काठमाडौं । झापाबाट बिहे गरेर ललितपुरको गोदावरीमा आइपुगेकी २५ वर्षीया सरिता आचार्य (परिवर्तित नाम)ले नयाँ ठाउँको अनुभव त्यति गर्न पाइसकेकी थिइनन् ।
जागिरको सिलसिलामा अधिकांश समय घरबाहिर बित्थ्यो । त्यही भएर पनि नयाँ ठाउँबारे कम जानकार थिइनन् ।
बिहेपछिको पहिलो महिनावारी सरिताले निकै अनौठो प्रकारको सकसले पार गरिन् ।
“मलाई पिरियड भयो,” साँझ श्रीमान्लाई सुनाइन् ।
जवाफ आयो– “डन्ट वरी पेट दुखेको त छैन नि तिमीलाई ?”
सरिताले टाउको हल्लाउँदै ‘छैन’को संकेत गरिन् ।
साँझको भान्सामा उनलाई अरुभन्दा पर राखेर खाना दिइयो, त्यसलाई उनले अस्वाभाविक मानिनन् ।
छक्क त त्यतिबेला परिन्, जब सरिताले खाएको भाँडा छुट्टै धारामा माझ्न पठाइयो । त्यसअघि उनले देखेका दुईवटा धारा ‘सजिलोका लागि होला’ सोचेकी थिइन् । सुत्ने बेला सासुले ‘उऽऽऽ त्यहाँ सुत्नू’ भन्दै दुई कोठाबीचको प्यासेज देखाएर केही थान थाङ्ना मारेको ओछ्यान दिइन्, त्यो पनि परैबाट ।
सरिताले अक्क न बक्क परिन्, सासू त्यहाँबाट हिँडिसकेकी थिइन् ।
“यो जाडोमा खुला प्यासेज र यस्तो ओछ्यानमा म कसरी सुत्नु, यतिसम्म बारेको त मैले कतै देखेकी थिइनँ...,” सरिताले झर्किदै श्रीमान्सँग भनिन् ।
श्रीमान्ले मसिनो स्वरमा बोले, “कोठामै ओछ्यान ल्याएर सुत यहाँ सुतेको कसैलाई नभन्नु बिहान ओछ्यान लगेर त्यहीँ राख्नू...।”
निजामती सेवाको अधिकृत पदमा कार्यरत सरिताको यो भोगाइ पछिल्ला पाँच वर्षमा खासै सुधार भएको छैन । गत तिहारअघि कागेश्वरी मनोहराकी अञ्जु कुइँकेलको घरमा जमघट हुँदा देउरानी जेठानीहरूबीच प्रसंग चल्यो,
“औषधि पो खानुपर्ने छ, तिहारमा छुई भइयो भने त बर्बादै हुन्छ,” अञ्जुले फ्याट्ट भनिन् ।
माध्यमिक तहको शिक्षिका २६ वर्षीया जेठानी बोलिन् “अँ कहाँ नसुनाउनु कस्तो गाह्रो हुन्छ आराम गर्न भएपनि भन्नु परिहाल्यो नि ।” “ए आराम भनेको त्यही तीनतले घरको भ¥याङभरी कुचो लाएर बस्नु हो ?,” अञ्जुले जेठानीको कुरालाई उडाइन्, सबै गलल्ल हाँसे ।
काभ्रेस्थलीकी १९ वर्षीया मोनिका लामिछानेलाई घरमा आमा नभएका बेला आफू महिनावारी भए साह्रै दिक्क लाग्छ । कहिलेकाहीँ आमा मामाघर गएको बेला कलेजबाट भोकाएर आएकी हुन्छु, खाना खान पनि कतिबेर कुर्नुपर्छ, भाँडा पनि छुट्टै छ ।
“खाएर माझेको भाँडा पुरै नसुकेसम्म भाइ र बुबाले छुनुहुन्न, पानी माग्नुप¥यो भने छिमेकका बहिनी अन्टीहरूलाई बोलाएर भाँडा दोहोर्याएर पखाल्न लगाउनुपर्छ...,” मोनिकाले दिक्क मान्दै सुनाइन् ।
“मेरो ससुरालीतिर महिनावारी भएको बेला पुरुषलाई नछुने, सँगै हिँड्न नहुने, हिँडिहाले छोइने पुरुषले जनै फेर्नुपर्ने चलन रहेछ, सुरु सुरुमा छक्कै परेँ,” कलंकी ससुराली भएका एक पुरुष सहकर्मीले हाँस्दै सुनाए ।
कसरी ‘चेन्ज’ गराउनुभयो त म्याडमलाई ?
“त्यस्तो होइन भन्दा भन्दा अलि चेन्ज भएकी छिन्,” उनले जवाफ दिए ।
काठमाडौं उपत्यका वरिपरिका काँठ क्षेत्रका महिनावारीसँग जोडिएका केही प्रतिनिधि उदाहरण मात्रै हुन् यी ।
महिनावारी हुँदा छुट्टै धारा प्रयोग गर्नुपर्ने, पाँच दिनसम्म कुनै सामाजिक समारोहमा सहभागी नहुने, पुरुषसँग टाढै रहनुपर्ने, चार दिनसम्म सुतेको ओछ्यानमा सुनपानी छर्किएर घाममा सुकाउनुपर्ने, गाईको दूध खान नहुने इत्यादि चलन प्रशस्तै अभ्यासमा देखिन्छन् ।
हजुरआमा, आमा, हजुरबुवा वा बुवाहरूले यस्ता चलन मानिरहेका छन् नै, युवा पुस्ताले समेत चुपचाप निरन्तरता दिइरहँदा कतिपय गलत अभ्यासले महिनावारीका बेला हुने विभेदलाई प्रश्रय दिइरहेको छ ।
युवा पुस्ताले नकार्न नसकेको ‘बार्ने चलन’
वर्ल्ड भिजन इन्टरनेसनलले सन् २०२० मा प्रकाशित गरेको महिनावारी स्वास्थ्य र यसको व्यवस्थापनबारे किशोरीहरूमा गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा सातै प्रदेशका तीन हजार ६०० नमुनामाथि अध्ययन गरिएको छ ।
प्रतिवेदनमा सबै किशोरीले महिनावारीका बेला कुनै न कुनैखाले विभेद भोगेको उल्लेख छ, अधिकांशले धार्मिक, सामाजिक, व्यक्तिगत सबैखाले काममा निषेध गरिएको पनि बताएका छन् ।
“७९.१ प्रतिशतलाई महिनावारी भएको बेला धार्मिक कार्यमा सामेल हुन निषेध गरिन्छ । ५१.९ प्रतिशतलाई घरायसी कामकाजमा, ४६.१ प्रतिशतलाई सामाजिक कार्यमा र ३६.९५ प्रतिशतलाई व्यक्तिगत काममा समेत बार्न लगाइन्छ,” प्रतिवेदनमा भनिएको छ ।
३८.४ प्रतिशत किशोरीले घरमा हुने विभेदविरुद्ध बोलेपनि विभेद अन्त्य भएको महसुस गरेका छैनन् । २१ प्रतिशतले मात्रै समुदायस्तरमा विभेदविरुद्ध बोल्ने गरेका छन् ।
त्यसो त, सरिताजस्ता शिक्षित र आत्मनिर्भर युवापुस्ताले आफ्नो शारीरिक मानसिक स्वास्थ्यलाई नै हानि हुने विभेदकारी चलनप्रति प्रश्न नउठाउँदा पनि महिनावारीसँग सम्बन्धित विभेदको जरो अझै बलियो गढेको देखिन्छ ।
पाठ्यक्रममा महिनावारी स्वास्थ्य र यसका गलत अभ्यासबारे कक्षा पाँचदेखि विषयवस्तु समेटिएको छ । महिनावारीमा हुने विभेदको अन्त्य गर्न सरकारले छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति ल्याएको छ ।
तर, महिनावारीका बेला चिसो ठाउँमा सुत्नु, समय समयमा पोषिलो खाना खान नपाउनु, श्रीमान् दाजुभाइसँग हिँड्न नपाउनुजस्ता चलनलाई काँठ क्षेत्रका युवापुस्ताले कुरीतिको रूपमा नदेख्दा महिलाप्रति हुने विभेदले झनै प्रश्रय पाएको देखिन्छ ।
