झापा । कोसी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँबराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोसी प्रदेशका जिल्लामा चियाको खेती गरिँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् ।
पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात गरिँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा एक अर्ब २० करोड ८० लाख रुपैयाँबराबरको एक हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात गरिएको थियो ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती गरिँदै आएको छ । औषधि र मसालाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ ।
आव २०८०/८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार रुपैयाँबराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी गरिएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन गर्ने गरिएको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी गनेए गरिएको छ ।
अम्रिसो कुचो बनाउन प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत र बंगलादेशमा ठूलो माग छ । तथापि, नेपालबाट अधिकांश अम्रिसो भारत निर्यात गरिन्छ । चालु आवको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रुपैयाँबराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी गरिएको ठाकुरले जानकारी दिए ।
अरू बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती गरिन्छ । फूल छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग गरिने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।
पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रूपमा प्रयोग गरिने तेजपात पनि भारततर्फ निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार रुपैयाँबराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी गरिएको छ । सोही अवधिमा १७ लाख ९२ हजार रुपैयाँबराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी गरिएको छ ।
नेपालबाट भारततर्फ निकासी गरिने कृषि वस्तुमा मुसुरो दाल समेत रहेको छ । सोही अवधिमा आठ करोड चार लाख १९ हजार रुपैयाँबराबरको ५८७ मेट्रिक टन मुसुरो दाल निकासी गरिएको कार्यालयले जनाएको छ । रासस