, प्रधानमन्त्रीलगायत उच्चपदस्थसित बस्दा कुनै झिझक मान्नुपरेको थिएन मलाई । संस्कृतिविद् सत्यमोहन जोशीको छेउमा बस्दा निकै अप्ठेरो वा भनूँ धान्न नसकिनेस्तरको व्यक्तित्वबोधको ओजले थिचेको अनुभूत भयो ।

मानिसले आफ्नै कर्मले बनाएका मूल्यको वजन अरूका सहारामा बनेका पदका वजनभन्दा गरुँगा हुँदा रहेछन् । देशको प्रतिष्ठा आत्मामा बोकेर हिँड्नेहरूको उचाइ अरूको भन्दा अग्लो हुँदो रहेछ । सत्यमोहन जोशीबारे मेरो यस्तो धारणा बन्यो ।

सत्यमोहन मेरो अध्ययनको विषय नपरेर होला, मैले खासै पढेको रहेन छु । आफ्नो विद्यार्थी जीवनमा पनि उनीभन्दा अगाडिका भानुभक्त आचार्य, मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदिलाई जसरी पढेँ अथवा उनका समकालीन माधव घिमिरेलगायतलाई जसरी बुझेँ, सत्यमोहन जोशीलाई त्यसरी बुझ्ने सन्जोग परेको नै रहेन छ ।

सर्जक कुमार कार्कीको २०७४ चैत्र २१ गते ‘जीवन संघर्ष’ नामक कृति विमोचन कार्यले सत्यमोहन जोशीबारे केही बुझ्ने र पर्गेल्ने अवसर जुरायो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी इतिहास तथा संस्कृतिविद् । नेपाली इतिहास र संस्कृतिका छोपिएका विभिन्न पाटाहरूको मनले, तनले, चेतनाले र कर्मले उत्खनन गरेर उनले नेपालको भाषा, कलासाहित्य र तिनको इतिहास, संस्कृतिका विविध पक्षहरूलाई उजागार गरेर विश्व अध्येतासामु बिस्कुनझैँ फैलाइदिएका छन् ।

यिनै कारण पनि सबैका नजरबाट हेरिएर, मनले केरिएर, विवेकले मूल्य स्थापना गर्ने तहका महापुरुष रहेछन्, सत्यमोहन जोशी । उनले नेपाली इतिहास, कलासंस्कृतिका क्षेत्रमा यसप्रकारको योगदान दिएबापत विभिन्न पुरस्कारले विभूषित भएको तथ्य हाम्रासामु छ ।

उनले मदन पुरस्कार पनि तीनतीनपटक प्राप्त गर्न सके । मदन पुरस्कारजस्तो मूल्यवान् पुरस्कार समेत तीनपटक प्राप्त गर्न सक्नु कम महत्त्वको विषय होइन ।

०००

उनले नेपालको लोकसंस्कृतिको खोज, अनुसन्धान गरेर ‘लोक संस्कृति’ नामक पुस्तकै लेखे । यसरी पहिलोपटक २०१३ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भए ।

लिच्छविकालदेखि वर्तमानसम्मका चलनचल्तीका मुद्राहरूको खोज, अनुसन्धान गरेर ‘नेपाल राष्ट्रिय मुद्रा’ भन्ने पुस्तक पनि लेखे । त्यही पुस्तकलाई २०१७ सालको मदन पुरस्कार दिइयो । यो उनले पाएको दोस्रो  मदन पुरस्कार थियो ।

‘कर्णाली लोकसंस्कृति’का निमित्त २०२८ सालमा जोशीलगायत स्रष्टालाई संयुक्त रूपमा तेस्रोपटक मदन पुरस्कार प्रदान गरिएको थियो ।

आजसम्म कसैले तीनपटक मदन पुरस्कार पाउन सकेको छैन । हरकोहीलाई यस्तो मूल्यवान् ओजयुक्त पुरस्कार प्राप्य हुँदा पनि हुँदैन । उनले अनगिन्ती पुरस्कार, अलंकार र पदकहरू पनि प्राप्त गर्न सकेको देखिन्छ । त्रिसट्ठीपट्ट, सुप्रवल गोरखा दक्षिणबाहु, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, नई सुकीर्तिलगायत दर्जनौँ पुरस्कारले सुशोभित हुन पुगेको उनका बारेमा बुझ्दै जाँदा थाहा लाग्छ ।

