
काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को चैतसम्म नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । तर, यो अवधिमा नेपालको कुल व्यापारघाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ छ ।
यसको अर्थ नेपालबाट निर्यात हुने वस्तु तथा सेवाभन्दा बढी अन्य देशबाट नेपाल भित्रियो । चैत मसान्तसम्म देशमा १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
भन्सार विभागका अनुसार, ३४ देशसँग नेपालको व्यापारघाटा एक खर्बभन्दा बढी छ । यी देशबाट नेपालमा बढी वस्तु तथा सेवा भित्रिन्छ भने कम जान्छ ।
विभागका अनुसार, सबैभन्दा ठूलो व्यापारघाटा भारतसँग छ । भारतसँग नेपालको व्यापारघाटा ६ खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँ छ । यो देशबाट नेपालमा सबैभन्दा बढी आयात हुने गरेको छ ।
सबैभन्दा बढी मूल्यको पेट्रोल तथा डिजेल नेपाल भित्रिने गरेको छ । चैत मसान्तसम्म ९१ अर्ब २६ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यस्तै, सोयाविन तेल ६६ अर्ब पाँच करोड रुपैयाँको आयात भएको छ । ४७ अर्ब ७७ करोड रुपैयाँको पेट्रोल आयात भएको छ ।