site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : ‘संयमित’ प्रशिक्षक

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार खेलपछि मैदान तनावपूर्ण बन्यो । जहाँ जितको दबाबबीच स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगिताको अन्तिम चार यात्रामा कायम रहन दुवै टिमलाई जित अनिवार्य थियो । दशरथ रंगशालामा सम्पन्न यो खेलमा वीरगन्जले बाजी मार्‍यो । १–० ले पछि परेको स्थिति उल्ट्याउँदै वीरगन्जले २–१ को जित पक्का गर्‍यो । प्रतियोगितामा वीरगन्जको यो पहिलो जित थियो । 

खेल इन्जुरी समयअघिसम्म सामान्य चल्दै थियो । तर, इन्जुरी समयमा रेफ्रीको एक निर्णयका कारण मैदानभित्रका खेलाडीमात्र नभई इलामेली डकआउट नै आक्रोशित बन्यो । इन्जुरी समयअघिसम्म खेल १–१ को बराबरीमा चल्दै थियो । तर, सात मिनेटको थप समयमा खेलका मुख्य रेफ्री कविन व्यञ्जनकारले वीरगन्जलाई पेनाल्टीको अवसर दिए ।

१८ यार्ड बक्सभित्र इलामका सुरज बस्नेतको ‘ह्यान्ड’ भएको भन्दै रेफ्री व्यञ्जनकारले पेनाल्टीको इसारा गरे । इलामेली टिमलाई आक्रोशित बनाउन यो पर्याप्त थियो । यो निर्णयप्रति तत्कालै कप्तान विकेश कुथुसहित खेलाडी व्यञ्जनकारमाथि खनिए । इलामेली टिममा कप्तान विकेश सबैभन्दा आक्रोशित र असन्तुष्ट देखिन्थे । यसैबेला रेफ्री व्यञ्जनकारले उनलाई पहिलो पहेँलो कार्ड देखाए । 

Ilam_3-1702554941.jpg

प्राप्त पेनाल्टीमा वीरगन्जका फरवार्ड विलियम ओपुकुले कुनै गल्ती गरेनन् । र, वीरगन्जलाई अग्रतामा राखे । यही गोल निर्णायक बनेपछि वीरगन्जले प्रतियोगितामा पहिलो पटक तीन अंक निश्चित गर्‍यो । जितसँगै पाँच खेलबाट पाँच अंक जोड्दै वीरगन्जले तालिकाको अन्तिम स्थान छाड्यो । ६ खेलबाट चार अंक जोडेको इलाम भने तालिकाको पुछारमा खस्कियो ।

खेलको अन्तिम ह्विसिल बजाएपछि मैदानको मध्यभागमा मुख्य रेफ्रीनजिक रहेका विकेशले व्यञ्जनकारको निर्णयप्रति तालि बजाउन सुरु गरे । विकेशको यो हर्कतमा रेफ्री व्यजनकारले दोस्रो पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाए । यसपछि विकेश झनै आक्रोशित बन्दै रेफ्रीलाई धकेले, सँगै इलामका सबै खेलाडी रेफ्रीमाथि खनिए । 

“खेलाडीले पेनाल्टीको कम्प्लेन गरिरहेका थिए । हाम्रो खेलाडी लडिरहेको बेलामा ह्यान्ड भएको हामीले देखेनौँ । त्यो बल पोस्टतिर गएको पनि थिएन, प्रहार पनि गरेका थिएनन् । त्यही बेला हाम्रो कप्तानले पहेँलो कार्ड पनि पाइसकेको थिए । खेलपछि रेफ्रीलाई तपाईंको निर्णय राम्रो भयो, मलाई अझै कार्ड देउभन्दा कार्ड देखाएपछि खेलाडी आक्रोशित भएका हुन्,” खेलपछिको घटनाबारे इलामका मुख्य प्रशिक्षक मेघराज केसीले शान्त शैलीमा जवाफ दिए ।

खेलपछि पत्रकारसँगको कुराकानीमा केसी खेलाडीजस्तै आक्रामक देखिएनन् । त्यसै पनि नेपाली प्रशिक्षकमध्ये केसी फरक स्वभावका कारण परिचित छन् । फुटबल र अनुशासनलाई सँधै एकसाथ रहनुपर्नेमा जोड दिने केसीले बुधबार पनि आफ्नो संयमता प्रस्तुत गरे । 

‘रेफ्री आज नेपालमा देखिएको सबैभन्दा खराब अवस्थामा थियो भन्न मिल्छ कि मिल्दैन’ ? भन्ने प्रश्नमा केसीले कूटनीतिक जवाफ दिए ।

Ilam_2-1702554940.jpg

“क्वालिटी कस्तो छ भन्ने कुरामा म रेफ्रीलाई मात्र दोष दिन्न । हाम्रो नेपाली फुटबलकै क्वालिटी कस्तो छ । खेलाडी र कोचको क्वालिटी कस्तो छ । त्यहीअनुसारको रेफ्रीको क्वालिटी छ । हामी सबै कुरामा पछि परेका छौँ । विश्वस्तरीय रेफ्री ल्याउन नेपाली फुटबलको स्तर कहाँ छ ? हामीले उनीहरूको ठाँउमा बसेर पनि हेर्नुपर्छ । नेपालको फुटबलअनुसार रेफ्रीहरू ठिकै छन् । गल्ती खेलाडी वा रेफ्रीमध्ये कसैको होला । तर, यी खेलाडी पनि हाम्रा र ती रेफ्री पनि हाम्रै हुन्,” केसीले यसरी परिपक्क जवाफ दिए ।

नेपाल सुपर लिग (एनएसएल)मा पनि हरेक खेलपछि रेफ्रीप्रति आफ्नो खरो निराशा पोख्नु सामान्य बनिसकेको छ । खेलपछि हारको जिम्मेवार नै रेफ्रीलाई देखाउन पछि पर्दैनन् । तर, रेफ्रीमाथि हातपात भने भएको छैन, अझ भनौ क्लबहरूले संयमता र मर्यादा भने उल्लंघन गरेका छैनन् । 

Ilam-1702560216.jpg

केसीले सुरुआतमै भने, “टिमले प्राप्त मौकाको सदुपयोग गर्न सकेन । हामी हारको कारण रेफ्रीलाई बनाउँदैनौँ ।” तर, उनले बुधबारको खेलमा रेफ्रीले नै अपशब्द प्रयोग गरेको भन्दै गुनोसो पोखे ।

“म रेफ्रीसँग थिए, उनले मुख छाडे । मैले भाइ तिमीले त यस्तो भन्न नहुने भन्दा उसले हामी कुटाइ खान आएको हो र भन्ने जवाफ दियो । खेलाडीले अपशब्द बोले रेफ्रीले कार्ड दिन सक्छ । रेफ्रीले नै मुख छाडेको विषयमा चाहिँ कसले कारबाही गर्ने ?,” केसीले प्रश्न तेर्साए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro