.jpeg)
मीनपचासको छुट्टीले उनको जीवनयात्रालाई फरक्कै मोड्यो, ‘यू–टर्न’मा । उनी अर्थात् पुराना राजनीतिज्ञ नवराज सुवेदी ।
विक्रम सम्वत् २०१९ सालको मीनपचासको छुट्टीमा काठमाडौंको कठ्याङ्ग्रिदो हिउँद छल्न मावल गाउँ सिन्धुलीको ग्वालटार पुगेका थिए उनी । रामेछाप मूल घर भएका नवराजको बाल्यकाल मावलमा नै बितेकोले उनको छुट्टीको समय पनि अधिकांशतः मावलमा नै बित्थ्यो । त्यसैले विद्यार्थी राजनीतिमा सक्रिय उनी कलेजले हिउँदमा मीनपचासको बिदा दिएपछि मामाघरतिर लागे ।
उनी त्यसबेला विश्वविद्यालयका विद्यार्थी थिए र विद्यार्थी राजनीतिमा सक्रिय पनि । काठमाडौं आएर बडो दुःख र मिहिनेतका साथ आफ्नो पढाइ अगाडि बढाउँदै थिए ।
गत साता चाबेल कुमारीगालस्थित निवासमा कुरा गर्दै नवराज सुवेदीले भने, “म त्रिचन्द्र कलेजमा अध्ययन गर्दा नै विद्यार्थी राजनीतिमा संलग्न भएँ । त्रिपुरेश्वरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्न गएपछि भने त्यहाँ विद्यार्थी युनियन खडा गर्यौं । युनियनको पहिलो अध्यक्ष म भएँ । दमननाथ ढुंगाना उपाध्यक्ष भए । त्यसबेला राजा महेन्द्रले सत्ता हातमा लिइसकेका थिए । हामी विद्यार्थीहरु भने त्यसको विरोधमा थियौं ।”
यसरी राजा महेन्द्रको शासन सत्ताको विरोधमा लागेका नवराज काठमाडौंबाट जाडो छल्न मावल पुगेका थिए । पुस माघको ठिहीबाट जोगिन सिन्धुली पुगेका सुवेदीलाई उनका मावलका हजुरबुबाले जिल्लामा निर्वाचनको डोर आएको प्रसंग सुनाए । अनि भोलिपल्ट चुनावमा भाग लिन हौस्याए । नाति विद्यार्थी राजनीतिमा लागेको थाहा पाएरै होला, हजुरबुबाले नातिलाई उनकोे भविष्य बनाउने बाटो देखाए । तर सुवेदीले हजुरबुबाको कुरा काट्दै हुन्न भनिदिए ।
सुवेदीले हजुरबुबासँग भएको कुराकानी यसरी सम्झिए, “मैले राजाले निरंकुशता लाद्न ल्याएको यो व्यवस्थामा चुनाव लड्दिँन भनेर हजुरबालाई स्पष्ट भनिदिएँ । तर हजुरबा मान्दै मान्नुभएन । तैंले चुनाव नलड्ने हो भने म अनसन बस्छु भन्नुभयो । दिउँसोसम्म उहाँले केही खानुभएन । त्यसपछि कान्छो मामाले छुट्टीमा यहाँ केही दिन बसिहाल्छौ, बुवाको कुरा मान र चुनावमा भाग लेऊ । काठमाडौं गएपछि कुरै सिद्धिन्छ भनेर सम्झाउनु भयो । मामाको कुरो ठिक लाग्यो मलाई, त्यसपछि हुन्छ भनिदिएँ । यसरी म चुनावमा भाग लिएर सिन्धुलीको ग्वाल्टारबाट जिल्ला सभासद चुनिएँ ।”
हजुरबुबाको चित्त बुझाउन जिल्ला सभासद भएका नवराज काठमाडौं पुगेपछि फुत्किने दाउमा थिए सायद । तर उनी ग्वाल्टारमै बडाहाकिमको फन्दामा परे । निर्वाचनको एक दुई दिनभित्रै उनलाई खोज्दै केही पुलिस रामेछापबाट ग्वाल्टार आए । तिनले नवराज सुवेदीलाई रामेछापका बडाहाकिम धर्मबहादुर पहाडीले बोलाएको बताए । बडाहाकिमको जगजगी हुने त्यो समयमा उनैले बोलाउँदा लौ अब थुन्न पो लागे कि क्या हो भन्ने पर्यो उनको मनमा । त्यै पनि जानु त पर्यो नै । त्यसैले भोलिपल्टै कान्छो मामालाई साथ लिएर उनी पुलिसहरुसितै रामेछाप लागे ।
ओठमा हाँसो छर्दै सुवेदी नोस्टाल्जिक भए, “बडाहाकिम पहाडी आधा, नेपाली आधा र हिन्दी मिसाएर बोल्थे । उनले मलाई भेट्नासाथ रामेछापका मान्छे सिन्धुली से चुनाव लडेगा भनेर उफ्रिए । मैले के भो त बडाहाकिम साब, मैले के गल्ती गरँे र ? भनेर सोधेँ । उनले गल्ती त हो भन्दै फेरि थर्काए । अनि मैले त्यसो भए म चुनावै लड्दिन भन्दिएँ ।”
सुवेदीको कुरा सुनेर उनी झनै कुर्लिए । यो त झनै बदमासी कुरा भयो भन्दै थर्र्काए । त्यसपछि बडाहाकिम पहाडीले उनलाई चुनाव त लड्ने, तर रामेछापबाटै लड्नुपर्ने उर्दी जारी गरे । रामेछाप घर भए पनि रामेछापका मानिसलाई नचिनेकाले उनले आफूलाई कसले भोट दिन्छ र ? भन्ने प्रश्न राखे बडाहाकिमका अगिल्तिर ।
यसरी लड्ने र नलड्ने विषयलाई लिएर बडाहाकिम पहाडी र नवराज सुवेदीबीचमा जुहारी नै चल्यो । त्यो रात सुवेदी रामेछापबाट भाग्न पनि खोजे । तर पुलिसले भाग्न दिएनन् । उनीमाथि पुलिसको पहरा नै लाग्यो । त्यसपछि त उनले चुनाव नलडी सुखै पाएनन् ।
यसरी सुवेदी भँगेरी गाउँबाट रामेछापको जिल्ला सभासद भए । तल गाउँमा कसले राजीनामा गर्यो, कसरी गर्यो । उनले केही थाहा पाएनन् । उनले उम्मेदवारी दर्तामात्रै गरे । र, जिल्ला सभासद भए । उनी भन्छन्, “जिल्ला सभासद भएको भोलिपल्ट बेलुका बडाहाकिमले खाना खान बोलाए, गएँ । त्यहाँ त उनले मलाई जिल्ला पञ्चायतको सभापतिमा लड्न पो भने ।”
यतिबेला पनि नवराज सुवेदीले बडाहाकिमलाई आफूले नलड्ने बताए । आफूलाई कसैले नचिन्ने भएकोले जिल्ला सभापति लड्न नसक्ने उनको तर्क थियो । तर उनको तर्क बडाहाकिमका अगाडि फेल खायो । उनले सभापतिमा उम्मेदवारी दिए । जिते पनि ।
सुवेदी भन्छन्, “मैले जबर्जस्ती जिल्ला सभापतिमा नोमिनेसन हालेको थिएँ । वाम्तीका ठालु टेकबहादुर महिनौं अघिदेखि जिल्ला सभापतिका लागि भिडेर लागेका थिए । उनी आफ्नो तयारी गरेर बसेका थिए । भोटर पनि उनैसित थिए । भोट काउन्ट हुँदा मेरो भोट बढी आयो । उनको त कुल सात भोट मात्रै आएछ । म आफैं पनि चकित थिएँ ।”
त्यसैबेला राष्ट्रिय पञ्चायत सदस्यको लागि जनकपुरमा निर्वाचन हुँदैथियो । थर्काएरै जिल्ला सभापति बनाएका नवराजलाई बडाहाकिमले जनकपुर पनि ल्याए । त्यहीँ उनी निर्विरोध माननीय भए । अरु जिल्लाहरुबाट भने डा. तुलसी गिरी, भोजराज घिमिरे, श्रीकृष्ण मिश्रलगायत व्यक्ति माननीयमा विजयी भएका थिए ।
यसरी विद्यार्थी राजनीति गर्दै पञ्चायतका विरुद्धमा सक्रिय सुवेदीलाई बडाहाकिमले पञ्चायती राजनीतिको उपल्लो पद माननीयसम्म बनाए । तर बडाहाकिमले उनलाई त्यहाँसम्म किन पुर्याए ? यो रहस्य आजसम्म जस्ताको त्यस्तै छ । त्यो निर्णय बडाहाकिमले स्वविवेकले लिएका थिए वा अन्त कतैबाट निर्देशित थियो ? यो रहस्यबाट आज उनी ८० वर्षको हुँदासम्म पनि पर्दा उठेको छैन ।
यो रहस्यबारे चर्चा गर्दै सुवेदी भन्छन्, “कतै दरबारबाटै यसलाई जसरी पनि राष्ट्रिय पञ्चायतमा लिएर आइज भनिएको हुनुपर्छ बडाहाकिमलाई । नभए किन गर्थे र ?”
बडाहाकिमले यसरी सहयोग गर्ने अर्को कारण पनि हुनसक्ने उनको अनुमान छ । त्यो के भने बडाहाकिम पहाडीले सुवेदीका पिताजीलाई गुरु मान्थे । र, हुनसक्छ गुरुदक्षिणा दिनलाई गुरुपुत्रलाई माननीय बनाइएको होस् । तर उनको यो तर्कमा खासै दम देखिँदैन । यी अनुमानमात्रै हुन् । तथापि, २०१९ सालको यो रहस्यात्मक नाटकीय प्रसंगबाट आजपर्यन्त पर्दा खुलेको छैन ।
त्यसउप्रान्त उनले विद्यार्थी राजनीति त्यागे र राजनीतिको मूलप्रवाहमा समाहित भए । त्यसपछि उनी राष्ट्रिय पञ्चायतको उपाध्यक्षका लागि खडा भए । तर २ भोटले बासुदेव ढुंगाना अगाडि बढे ।
माननीय भइसकेपछि उनको सम्पर्क दरबारसित पनि बढ्दै गयो । यता कहिले डा. तुलसी गिरीले, कहिले विश्वबन्धु थापाले त कहिले सूर्यबहादुर थापाले उनलाई विभिन्न पदमा वहाल गर्दैगए । अन्ततः २०२४ सालमा आएर उनलाई सूर्यबहादुर थापाले अर्थ सहायकमन्त्रीको जिम्मेवारी सुम्पिए । त्यसपछि सुवेदी गृह राज्यमन्त्री, उद्योग वाणिज्यमन्त्री हुँदै लामो समयसम्म पावरमा रहे ।
रामेछापका बडाहाकिम पहाडीले नवराज सुवेदीलाई माथि उचाल्न प्रेसर नगरेको भए के हुन्थ्यो होला ? यो प्रश्न उठ्नु अस्वाभाविक होइन । सुवेदीसँग यो कुरो उठाउँदा भन्छन्, “म कांगे्रस हुन्थें वा बामपन्थी हुन्थें, भन्न सक्दिन । हुनसक्छ राजनीतिमा नगएको भए शिक्षक भएर विद्यार्थीहरुलाई विद्या दान गरिरहेको हुन्थेँ कि ।”
करिब तीन दशक राजनीतिको नशामा लिप्त रहेका सुवेदीको लक्ष्य भने डाक्टर बन्ने थियो । तर हिसाब कमजोर भएकाले उनले त्यो मार्ग त्यागेका थिए । तर यो उमेरसम्म पनि उनले राजनीति त्यागेका छैनन् । दल छोडेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा उनको आवद्धता छँदैछ ।
आजको राजनीति गुट उपगुट केन्द्रीत छ । झन् अहिले राजनीतिमा गठबन्धन हावी भइरहेको छ । नवराज सुवेदीका अनुसार पञ्चायती व्यवस्थाभित्र पनि यस्ता गुटहरु थिए । जसमा एउटा उदार खेमा र अर्को अनुदार खेमा थियो । उदार खेमाको नेतृत्व सूर्यबहादुर थापाले गर्दैआएका थिए भने अनुदार खेमाको नेतृत्व डा. तुलसी गिरीको हातमा थियो । नवराज सुवेदीलाई डा. गिरीले मनपराए पनि उनी थापाको उदार खेमामा संलग्न थिए ।
उनी भन्छन्, “हामी पञ्चायतलाई अलि खुकुलो र फराकिलो दायराबाट लैजाउँ भन्थ्यौं । तर डा. गिरीहरु मान्थेनन् । उनीहरु पञ्चायतमा खुकुलोपना आयो भने पञ्चायत नै रहँदैन भन्थे ।”
तत्कालिन अवस्थामा इतर पक्षसँग आफ्नो सौहाद्र्र सम्वन्ध रहेको सुवेदीको भनाइ छ । २०२२ सालमा युवक संगठनको अध्यक्षमा चुनाव लड्दा उनका विरुद्ध डा. गिरीको समूहले गोर्खाका चन्द्रसिंह घलेलाई उठाएका थिए । त्यसबेला सुवेदीलाई कांग्रेस, कम्युनिष्टमा आवद्ध केही साथीहरुले सहयोग पनि गरेका थिए । त्यसैबेला उनले पहिलो पटक पञ्चायतको खिलाफमा प्रजातान्त्रिक रुपबाट यो व्यवस्था अघि बढ्नुपर्छ, व्यवस्था कठोर भएर गयो भन्ने भावना समेटिएको पर्चा निकालेका थिए । त्यसैले पनि उनलाई इतर पक्षबाट सहयोग पुगेको थियो ।
तर जिते चन्द्रसिंहले । सुवेदी भन्छन्, “त्यसबेला चन्द्रसिंहलाई जिताउनका लागि मन्त्री पदमा रहेका खड्गबहादुरले पचहत्तरै जिल्लाका भूमिसुधार अधिकारीहरुलाई बोलाएर मलाई हराउने वातावरण बनाएका थिए ।”
पञ्चायतकालिन समयमा त्यस किसिमको पर्चा निस्कनु कठिन काम थियो । त्यसमाथि हार्डलाइनरहरुले हराएपछि सुवेदीले माननीयबाट राजीनामा दिने मनस्थिति बनाए । दरबारमा समय समयमा विभिन्न अञ्चलका प्रतिनिधिहरुले भेट्ने चलन थियो राजालाई । यस्तै एउटा मौकामा उनले राजा महेन्द्रलाई आफूले माननीयबाट राजीनामा दिनै यहाँ आएको बताए ।
सुवेदीले सुनाए, “मलाई राजीनामा दिएपछि राजाले किन राजीनामा दिने भनेर सोधे । मैले पनि भनें, चन्द्रसिंह घले जस्ता, खड्गबहादुर सिंह जस्ता मानिस सरकारलाई चाहिने रहेछ । हामी दुई अक्षर पढेका मानिसको त के काम भयो र ? त्यसकारण सरकार म पञ्चायत छाड्छु । माननीयबाट पनि राजीनामा दिन्छु । बरु म बाहिरैबाट सरकारको सेवा गर्छु । यति भनेपछि राजाले एकछिन मलाई हेरिरहे । डा. गिरीलाई पनि हेरे । अनि राजाले भने– हैन नवराज, तिमीमाथि अन्याय भएछ । अन्याय गर्नेले दण्ड पाउँछ । अन्याय हुनेले निसाफ पाउँछ । अहिले चुप लागेर बस भने । मेरो राजीनामा पत्र च्यातिदिए । त्यसको दस दिनभित्रमा खड्गबहादुर मन्त्रीबाट खुस्किए ।”
अर्थात् त्यसबेला पनि सत्ताका लागि पदका लागि भयानक चलखेल हुने गरेको उनको भनाइ थियो । सुवेदीका अनुसार दरबारमा राजामात्रै नभएर त्यहाँ धेरै फ्याक्टरले काम गरिरहेको हुन्थ्यो । सचिवहरुले पनि बढ्ता खेल्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, “त्यसो त महेन्द्रको टाइममा सचिव र एडीसीहरुको त्यति जोड चलेन । तर राजा विरेन्द्रको पालामा त सचिव र एडीसीहरुले नै पनि बिगारे । वीरेन्द्रको पालामा राजपरिवारका सदस्यहरुको पनि चलखेल बढी नै थियो ।”
अर्को एक प्रसंगमा सुवेदीले भने, “बीपी र महेन्द्र मिलेको भए आज यो मुलुक धेरै माथि पुग्थ्यो । यिनीहरुको किन बेमेल भयो आश्चर्य लाग्छ ! पावरकै खेला होला यो पनि ! मलाई सम्झना छ, एक पटक राजा महेन्द्रले हामी हङकङमा हुँदा भनेका थिए– वीपी जस्तो योग्य र लायकको प्रधानमन्त्री मैले यो जीवनमा अर्को पाउँदिन । यो २०२७ सालको कुरा हो । त्यति सम्मान थियो वीपीप्रति राजा महेन्द्रको ।”
आजको राजनीति र चलखेललाई सुवेदी डर्टी गेम भन्छन् । एकदमै फोहोरी खेल । यतिबेला उनको मुखमुद्रामा अघिको हाँसो थिएन । गम्भीर देखिए उनी । उनी भन्छन्, “बहुदलीय प्रजातन्त्र, लोकतन्त्र भनेको यस्तै हुन्छ र ! कि हामीले नजानेको हो ? अहिले त हेर्नुस्, पदका लागि जे पनि गर्ने गराउने अवस्था सिर्जना भइरहेको छ । के यही हो लोकतन्त्र, गणतन्त्र ? उहिले राजाले लुट्यो भन्थे । अहिले त कति राजा कति राजा ।”
आजको व्यक्तिवादी र स्वार्थी प्रवृत्तिले देश र जनतालाई कुनै लाभ नहुने राजनीतिज्ञ सुवेदीको तर्क छ । उनको विचारमा अब मुलुक बनाउने भनेको युवाहरुले हो ।
सुवेदीले दरबारको अर्को एउटा सन्दर्भ सम्झि, “कहिलेकाहीँ दरबारले पनि काममा हस्तक्षेप गथ्र्यो, वीरेन्द्रको पालामा । सचिवहरुले पनि खेल्थे । पावरमा हुनेहरुले पनि अनेक ढंगबाट खेल्ने प्रयास गर्थे । त्यतिबेला हामीलाई लाग्थ्यो, बहुदल नै आए पनि हुन्थ्यो । कम्तीमा आनन्दले बस्न त पाइन्छ । बहुदल आयो पनि । तर बहुदल आएपछि नेपाली हुँ भन्न पाइने हो कि होइन भन्ने अवस्था छ आज । यसरी पनि सोच्नुपर्ने भएको छ । यिनै आर्थिक समृद्धिको कुरा गर्छन् । आखिर यिनै बितेको पच्चीस वर्षदेखि सत्तामा छन् । कांग्रेस, एमाले र माओवादीले त राज्य गरेकै हुन् । खै त समृद्धि ?”
उनी राप्रपाप्रति पनि असन्तुष्ट छन् । भन्छन्, “राप्रपा पनि यस किसिमको चलखेलमा छ । ती पनि देश बनाउने भन्दै सरकारमा जाने गरेका छन् । हाम्रा पार्टीका नेताहरुमा पनि एमाले, कांग्रेस र माओवादीले मात्रै किन कमाउने, हामीले पनि कमाउँ न भन्ने भावना छ होला । उनीहरु पनि काम गर्न गएका होइनन् । यसरी कहिले पनि देश बन्दैन ।”