site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रेफ्रीमाथिको अमानवीय आक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार फुटबलमा भएको एक घटनाका कारण टर्किस लिग अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ‘हेडलाइन’ बन्यो । कारण थियो, लिग खेलाएका रेफ्रीमाथिको मुक्का प्रहार ।

टर्किस सुपर लिगअन्तर्गत घरेलु मैदानमा भएको रिजेसपोरविरुद्धको खेलमा  अन्कारागुकु क्लबका अध्यक्ष फारुक कोकाले मैदानमै पुगेर रेफ्री हिलाल उमत मेलेरमाथि मुक्का प्रहार गरे । यस घटनापछि तत्कालै टर्किको फुटबल संघले लिगका सबै खेल अनिश्चित समयका लागि स्थगित गर्ने निर्णय गर्यो । 

घटना सोमबारको भए पनि मंगलबार नेपाली सञ्चारमाध्यममा पनि यो विषय प्राथमिकतासाथ प्रसारण र प्रकाशनमा आयो । संयोगवस् सोही दिन नेपाली फुटबलमा पनि यस्तै एक घटना सार्वजनिक भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार नै मकवानपुर जिल्ला लिगको छनोट खेलमा निर्णय चित्त नबुझेपछि क्लबका अधिकारीहरू र खेलाडी रेफ्रीमाथि जाइलागे । पञ्चशिल युवा क्लबसँग ३–२ को हार व्यहोरेपछि दी रिभाइबल क्लबका खेलाडी र अधिकारीहरू रेफ्री आशिष कार्कीमाथि हातपातमा उत्रिए । आशिष एन्फा रेफ्री हुन् । 

खेलका दौरान रिभाइबल क्लबका गोलकिपर अनील लोले हातमा नियन्त्रण गरेर राखेको बल १८ यार्ड बक्सभन्दा धेरै अघि बढेर प्रहार गरेपछि रेफ्री कार्कीले फाउलको निर्णय लिए । विपक्षी पञ्चशिलले पेनाल्टी बक्सभन्दा बाहिर पाएको फ्रिकिकमा गोल गर्न सफल भएपछि रिभाइबल खेलमा ३–२ ले पछि पर्यो । गोल भएको केही समयपछि नै रेफ्रीले खेलको अन्तिम ह्विसिल बजाए । बराबरीमा चलिरहेको खेलको अन्तिम समयमा गोल बेहोरेपछि रिभाइबल क्लबका खेलाडी र अधिकारीहरूका लागि यो सह्य भएन । उनीहरूले आफ्नो आक्रोश रेफ्रीमाथि पोखे ।

Global Ime bank

“खेल सकिएपछि खेलाडी र अफिसियल सबै रेफ्रीमाथि जाइलागे । त्यहाँ हाम्रो एउटा माइक थियो, त्यसले नै प्रहार गरे । त्यसले लागेको भए रेफ्रीको मृत्यु समेत हुन सक्थ्यो,” मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले रेफ्रीमाथि भएको घटनाबारे बाह्रखरीसँग भने ।

रिभाइबल क्लबबाट भएको यो अराजक व्यवहारप्रति खेलका रेफ्रीहरूले रेफ्री संघमा गुनासो पोखे । त्यसको भोलिपल्ट मकवानपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठक बस्यो ।

बैठक रिभाइबल क्लबप्रति कडा रूपमा प्रस्तुत भएपछि क्लबलाई तीन वर्ष कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध गर्ने निर्णय गर्यो । संघले क्लबलाई तीन वर्ष, क्लबका कप्तान अनील लोलाई दुई वर्ष, खेलाडी सुनील खड्कीलाई तीन वर्ष र क्लबका व्यवस्थापक कृष्णबहादुर ठकुरीलाई तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

क्लबको समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण)लाई एक वर्षका लागि प्रतिबन्ध गर्यो । प्रतिबन्धमा परेका सबैले एन्फाद्वारा आयोजना हुने र एन्फा रेफ्री आबद्ध हुने कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

कारबाहीपछि जिल्ला अध्यक्ष लामा रेफ्रीमाथि आक्रमण हुँदा त्यति धेरै बलियो कारबाही नभएको दाबी गर्छन् ।

“घटनापछि मलाई स्थानीय तहबाट कारबाही नगर्न चर्को दबाब आएको थियो । रेफ्रीमाथि खराब व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने नजिर बसोस् भनेर हामीले यो निर्णय गर्यौं,” लामाले थपे ।

‘यस्ता घटनाले पेसागत वितृष्णा बढ्छ’
रेफ्रीको भूमिकालाई ‘थ्याङ्स लेस जब’ भनिन्छ, अर्थात रेफ्री पेसामा धन्यवाद कसैगरी पनि पाइँदैन । हाल जारी नेपाल सुपर लिग (एनएसएल)मा पनि हरेक खेलपछि रेफ्रीप्रति आफ्नो खरो निराशा पोख्नु सामान्य बनिसकेको छ । तर, पनि क्लबहरूले संयमता र मयार्दा भने उल्लंघन गरेका छैनन् ।

नेपाल रेफ्री एसोसियसनका अध्यक्ष बुद्धि गुरुङ रेफ्रीमाथि हुने अमर्यादित व्यवहारले उनीहरूको आत्मसम्मान र पेसागत प्रतिष्ठामा चोट पुग्ने बताउँछन् ।

“रेफ्री नै सुरक्षित छैनन् भने उनीहरूले कसरी निष्पक्ष निर्णय दिन सक्छन् ? जिल्ला लिग खेलाइरहेका उनीहरू भर्खरमात्र यो क्षेत्रमा आउँदै गरेका हुन् । तर, सुरुआतमा यस्ता घटना भए सुरक्षा नै नहुने क्षेत्रमा किन लाग्नु भन्ने मानसिकता बन्न सक्छ । उनीहरूको आत्मसम्मान र पेसागत प्रतिष्ठामा चोट पुग्छ । यो पेसाप्रति नै वितृष्णा जाग्छ र लगाव घट्छ,” अध्यक्ष गुरुङले भने ।

‘हरेक हप्ता आक्रामणको रिर्पोट आउँछ’
टर्कीको घटनापछि फिफा रेफ्री कमिटिका अध्यक्ष पिएरलुइजी कोलिनाले हरेक हप्ता रेफ्रीमाथि हुने अमर्यादित व्यवहारका रिर्पोट आफूसम्म आउने गरेको बताए ।

“यो भन्दा पनि डरलाग्दो कुरा के हो भने संसारभरि हजारौं रेफ्री छन् जसलाई विश्वभर मौखिक र शारीरिक रूपमा दुर्व्यवहार गरिन्छ । उनीहरुबारे हामी अज्ञात छौं । सिजनको हरेक हप्ता टर्कीमा भएको घटनाजस्तै वा त्योभन्दा पनि अझ खराब घटनाहरूको रिर्पोट मसम्म आइपुग्छ,” पिएरलुइजी भन्छन् । 

‘रेफ सपोर्ट युके’ का कार्यकारी प्रमुख मार्टिक कासिडीले दुर्व्यवहार र अमानवीय घटनाका कारण विश्वमा नै रेफ्रीहरू ‘लोपोन्मुख प्रजाति’ बनेको बताउँछन् ।

“विश्वभरका रेफ्रीहरूलाई लामो समयदेखि निष्पक्ष खेलको निर्णायकको रूपमा हेरिएको छ । तर, दुर्व्यवाहार, धम्की र आक्रमणका कारण रेफ्रीहरू लोपोन्मुख प्रजाति बनेका छन्,” कासिडीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय