चिरबिर चिरबिर चरीको आवाज र झ्यालबाट मन्द बिहनले छर्दैगरेको उज्यालोसँगै म पनि प्युपाबाट निस्किन लागेको पुतलीजस्तै तातो ओछ्यानको ओड्ने पन्छ्याउँदै उठ्छु । पुसको महिना छ । पानी जमेपछिको बरफजस्तै चिसो मौसम छ । उदाउन लागेको सूर्यलाई चारैतिरबाट कालो बादलले घेरिराखेको छ । भर्खर १४ टेकेकी हजुरआमाकी प्यारी म उहाँले बनाउनु भएको तातो चियाको सुर्को तान्न भान्छातिर लाग्छु ।
चियाको मिठास जिब्रोमा दौडिइरहँदा कानमा कसैको आवाज घुस्रिन पुग्छ । हजुरआमाले चुलोतिर आगोको अगुल्टो ठोस्दै भन्नुहुन्छ - बाहिर गएर हेर्न, तँलाई कसैले बोलाको हो कि ? । म चियाको गिलास हातमै बोकेर बाहिर निस्किन्छु । बाहिर कसैलाई देख्दिन । त्यसपछि त्यो आवाजको उत्तर आवाजले नै दिन्छु - को हो मलाई बोलाउने ?
रुजा दिदी मेरो तुरुन्तै हाजिर हुनुभयो - मसँग जङ्गलमा बाख्रा चराउन जाने हो ? दिदीको यो प्रश्नले एक अन्जुली मनपर्ने चकलेट टक्र्याएको महसुस हुन्छ । मैले पनि मुसुक्कै हाँसेर भने - हुन्छ नि म जान्छु है । एकपटक हजुरआमालाई सोधिहाल्छु है त । दिदीलाई त्यहीँ छोडेर म हजुरआमाको अनुमति लिन भित्र जान्छु । बाख्रा गोठालो मेरो लागि मेला हेर्न गएजस्तै रमाइलो काम हो ।
हामी केही समय हिँडेर खोलापारिको जङ्गलमा पुग्छौँ । दिनभर गफ गर्दै बस्छौँ । दिदीसँग हिँडेपछि समय बितेको पत्तो नै हुँदैन । यसरी गफमा रमाएर मस्त भएको बेला मलाई कता कता शरीरको तल्लो भागतिर केही टाँसिएजस्तो चिसोपनको महसुस हुन थाल्छ । मन पनि एकैछिनमा चिसो हुन थाल्छ । कतै महिनावारी त भएन भन्ने डरले मन भित्रभित्रै छट्पटाउन थाल्छ । दिदीलाई भन्ने आँट पनि गर्न सक्दिन । दिदीलाई केही नभनी हतारहतार पानी भएको ठाउँमा पुग्छु । रातो रगत सुरुवाल भरि टाँसिईसकेको रहेछ । डर, लाज र छटपटीले सुरुवालको रगतभन्दा बढी मेरो अनुहार रातो भइसकेको छ । दिदीलाई कामको बहाना बनाएर म हतारहतार घर आउँछु र मुसाको चालमा सुटुक्क महिनावारी हुँदा बस्ने छाउगोठमा लुक्छु । पुस महिनाको चिसोले गर्दा छाउगोठका भित्ताहरु पसिनाले भिजेको शरीरजस्तै ओसिएका छन् । ओड्ने र ओछ्यानबिनाको खाली भुइँमा म लाजले भरिएको अनुहार लिएर घोप्टिइरहन्छु । यतिखेर आफूले ठूलै अपराध गरेर सजाय भोग्न सुरु गरेजस्तै महसुस गर्दैछु । एकछिनपछि आमा र हजुरआमा खोज्दै आउनुहुन्छ - कतै रोस्नी छाउ (महिनावारी) त भइन? हजुरआमाले बिस्तारै आमालाई सोध्नुहुन्छ । केहीबेरपछि आमा प्याटप्याट चप्पलको आवाजसँगै म बसेको छाउगोठको छेउमा आइपुग्नुहुन्छ र छाउगोठको झ्याल हातले घचेट्न थाल्नुहुन्छ । मलाई लाजले उहाँहरूको अनुहार हेर्ने आँट नआएर झ्यालभित्रबाट कसेर धकेल्छु । अन्त्यमा उहाँहरूको आगाडि केही नलागेपछि झ्याल खोलिदिएर भित्तापट्टि फर्किएर बस्छु ।
साँझमा म छाउ भएको खबर सुनेर केहीबेर मेरा साथी आउँछन् । उनीहरू मलाई जिस्क्याउँदै, हाँस्दै मेरो छेउमा बस्छन् । हामीले एकअर्कालाई राम्रोसँग देखिराखेका छैनौँ । हामी चारैतिरबाट कालो पर्दाले ढाकेजस्तै अँध्यारो गोठभित्र जो छौँ । न त उज्यालो बाल्ने साधन छ न त भुइँमा ओछ्यान नै...। एकैछिनमा बैनीले एउटा पातलो अलि फोहोर देखिने ओढ्ने र उस्तै देखिने एउटा ओछ्याउने लिएर आउँछे । यत्तिकैमा माथिको तलाबाट हजुरआमाले आवाज लगाउनु हुन्छ - अँध्यारो होला झ्रा (सल्लाको भित्रि भागको मैनबत्ती जस्तै बल्ने भाग) बालेर लैजाऊ है......। ह्जुरआमाको आवज सुनेपछि एकजना दिदी जुरुक्क उठेर रातो झ्रामा आगो बालेर म बसेको गोठमा टाउको निहुराँउदै भित्र पस्नुहुन्छ । मैले अलि लजाउँदै भन्छु -टाउको ठोकिएला है । ढोका सानो छ । अरू दिदीहरू हाँस्नुहुन्छ ।
सँधै परिवारसँग गफ गर्दै उज्यालो कोठामा बस्ने बानी परेकी मलाई त्यो गोठ कुनै गुफाभन्दा कम लागेको छैन । घरको माथिल्लो तलामा सबैजना बसेर गफ गर्दै खितित्त हाँसेको तल म बसिरहेको गोठमा सुनिइरहेको छ । घरको बार्दलीमा बलिरहेको उज्यालो बत्तीको केही किरण म बसिरहेको गोठको नजिक नजिकसम्म पुगिरहेका छन् । रात बित्तै छ तर आँखामा अलिकति पनि निन्द्राले छोएको छैन । एउटा पातलो बल्याङ्केटमा लट्पटिरहेकी छु ।
पुसको चिसो सिरेटोले खुट्टादेखि शिरसम्म प्रवेश गरिरहेको छ । म भने थरथर काँपिरहेकी छु । बल्याङ्केटलाई शिरदेखि पाउसम्म गुटुमुटु च्यापेकी छु । दुई हातलाई दुई खुट्टाको बीचमा च्यापेर शरीरलाई तातो बनाउने प्रयास गरिरहेकी छु । अनि मनमा अनेकथरी कुरा सोच्दै छु । राति एक्कासि पिसाब लागिहाल्यो भने कता जाने होला ? चर्पी जाँदा कसैले थाहा पाउँछन् कि ? यस्तो पानी अनि हिलोमा भोलि बिहानै ऊ परसम्मको खोलामा कसरी नुहाउन जाने होला ? सातसात रात यसरी त कसरी कटाउने होला ह्या ! कस्तो मही खाने तिर्खा पो लाग्यो हौ के गर्ने होला ? यस्को लागि पनि सात दिन नै कुर्नुपर्छ । ऊ त्योभित्रको मेरो आफ्नै कोठामा बाक्लो सिरक ओडेर आनन्दले सुत्न पाए त हुने नि ! मनमा यस्ता हजारौं प्रश्न आइरहँदा किन छोरी भएर जन्मेकी होलाजस्तो लाग्न थाल्यो । छोरी भएकोमा आफैँसँग घृणा हुन थाल्यो । पहिलोपटक महिनावारी हुँदा र छाउघरमा बस्दाको तीतो अनुभवले गर्दा त्यसपछिका दिनहरू मैले आफूलाई घृणा गरेर नै बिताउन थालेँ । आफू छोरी भएकोमा पछुतोमात्र लाग्ने । म किन छोरा भएर जन्मिनजस्तो लाग्ने । अनि महिनावारी हुँदा त झनै आफैप्रतिको घृणा बढ्ने हुनथाल्यो ।
यस्तैमा एउटा संस्थाले धनगढीमा संचालन गरेको ७ दिने किशोरी रूपान्तरण तालिमले मभित्रको हीनताभाव मेटाइदियो र छोरी भएकोमा गर्व गर्न सिकायो । एउटी किशोरीको महिनावारी सुरु भएपछि प्रत्येक महिनाभर अर्थात् २८ दिनसम्म हुने शारीरीक, मानसिक र संवेगात्मक परिवर्तनको बारेमा जान्ने र अनुभव गर्ने अवसर प्राप्त भयो । यि २८ दिनमध्ये हाम्रो दिमाग कुन बेलामा सवैभन्दा तेज हुन्छ जसका कारण पढाइमा बढी समय खर्च गर्न सक्छौं, कुन समय हामी शारीरिक तथा मानसिकरूपमा सिर्जनात्क हुन्छौँ र सिर्जना गर्न सक्छौँ भन्ने थाहा भयो । हाम्रो लागि सात सात दिनमा परिवर्तन हुने चक्रहरू प्रि ओभ्युलेसन, ओभ्युलेसन, प्रि मेन्सुरेसन र मेन्सुरेसनले प्रत्येक ७ दिनमा कसरी फरक भूमिका खेल्ने रहेछन् ? हामीले प्रत्येक महिना पाउने यस शक्तिसँगै महिनावारीको समयमा कसरी आफैँले आफ्नफ ध्यान राख्नु जरुरी छ ता कि हामी बाँकी दिनमा ऊर्जावान, शक्तिले भरिपूर्ण र पूरा जाँगरका साथ बिताउन सक्ने रहेछौँ भनेर पनि जान्ने मौका मिल्यो ।
त्यसपछि छोरी भएर जन्मनु श्राप होइन वरदानजस्तो लाग्न थाल्यो । महिनावारी हुनु दोष होइन रहेछ । यो त एउटा प्राकृतिक प्रक्रिया रहेछ । परिवार र समाजले पो रुढीवादी परम्परालाई निरन्तरता दिन बाध्य पारेका रहेछन् ।
महिनावारीका सुरुका दुई वर्ष गोठमा नै अँध्यारा र असुरक्षित दिन काटेकी मैले अहिले सामान्यरूपमा दिन बिताउन थालिसकेको छु ।
महिनावारी हुनु कुनै पाप हैन । पाप लाग्यो कि भनेर डराएर नबसौँ । पाप पखाल्नुपर्छ भनेर भ्रममा नपरौं । महिनावारी सामान्य शारीरिक प्रक्रिया हो । ऋषि पञ्चमीमा महिनावारी हुँदाको पाप पखाल्न व्रत बस्नुपर्दैन । आफ्नो जीवन ढुक्कले बिन्दास बाँचौँ !