site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ

काठमाडौं । ललितपुरको च्यासलमा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या भएको खुलेको छ । दुर्गाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय नाबालकलाई पक्राउ गरेको छ । गएको शुक्रबार च्यासलस्थित एक घरको पानी ट्यांकीभित्र दुर्गाको शव भेटिएको थियो ।

पानीमा सड्ने अवस्थामा पुगेको शवबारे अनुसन्धान गर्दै जाँदा दुर्गाको हत्या उनकै सहोदर दाइले गरेको खुलेको प्रहरी स्रोत बताउँछ । बझाङ स्थायी घर भएको बोहरा परिवार च्यासलको एक घरमा भाडामा बस्दै आएको थियो ।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । उनका बुवाले चैत ४ गते नै दुर्गा हराएको निवेदन प्रहरी प्रभाग मंगलबजारमा दिएका थिए ।

प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । हत्यापछि उनले घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छपेका थिए ।

यसरी भेटिएको थियो शव
चैत ४ गतेदेखि नै हराएकी दुर्गाको शव झन्डै एक महिनापछि मात्रै फेला परेको हो । दुर्गाको हत्या हुनु एक हप्ताअघि मात्रै दुर्गाको परिवार च्यासलबाट अर्को ठाउँ सरेको थियो । दुर्गाको परिवार बस्दै आएको च्यासलको घरमा हेटौँडाका सञ्जय बोगटीको परिवार सर्‍यो । भुइँतलामै रहेको कोठानजिकै थियो, बाथरुम ।

तर, बाथरुम दुर्गन्धित थियो । सुरुमा सञ्जयको परिवारले फोहोर भएर बाथरुम गन्हाएको ठान्यो । उनीहरू बाथरुम र नजिकै रहेको ट्यांकी सफा गर्न पुगे । तर, ट्यांकी सफा गर्ने बेला ट्यांकीभित्र मानिसको खुट्टाजस्तो देखिएपछि उनीहरू झस्किए । तुरुन्तै घरबेटीलाई खबर गरे ।

घरबेटीले तत्कालै प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव निकालेको थियो । शव दुर्गाको भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

शव भेटिएको चार दिनपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले दुर्गाको हत्याका आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दाइमाथि प्रहरीले सुरुदेखि नै आशंका गरेको थियो । तर, उनले निरन्तररूपमा हत्या अस्वीकार गरे । तर, उनकै भूमिका थप शंकास्पद लागेपछि प्रहरीले सोधपुछ गर्दा उनले सोमबार हत्या स्वीकार गरेका हुन् ।

प्रहरीका अनुसार, कोठा सरेको दुई दिनपछि लुगा छुट्यो भन्दै पुरानो डेरा पुगेका दाजुबहिनीले लागुऔषधसमेत सेवन गरेको खुलेको छ । सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले हत्या उनकै दाइले गरेको स्वीकार गरेको बताए । पक्राउ परेका युवामाथि अनुसन्धान सुरु भएको छ ।

मंगलबार प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro