
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनविरुद्ध ३–० को सहज जित निकालेको छ । एभर्टनविरुद्ध ‘एक्रोबेटिक’ गोल गरेका फरवार्ड एलेसान्ड्रो गार्नाचो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको केन्द्र बनेका छन् ।
आइतबार राति भएको खेलमा युनाइटेडलाई जित दिलाउन गार्नाचोसँगै मार्कुस रासफोर्ड र एन्टोनी मार्सिएले गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै गार्नाचोले डिओगो डालोटको क्रसमा उत्कृष्ट ‘एक्रोबेट’ गोल गरे ।
“अहिलेसम्म कुनै रंगशालामा खेल हेर्न उपस्थित हुँदा मैले त्यस्तो राम्रो ओभरहेड गोल देखेको जस्तो मलाई लाग्दैन । र, म वाइन रुनीले म्यानचेस्टर सिटीविरुद्ध यस्तै गोल गर्दा समेत मैदानमै उपस्थित थिएँ,” इंग्लिस फुटबल विश्लेषक ग्यारी नेभिलले भने ।
युनाइटेडले ५६औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । त्यति बेला रासफोर्डले पेनाल्टी सदुपयोग गरेका थिए । ७५औँ मिनेटमा मार्सियलको गोलमा युनाइटेडले अग्रतालाई ३–० मा पुर्याएको थियो ।
जितसँगै १३ खेलबाट २४ अंक जोडेको युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको एभर्टन रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।
प्रिमियर लिगमा आइतबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले टोटनहमलाई २–१ ले हरायो । जितसँगै १३ खेलबाट २८ अंक जोडेको एस्टोन भिल्ला तालिकाको चौथो स्थानमा उक्लियो । समान खेलबाट २६ अंकको टोटनहम पाँचौँ स्थानमा छ ।