यही सिलसिलामा २०६८ भाद्र महिनामा काठमाडौं विश्वविद्यालयले जोशीलाई महाविद्यावारिधिको उपाधि समेत अर्पण गर्यो ।

जोशीका विषयमा खोजी पस्दै जाँदा २०७१ को मंसिर १५ गते उनलाई ‘शताब्दी पुरुष’ उपाधि प्रदान गरिएको विषयमा जानकारी भयो । यसको अवधारणा तथा परिकल्पना नई प्रकाशन र त्रिमूर्ति निकेतनको संयोजनमा  भएको रहेछ ।

जोशीकै उचाइको कलात्मक काठको फ्रेममा सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगद राशिसहित ‘शताब्दी पुरुष’ उपाधि समर्पण गरिएको रहेछ । पछि नेपाल सरकारले २०७४ वैशाख २१ गते ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिले विभूषित गरेको रहेछ ।

यसपछि उनले भने रे– भो, अब मलाई केही चाहिँदैन, पुग्यो !

त्यसपछि पनि राजधानीको नागरिक समाजद्वारा २०७४ साल भदौ २९ गते रथारोहण गराइएको रहेछ । त्यसै दिन राष्ट्रप्रमुखबाट ‘समग्र राष्ट्रकै अमूल्य निधि र राष्ट्रको गौरव अभिवृद्धि गर्ने’ व्यक्तित्वका रूपमा उनलाई अभिनन्दन गरियो ।

खोजी पस्दा त्रिमूर्ति निकेतनले ‘सत्यमोहन जोशी शताब्दीपदक’को स्थापना गरेको देखियो भने न्हुजः गुठीले पनि जोशीको मुहारअंकित २० ग्रामको चाँदीको सिक्का प्रकाशित गर्यो ।

त्यसै सन्दर्भमा २०७६ भाद्रमा नेपाल राष्ट्र बैकले सत्यमोहन जोशी नामांकित सिक्का निकाल्यो । ‘तिमी कर्म गरिरहू पवित्र मनले, म तिम्रा कामका प्रति सम्मान गरिरहन्छु’ भनेझैँ थियो उनको जीवन र योगदान राष्ट्रका अगाडि ।

सत्यमोहन जोशीका सबै विधामा गरेर लगभग साढे पाँच दर्जन बढी कृति प्रकाशित छन् । त्यसमध्ये पनि उनका दशवटा संस्कृतिसम्बन्धी, दुईवटा काव्य, पाँचवटा कथा र दशवटा नाटकहरू मुख्य रहेका छन् ।

पाँच वर्षको उमेरसम्म वाक्य नफुटेका सत्यमोहन जोशीको बाल्यकाल अत्यन्त पीडादायक रह्यो । सचेतना अभावका कारण कुनै उपद्रो वा अनिष्ट हुने डरले उनलाई घरमा दाम्लाले बाँधेर पनि राखियो । बोली नआउने र अरूले भनेको पनि नमान्ने भएका कारण भक्तपुर, सूर्यविनायकको जंगलमा छोडिदिँदा डरले आ...माँ... उच्चारणबाट उनी बोल्न थालेका हुन् भन्ने भनाइ छ । सात वर्षको उमेरमा नेवारी भाषामा अक्षर लेख्न आरम्भ गरेका सत्यमोहनले दश वर्षको उमेरमा नेपाली पढ्न थालेका रहेछन् ।

