site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ किलो सुन तस्करीको नियति भोग्छ कि आयोगले पनि !

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी नवगठित जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार पत्रकार सम्मेलनमा भनेका थिए, “सुन तस्करीको अनुसन्धान र जाँचबुझ गर्न पहिलेको तुलनामा केही जटिल छ । तर हामी निष्पक्ष र सुन तस्करीका नयाँ शैलीबारे गहिराइमा पुगेर छानबिन गर्नेछौँ ।”

सरकारले १४ असोजमा बनाएको उक्त आयोगले १७ असोजदेखि काम सुरु गरेको छ । 

आयोगले २ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिएको ६१ किलो सुन र गत पुसमा विद्युतीय सिगरेट भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणबारेको जाँचबुझ गर्ने म्याण्डेट सरकारबाट पाएको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा तीन सदस्य छन् । सदस्यहरुमा पूर्वएआईजी सहकुलबहादुर थापा, पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी छन् । ६१ किलो सुन तस्करीसम्बन्धी मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचराधीन छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा २९ जनाविरुद्ध अभियोग छ ।

जसमा तिब्बतीमूलका बेल्जियम नागरिक दावा छिरिङ र चार जना चिनियाँ नागरिक मुख्य अभियुक्त छन् । चिनियाँ नागरिकहरुकै योजनामा मोटरसाइकल र स्कुटरको ब्रेक सुमार्फत हङकङबाट सुन नेपाल भित्रिएको सिआईबीको निष्कर्ष छ । आयोगले उक्त प्रकरणबारे पुनः छानबिन गर्नेछ ।

भेप प्रकरणको अनुसन्धान भने अझै सीआईबीले गरिरहेको छ । उक्त प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरीकै नियन्त्रणमा छन् । कृष्णबहादुर महरालाईसमेत सिआईबीले सोमबार कागजी बयान लिएको थियो । उक्त भेप चिनियाँ नागरिक दावाजिङ वाङले दुबईबाट नेपाल भित्र्याएका थिए ।

प्रहरीले वाङका सवारी चालक लोकेन्द्र पौडेललाई समेत नियन्त्रणमा राखेको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले भेप प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यान्वयन हुनेमा आशंका

सुन तस्करी छानबिन आयोगको प्रतिवेदन कार्यान्यवन सन्दर्भमा आयोगका अध्यक्ष स्वयं नै ढुक्क छैनन् । आयोगका अध्यक्ष आचार्यले पत्रकार सम्मेलनमै आफूहरुको काम छानबिन गर्नेमात्रै रहेको र अन्य बाँकी काम सरकारी पाटो भएको प्रतिक्रिया दिए ।

तर, विगतको अनुभवले भने सुन तस्करी प्रकरणको छानबिन गर्न बनेका आयोग वा समितिको प्रतिवेदन भने दराजमा थन्किनेमै सीमित हुँदै आएका छन् । हुन पनि पछिल्लो समय बनेको समितिको प्रतिवेदन कार्यान्यवनको चरणमा पुग्नु त परको कुरा सरकारले उक्त प्रतिवेदन गायब पारेको थियो ।

२०७४ मा भएको बहुचर्चित साढे ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान र छानबिन गर्न बनेको समितिको प्रतिवेदन गायब पारिएको हो । २० चैत २०७४ को मन्त्रिपरिषद्ले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले त्यो बेला अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । तर, उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यायलमै थन्कियो । हालसम्म पनि उक्त प्रतिवेदन सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन गृह मन्त्रालयसमेत नपठाएको गृह स्रोतको दाबी छ ।

उक्त समितिका एक सदस्यले आयोगको प्रतिवेदनको अवस्था पनि त्यस्तै नहोला भन्न नसकिने बताए । “आयोग बन्दा नै राजनीतिक भागबण्डा मिलाउन बनेको जस्तो देखिन्छ । प्रतिपक्षको मन राख्न मात्र बनेको आयोगले गर्ने छानबिन प्रतिवेदन कार्यान्वयन होला भन्ने म चाहिँ पत्याउँदिन,” ती सदस्यले भने ।

साढे ३३ किलो सुनको छानबिन गर्न बनेको समितिले चार–पाँच वर्षको अवधिमा ३८ क्विन्टल सुन तस्करी भएको देखिएको र तस्करहरुको सञ्जाल ठूलो रहेको निष्कर्षसहितको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

उक्त प्रतिवेदन करिब ८०० सय पृष्ठको भएको पनि ती सदस्यको भनाइ छ । त्यसअघि समेत सुन तस्करी प्रकरणमा पटक–पटक सरकारले छानबिन समिति बनाउँदै आएको छ ।

संसदले २०५५ बैशाखमा सुन तस्करी र राजस्व चुहावट छानबिन गर्न संसदीय संयुक्त समिति बनाएको थियो । उक्त समितिको बहुचर्चित प्रतिवेदन कार्यान्वयन त परै जाओस्, एक दिन संसद्मा समेत छलफल भएन । 

उक्त समितिले समेत विमानस्थलबाट सयौँ किलो सुन तस्करी हुने र सुराकीका नाममा कर्मचारी आफैँले विना भर्पाइ सुराकी पुरस्कार लिने समेत तथ्य केलाउँदै प्रतिवेदन बनाएको थियो । उक्त समितिको प्रतिवेदन पनि संसद्मै थन्कियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro