काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग अध्ययन तथा छलफलका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उप–प्रशससक झियान जियानको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो । दुई सरकारबीच भएको सम्झौताअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको बताइएको छ ।
चिनियाँ उपमन्त्रीसमेत रहेका जियान नेतृत्वको टोलीले केरुङ, पोखरा र लुम्बिनी पुगेर रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्नेछ । मंगलबार केरुङ, बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गर्नेछ ।
छलफल नेपालमा रेलमार्ग निर्माणका लागि चीन सरकारले गर्न सक्ने सहयोग र सम्भाव्यता अध्ययनका विषयमा केन्द्रित हुनेछ । “हामीले रेलमार्ग निर्माणका लागि चीन सरकारलाई सहयोगका लागि आग्रह नै गर्ने हो,” रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले भने, “आजको बैठक यसै विषयमा केन्द्रित हुनेछ । फिल्ड भिजिटपछि शुक्रबार हुने बैठकमा उनीहरुले आफ्नो स्पष्ट धारणा राख्ने विश्वास छ ।”
चीन सरकारकै चासो र नेपाल सरकारको पहलमा भएको यो भ्रमणपछि रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने या नगर्ने भन्ने तय हुने र एजेण्डा तय हुने उपाध्यायले जानकारी दिए । केरुङ–काठमाडौं–पोखरा–लुम्बिना रेल्वे मार्ग निर्माणका लागि चीनले चासो देखाउँदै आएको छ । केरुङ–काठमाडौं १ सय किलोमिटर छ भने काठमाडौं–पोखरा १८७ किलोमिटर छ ।
“पोखरा–बुटवलको कुनै ‘आइडिया’ नभए पनि काठमाडौं–पोखरा–लुम्बिनी ३६० किलोमिटर हुने एउटा पुरानो अध्ययनले देखाएको छ,” उपाध्यायले भने । जियानको नेतृत्वमा २३ सदस्यिय टोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
चीनबाट रेल्वे अध्ययनका लागि सरकारी तवरबाट आएको यो पहिलोपटक हो । निजीस्तरबाट पटक पटक आए पनि कुनै प्रगति हुन सकेको थिएन । गत साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेल्वे निर्माणसम्बन्धी हस्ताक्षर गरेका थिए ।
२०७२ साल चैत ७ गतेदेखि तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वे निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।