काठमाडौं । समयमा नसुत्ने र पर्याप्त ननिदाउने बानीले मानिसको दैनिकीमा प्रत्यक्ष असर पुर्याएको र दीर्घकालीन समस्याहरू निम्त्याएका घटना धेरै छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को पछिल्लो रिपोर्टअनुसार विश्भर ३२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको निन्द्रासम्बन्धी समस्या छ, जसकारण उनीहरू सात घण्टाभन्दा कम सुत्छन् ।
दिनमा निदाउनु, कामका ध्यान दिन नसक्नु, चिडचिढापन आउनु, अधिक गल्नुजस्ता समस्या अनिन्द्राका कारण दैनिक जीवनमा देखिने असरहरू हुन् । तर, यसको दीर्घकालीन असर घातक हुने नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने बताउँछन् ।
पर्याप्त समय नसुत्नु वा विभिन्न कारणले निन्द्रा नुपुर्याउनु (स्लिप डिप्राइभेसन) शरीरका लागि 'ऋणको भारी बोक्नु'जस्तै भएको उनी तर्क गर्छन् ।
“पर्याप्त ननिदाउने व्यक्तिहरूमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, हृदयघातजस्ता गम्भीर समस्या देखिन सक्छन् । त्यतिमात्रै होइन नियमितरूपमा कम निदाउने व्यक्तिमा स्मरणशक्ति कम हुने र विभिन्न प्रकारको मानसिक समस्या देखिन सक्छन्,” डा. न्यौपाने भन्छन् ।
पर्याप्त ननिदाउने व्यक्तिले चलाएको सवारी दुर्घटना हुने जोखिम अन्यभन्दा सात गुणाले बढी हुने उनको भनाइ छ ।
निन्द्रा सहज बनाउन के गर्ने ?
धेरै मानिसहरूको बानी हुन्छ, ओछ्यानमा पुगेर पनि मोबाइल ल्यापटपमा भुलिरहने, समयमा ननिदाउने । कतिपय ढिलो सुत्ने र बिहान अबेरसम्म निदाउने तथा दिउँसो सुत्ने गरेको पनि पाइन्छ ।
तर, स्वास्थ्यका दृष्टिकोणले यी दुवै शैली फाइदाजनक होइनन् । स्वस्थ निन्द्राका लागि एउटै समयमा निदाउने एउटै समयमा उठ्ने र नियमित व्यायाम गर्नु सबैभन्दा उत्तम उपाय भएको डा. न्यौपानेको सुझाव छ ।
त्यस्तै, दिउँसो सकेसम्म नसुत्ने, सुतिहाले ४० मिनेटभन्दा बढी ननिदाउने, सुत्नुभन्दा चार घण्टा अघिसम्म मात्रै व्यायाम गर्ने बानी पनि स्वस्थ निन्द्राको उपाय हो । निन्द्राको सम्बन्ध खानासँग पनि भएकाले सुत्नुअघि मसालेदार खानेकुरा नखाने, मदिरा सेवन नगर्ने र सजिलो लुगा लगाएर सुत्ने गर्नुपर्दछ ।
यदि सुतेको आधा घण्टासम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई रुचि भएको काम गर्ने र फेरि सुत्ने गर्नु बानी गर्नु उपयुक्त हुन्छ ।