मानिसका कतिपय जन्मदा वा हुर्कंदाका कमजोरी समय र परिस्थितिको अन्तरघुलनले उडाएर कतै क्षितिजपारि पुर्याइदिन्छ र नयाँ चेतना जागृतिले ‘कलमी’ बिरुवाझैँ मिठो अनि धेरै फल दिने बोटमा रूपान्तरण हुन पुग्दछ । अझ भनूँ, पर्वतपहराबाट टुटेरफुटेर निस्किएको एउटा पत्थर, ढुंगा उनै प्रकृतिका विविध सेपाइ र चेपाइको अन्तरघुलनले शालिग्राम बनेझैँ थिए सत्यमोहन जोशी, नेपालको इतिहास र संस्कृतिका क्षेत्रमा । कालीगण्डकीमा भेटिने शिला वा शालिग्राम नै हुन् शताब्दी पुरुष सत्यमोहन जोशी भन्ने ठान्छु म ।

पढ्नमा पछौटा भएका कारण सधैँ गुरुहरूको पिटाइ र होचोहेला सहनु उनको नियति नै बनेको थियो । यति हुँदाहुँदै पनि उनले दरबार हाई स्कुलबाट प्रवेशिका पास गरे । दरबार स्कुलमा उनका मुख्य शिक्षक पं. वासुदेव भट्टराई थिए अरे ! भनिन्छ– त्यहाँ पनि पढ्न राम्रो नजानेबापत उनले शारीरिक र मानसिक सजाय पाउँथे रे !

त्रिचन्द्र कलेजमा वि.सं. १९९८ ताका बीए पढ्दै गर्दा उनलाई आर्थिक सकस पर्न गएछ । परिस्थितिले उब्जाएको आर्थिक सकस वा भनूँ गर्जाे टार्न जागिर माध्यम भयो । यसरी उनी जागिरे हुन पुगेछन् । उनी औद्योगिक सर्वेमा खरदार भए । कार्यक्षेत्र तनहुँ तोकियो ।

पछि उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे भने अमेरिकी सांस्कृतिक केन्द्रमा पनि जागिर खाएछन् । यसैकारण उनको पढाइ अपुरो रह्यो ।

उनका विषयमा लेखिएका सामग्रीहरूले जोशी आईए पढ्दैताकादेखि साहित्यप्रेमीका रूपमा उदाएको चर्चा गर्छ । साहित्यप्रेमकै कारण साहित्यक्षेत्रका अर्का नक्षत्र नाट्यसम्राट बालकृष्ण सम र कथाकार पुष्करशमशेर जबरासित उनको सामीप्य रहन गयो । जोशीका प्रति उनै सहित्यकारद्वय सम र शमशेरको साहित्यिक सद्भाव रहेको थियो भन्ने भनाइ छ ।

बालकृष्ण समकै आदेशानुसार जोशीले विभिन्न सर्जकहरूका कृति अनुवादको काम समेत गरेको तथ्य छ । अर्का साहित्यकार माधवप्रसाद घिमिरे जोशीका समकालीन भएर पनि साहित्यिक गुरु मानिन्छन् । भनिन्छ–  महाकवि लक्ष्मीप्रसाद देवकोटासित पनि जोशीको कुशल सम्बन्ध थियो रे ! देवकोटा मन्त्री भएताका देवकोटालाई ज्ञानेश्वरबाट मन्त्रालय लैजाने काम पनि सत्यमोहनले गर्थे अरे !

जोशीका कर्मलाई उधिन्दै जाँदा उनले विशेषतः खोज, अनुसन्धानकै मूल कार्यमा आफूलाई केन्द्रित गरे । नेपालका छोपिएर रहेका इतिहास र संस्कृतिका विषयमा भएका खोजीकार्य उनले जस्तो गहिरो र प्रमाणिक रूपमा अरूबाट सायदै भयो होला ।

उनले मुद्राको खोज, अनुसन्धान गरेर विभिन्न कालका मुद्राको पहिचान र स्तर निरूपण गर्ने काम गरेका थिए भने पुरातत्त्व विभागको जागिरबाट हटेपछि ‘नेपाली राष्ट्रिय मुद्राहरू’ विषयमा ग्रन्थ नै लेखे । महेन्द्र मल्लको चाँदीको मुद्रा पत्ता लगाउने कामले नेपालमा चाँदीका मुद्रा चलनको इतिहास रहेको जानकारी हुन आएको मानिन्छ ।

जोशीका कर्मकथा अथाह रहेछन् । उनले तिब्बतमा रहेका अरनिकोको कलाकारिता र उनको जीवनका विविध पक्षहरूका विषयमा पहिचान गराउनु कम महत्त्वपूर्ण कार्य थिएन । उनले अरनिकोमाथि मूल्यवान् ग्रन्थ नै लेखेर प्रकाशित गरे । भनिन्छ– राजा वीरेन्द्रले एकताका जोशीबाट सिर्जित अरनिकोसम्बन्धी ग्रन्थ चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए रे !

सोही ग्रन्थमा ६३ वर्षको हुँदा १३०६ मा अरनिको तिब्बतमा निधन भएको उल्लेख गरिएको छ । यसरी संस्कृतिविद् जोशीले एकजना महान् कलाकारको जीवन र अन्त्यका बारेमा हुन सक्ने अन्योलता हटाउन सफल भए ।

त्यसरी नै भृकुटीका विषयमा पनि उनले तिब्बती अवधारणाको खोज, अनुसन्धान गरेको भेटिन्छ । उनकै अनुसन्धानका आधारमा तिब्बतमा भृकुटीलाई तारा उपमा दिइएको जानकारी आमनेपालीलाई प्राप्त हुँदै आएको हो ।

हरेकका आआफ्ना जीवनशैली हुन्छन् । मानिसले जस्तो परिवेश आउँछ, त्यस्तै जीवनमार्गमा हिँड्नुपर्दछ । शताब्दी पुरुष जोशीका पिताको दुर्वल आर्थिक अवस्थाका कारण सत्यमोहनका बाटाहरू सहज थिएनन् । जीवन गुजारा गर्न आवश्यक आर्थिक जोगाडका लागि परिश्रम गर्नुपर्यो उनले ।  काम गर्नै चीन पुग्नु एउटा अवसर पनि भयो उनको जीवनमा । चीनमा रहेर काम गर्दा चिनियाँ संस्कृति र नेपाली संस्कृतिको पुलका रूपमा पनि उनले काम गरेको थाहा लाग्छ । सम्भवतः अध्यक्ष माओसितको सामीप्यले नै माओका सिर्जनाहरूलाई नेपाली भाषामा अनुवाद गर्न सके ।

अक्षरहरूमा कुँदिएका छन्, जोशीले पुरातत्त्व विभागको निर्देशकका रूपमा सेवा गरेको सन्दर्भ । त्यहाँ काम गर्दा उनलाई खोज, अनुसन्धानका लागि झनै सहज भयो । परिणामतः आफ्ना सोचअनुरूप उनीमा अनुसन्धानात्मक सिर्जना फस्टाउने अवसर प्राप्त भयो ।

केदारमान व्यथित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कुलपति हुँदा उनले त्यहाँ सदस्यसचिव भएर काम गर्ने अवसर पाएका थिए रे ! त्यसैताका उनी इतिहास, संस्कृतिसम्बन्धी अनुसन्धानका लागि अहिले पनि विकट मानिने कर्णाली पुगे, सहकर्मीहरू चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, प्रदीप रिमाल र थिरजंगबहादुर सिंहसहित ।

कर्णाली क्षेत्रको सांस्कृतिक अध्ययन र अनुसन्धान गर्न प्रतिष्ठानको यो टोली कर्णाली पुगेको थियो । यो निकै कठिन काम थियो, तिनताक । मानिसको मनको भित्री पाटोमा अंकुराएको चेतना दीप्तिको उज्यालोले सत्यमोहनको समूहलाई कर्णाली पुर्याएको मान्छु म ।

यसरी मनको गहिराइबाट निःसृत चेतना संयोजनले सिर्जित कर्णालीको संस्कृति विषयक अनुसन्धान कार्यसँग सम्बन्धित पाँचैजना संयुक्त रूपमा  मदन पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

