
काठमाडौं । चलचित्र ‘छक्का पन्जा–४’ र ‘झिंगेदाउ’ नेपाली ओटीटी प्लेटफर्म ‘भिडियोपसल’मा रिलिज भएका छन् । दसैँको अवसर पारेर एकै साथ दुईवटा चलचित्र चलचित्र रिलिज गरिएको हो ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरेर चलचित्र हेर्न सकिनेछ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई थप गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
‘छक्का पन्जा–४’ हेमराज विसीले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिंगेदाउ’मा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।