काठमाडौं । नेकपा (एमाले)ले इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासद्वारा गरिएको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गरी उक्त घटनामा निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
“हामी यस घटनाबाट ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्वविद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दसैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।”
ओलीले विज्ञप्तिमार्फत घाइते हुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउन सरकारसमक्ष माग गरेका छन् ।