जोशीकै समयमा प्रज्ञा–प्रतिष्ठानको गौरव बढेको, भौतिक र सांस्कृतिक ओज बढेको मानिन्छ । गाईजात्रा महोत्सव त्यसै बेलादेखि सुरु भएको भनाइ पनि छ ।

संस्कृतिविद् तथा साहित्यकार जोशीले भ्रमण गर्दै देशका प्रायः सबै भूभागमा पाइला राखे भने अन्तर्राष्ट्रिय रूपमा पनि म्यानमार, बंगलादेश, थाइल्यान्ड, श्रीलंका, चीन, भारत, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड र सोभियत रुस समेतको भ्रमण गरेका थिए । भनिन्छ– न्युजिल्यान्ड पुग्ने उनी पहिलो नेपाली थिए ।

अझै रोचक त के रहेछ भने, जुन दिन जोशीले (२०१० जेठ १६ गते) नेपाली पोसाक दौरासुरुवाल, कोट र टोपी लगाएर न्युजिल्यान्ड टेकेका थिए, त्यसै दिन न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपाली मूलका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखर चुमेका थिए । यो एक अनौठो अनुपम संयोग थियो भन्न सकिन्छ । त्यसैकारण पनि न्युजिल्यान्डमा उनले ठूलो सम्मान पाएका थिए ।

र, उनलाई यो भ्रमणले नियात्राकार पनि बनाएको छ । कारण, न्युजिल्यान्ड भ्रमणका विषयमा उनले २०४९ सालमा एउटा नियात्रा (निबन्ध) पनि प्रकाशित गरे ।

सादा जीवन उच्च विचारका धनी नेवारी समुदायका अत्यन्त निष्ठावान् व्यक्तित्व सत्यमोहन जोशीले इमानदारीपूर्वक आफूलाई काममा केन्द्रित गरेको सहजै अनुमान लगाउन सकिन्छ । सकेसम्म पैदल हिँड्ने बानी थियो उनको । कसैसितको प्रतिस्पर्धा, लोभलालच, ईष्र्या, द्वेष थिएन । विशुद्ध निरन्तरको काम अनि निष्ठापूर्ण लगावको परिणाम हो, संस्कृतिविद् सत्यमोहन जोशीको व्यक्तित्व ।

एकपटक उनले भने रे– १०० वर्ष नाघेका हामी दुईजना स्रष्टा थियौँ, माधव घिमिरेले छोडेर जानाले म एक्लै भएँ ।

मानिसले विविध प्रकारका सामीप्य खोज्छ जीवनमा । कर्म मिल्ने, धर्म मिल्ने, उमेर मिल्ने र उद्देश्यलगायत अरू विषयसन्दर्भ मिल्ने । यहाँ सत्यमोहन जोशीको माधवप्रसाद घिमिरेसित, कर्म, धर्म, उमेर र उद्देश्य सबै मिलेको थियो । कविवर घिमिरेलाई गुमाउनुपर्दाको अन्तस्करणीय पीडा त्यहाँ अभिव्यक्त थियो सायद– अब म एक्लो भएँ ।

माता नोगलदेवी जोशी र पिता शंकरराज जोशीका कोखबाट वि.सं. १९७७  वैशाख ३० मा जन्मिएर अनेकन् हन्डरठक्कर खाएर आफ्नै चेत र सामर्थ्यले नेपालको इतिहास तथा संस्कृतिका क्षेत्रमा गरिएका कामहरूबाट अथाह मानसम्मान मिलेको कसैबाट लुकेको विषय होइन । प्राणी जीवन नाशवान् छ । कोही चिरञ्जीवी हुन सक्दैन । आफ्नो जीवनकालमा सत्यमोहन जोशीले जे जति इतिहास र संस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै यस क्षेत्रलाई समृद्ध बनाउने काम गरे, त्यो अमर रहने कुरामा कुनै शंका रहन्न ।

नेपालको इतिहास तथा संस्कृति क्षेत्रका अध्येता–अनुसन्धाताहरूले शताब्दी पुरुष, इतिहास तथा संस्कृतिविद् जोशीलाई सदासर्वदा स्मरण गर्ने नै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय