site stats
बाह्रखरी :: Baahrakhari
देश
सत्यमोहनको इच्छाअनुसारै दम्पतीको शव किष्ट अस्पतालको ‘कूल चेम्बर’मा 

काठमाडौं । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित हुँदै इच्छा व्यक्त भएको थियो, ‘मृत्युपछि मेरो शरीरको अध्ययन होस् । मेरा अंग अंगको विशेषता पहिचान गरियोस् ।’ 

उनले यो इच्छा आफ्नो परिवार, इष्टमित्र, शुभचिन्तक सबैसँग व्यक्त गरेका थिए ।

त्यतिमात्रै होइन, शरीर दान गरेको किष्ट शिक्षण अस्पतालका चिकित्सकहरुलाई पटक–पटक भन्ने गर्थे, “म यति धेरै वर्ष कसरी बाँचेछु, मेरो शरीरमा के विशेष रहेछ, मृत्युपछि अध्ययन गरिदिनु है ।”

Argakhachi Cement Island Ad

जोशीको त्यो बोली किष्ट शिक्षण अस्पतालका बेसिक साइन्स विभाग प्रमुख डा. किशोरसिंह बस्नेतको कानमा अझै गुन्जिरहन्छ ।

र, उसैगरी ताजा छ, जोशीको मृत शरीर किष्ट अस्पतालको ‘कूल चेम्बर’मा । 

अनि उनीभन्दा ६ महिनापछि निधन भएकी पत्नीको शव पनि जोशीकै इच्छाअनुसार सँगसँगै राखिएको छ ।

किन राखियो, जोशी दम्पतीको शव किष्टमा ?

सत्यमोहन जोशी दम्पतीले २०७७ साउन २९ गते आफ्नो मृत्युपर्यन्त अध्ययन प्रयोजन गर्न किष्ट मेडिकल कलेजलाई शरीर दान गरेका थिए । उनको निधन भएको आज एक वर्ष पूरा भएको छ ।

१०२ वर्षको उमेरमा २०७९ असोज १३ गते निधन भएका जोशी र २०८० वैशाख २ गते निधन भएकी पत्नी राधादेवीको शव किष्टमा सँगै राखिएको छ । डा. बस्नेतका अनुसार, जोशी दम्पतीको शव एक वर्षमा एकपटक पनि चिरफार वा कुनै प्रयोजनका लागि चलाइएको छैन ।

उनले सधैँ लगाउने गरेको टोपी, प्रयोग गरेका कपडा, निधनको समयमा ओढाइएको नेपाली झन्डासमेत किष्टमा सुरक्षित छ ।  डा. बस्नेतका अनुसार, जोशीजस्तै तीन जना विशिष्ट व्यक्तिको शव किष्टमा अध्ययन प्रयोजनका लागि राखिएको छ ।

kishor-1697527495.jpg

किष्ट शिक्षण अस्पतालका बेसिक साइन्स विभाग प्रमुख डा. किशोरसिंह बस्नेत


कसरी रहन सक्छ शव वर्षौँसम्म ताजा ?

चिकित्सा विज्ञानका अनुसार, मानिसको स्वाभाविक मृत्यु भएको तीनदेखि पाँच दिनसम्ममा भित्री अंगहरू सड्न थाल्छन् र विस्तारै बाहिरी अंगहरूमा पनि असर देखिँदै जान्छ ।  तर, इच्छाले शरीर दान गर्नेहरूको शरीरलाई भने लामो समयसम्म नसड्ने गरी औषधि तथा रसायनहरूमा राखिन्छ, जसलाई ‘इम्बाल्मिङ’ भनिन्छ ।

‘इम्बाल्मिङ’ गर्दा शरीरको प्रत्येक टिस्यूमा रसायन पुगेको हुन्छ, यसले शरीरका अंगहरुलाई ताजा राख्ने काम गर्छ ।  यसरी राखिएका शव ५० वर्षसम्म पनि ताजा रहने जानकारी डा. बस्नेतले दिए । 

“त्रिवि शिक्षण अस्पतालमा अझै पनि ४० वर्षअघिका शव चिरफार गरी विद्यार्थीलाई अध्ययनका क्रममा देखाइन्छ, सिकाइन्छ,” उनी भन्छन् ।

जोशीको निधन भएको एक घण्टापछि अस्पतालले ‘इम्बाल्मिङ’ प्रक्रिया गरिसकेको थियो ।  जोशीको शरीरका विभिन्न अंगहरूको विद्यार्थीबाट मात्र नभएर शोधकर्ताहरूबाट पनि सुरक्षित तवरले अध्ययन योजना छ । 

“हामीले कुनै चिरफार गरेका छैनौँ । विद्यार्थीको हातबाट यो काम नगर्ने हाम्रो निर्णय छ । आवश्यक परेको खण्डमा मेरै नेतृत्वमा चिरफार गर्न सकिन्छ । तर, अंगहरु छुट्याएर राख्दैनौँ,” डा. बस्नेत भन्छन् ।

सामान्यतः चिकित्सा विज्ञानका विद्यार्थीको सिकाइका लागि प्रयोग हुने अन्य शवहरु चिरफार गरी अंग छुट्याइन्छ, प्रयोगपछि तिनलाई व्यवस्थित रुपले ‘डिस्पोज’ गरिन्छ ।  तर,  शरीरका अंगहरु अध्ययन गरे पनि अन्य शवजस्तो छुट्याएर नराख्ने बरु घाँटीभन्दा माथिको भाग छुट्टै राखी संग्रहित गर्ने किष्टको योजना छ ।

patni-1697527495.jpg

“जोशी दम्पती दुवै जनाको शवलाई संग्रहालयमा सँगै राख्ने हाम्रो योजना छ । त्यसैका लागि उहाँले प्रयोग गरेका सामग्रीहरु सुरक्षित राखेका हौँ,” डा बस्नेतले भने ।

उनका अनुसार, ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा किष्टको आफ्नै भवन बन्दै छ । त्यसैमा एनाटोमी संग्रहालय पनि बनाइनेछ । जोशीको पहिचान यथावत् राख्न घाँटीभन्दा माथिको भागको कुनै चिरफार गरिने छैन ।

चिरफार नगरिएको भागलाई जस्ताको तस्तै स्ट्यान्डमा राखी सीसाको बाकसमा सुरक्षित गरिनेछ ।  यस्तो स्मृति जोशीका शुभेच्छुक तथा अध्ययनकर्ताले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । तर, त्यसका लागि समय भने लाग्ने डा. बस्नेत बताउँछन् ।

मृत शरीरको अध्ययन कति प्रभावकारी ?

नेपालमा शरीर दान नयाँ विषय भने होइन । वरिष्ठ फरेन्सिक मेडिसिन विशेषज्ञ डा. हरिहर वस्ती कतिपय आत्महत्या गरेका व्यक्तिहरूले समेत मृत्युपर्यन्त आफ्नो शरीर अध्ययन प्रयोजनका लागि राखियोस् भनेर सुसाइड नोटमा लेखेका आधारमा उनीहरूको शरीर यसरी नै राखेर अध्ययन गरिएको बताउँछन् । यसरी हुने शरीर दानबाट फरेन्सिक चिकित्सा क्षेत्रका लागि ठूलो सहयोग हुने डा. वस्तीको बुझाइ छ ।

तर, मृत शरीरका अंगहरुको अध्ययनबाट मात्रै व्यक्ति जीवित छँदाको निरोगी, अद्भूत क्षमता आदिको पूर्ण पहिचान भने गर्न नसकिने डा. बस्नेत दाबी गर्छन् ।  अर्थात्, मृत शरीरको अवस्था र जीवित रहँदाको अवस्थालाई खासै जोडेर हेर्ने बलियो आधार भने नहुने उनको भनाइ छ ।

“अझ बौद्धिक क्षमता पहिचानका लागि मष्तिष्कको अति सुक्ष्म अध्ययन जरुरी हुन्छ । त्यसका लागि उच्चस्तरीय प्रयोगशाला आवश्यक हुन्छ, जुन नेपालका लागि असम्भव नै हो,” उनी भन्छन् । 

तर, जोशीको इच्छाको कदर र उनको व्यक्तित्वको सम्मानस्वरुप शवलाई संग्रहित गर्ने योजना बनाएको डा. बस्नेतको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्