“महिनावारी हुने दिन लम्ब्याउन खाने औषधिले पाठेघर र मिर्गौलामा पार्ने असर, पटक–पटकको प्रयोगले निम्त्याउने उच्च रक्तश्राव, माइग्रेन र अन्य मानिसक समस्या त झनै प्राथमिकतामा परेका छैनन्,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जेसी शाखा प्रमुख रोशनीदेवी कार्की भन्छिन् ।
महिलाको प्राकृतिक चक्र भएका हिसाबले महिनावारीबारे घरका सबैलाई सुनाउने आफ्नो स्वास्थ्यबारे अरुलाई निर्णय लिन दिने नभइ आफूले व्यवस्थापन गर्ने विषय भएको उनको बुझाइ छ ।
“सुदुरपश्चिममा हामी छाउगोठ भत्काउने भन्छौँ, महिनावारीबारे काँठ क्षेत्रका महिलाको मनको गोठ नै भत्काउन सकिएको छैन,” कार्कीको अनुभव छ ।
मन राख्ने नाममा अल्झिएको ‘कुरीति’
वर्ल्ड भिजन इन्टरनेसनलको अध्ययनमा महिनावारी हुँदा बार्न लगाउनेमा हजुरआमा, आमा र बुबा अगाडि देखिएका छन् । आफूभन्दा ठूला वा घरका ज्येष्ठ व्यक्तिको मन राख्ने, सम्बन्ध नबिगार्ने नाममा महिनावारीका समयमा हुने विभेदकारी अभ्यासमा कमी नआएको प्रजनन् स्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङ बताउँछिन् ।
“घरमा हजुरआमा रिसाउनुहुन्छ, आमाले भनेको कसरी नमान्नु, बुबालाई पनि मन पर्दैन भनेकै भरमा युवा पुस्ताले महिनावारी विभेदविरुद्ध बोल्न सकिरहेका हुँदैनन्”, उनी भन्छिन् ।
कतिपय धर्ममा पाप पुन्यसँग जोडिएकाले पनि युवा पुस्तामा अझै डरको घर उस्तै रहेको डा. तामाङको अनुभव छ ।
“युरोपियन देशहरूमा पनि पहिले महिनावारीसँग सम्बन्धित विभेद हुने गर्थे, तर पछि उनीहरूले त्यसलाई मानव अधिकारसँग जोडेर कानुन बनाए र त्यसको कडा कार्यान्वयन गरे हाम्रोमा त्यस्तो भएको देखिँदैन, यसले पनि विभेदको अन्त्य हुन नसकेको हो”, उनी भन्छिन् ।
विभेदबारे पुरुषले किन बनोल्ने ?
महिनावारीलाई ‘महिलाको मामिला’को रूपमा मात्रै लिइँदा पनि विभेद र कुरीतिको अन्त्य नभएको विज्ञहरूको बुझाइ छ । धर्मसँग जोडिएको विषय भएकाले गुरुहरूको प्रयोगबाट पनि तराईका केही स्थानमा महिनावारीबारेको गलत धारणा चिरिएको अनुभव डा. तामाङको छ ।
महिनावारी महिलाको मात्रै नभइ समग्र समाजको सरोकार भएको बताउँछन्, मर्यादित महिनावारीका अभियान्ता ज्ञान महर्जन ।
“अधिकांश परिवारमा पुरुष नै लिडर हुन्छन् कतिपय अवस्थामा पुरुषको डरले महिनावारीबारे गलत अभ्यास भइरहेका हुनसक्छन् । महिनावारी प्राकृतिक नियम हो भन्ने बुझेर यसका गलत अभ्यासलाई निरन्तरता नदिन पुरुषले ठूलो भूमिका खेल्न सक्छन्, खेल्नुपर्छ,” महर्जन भन्छन् ।
“घरमा नियमित चाहिने साबुन, टुथपेस्टजस्तै पुरुषले किनमेल गर्दा एक प्याकेट प्याड मात्रै सम्झिएर ल्याउने हो भने विभेद अन्त्यको सुरुवात त्यहीँबाट हन्छ,” उनी थप्छन् ।