काठमाडौं । लिट्मस केबल्सले नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–जेडएच सार्वजनिक गरेको छ । जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर–जेडएच सार्वजनिक गर्दै बिक्रीका लागि घोषणा गरिएको छ ।
ईकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगा रूपमा रहने र यसले ग्राहकमा थप सुरक्षाको अनुभूति दिने कम्पनीको दाबी छ ।
आवासिय भवन, विद्यालय, अस्पताल, महल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय सबैमा ईकोवायर–जेडएच प्रयोग गर्न सकिनेछ । यसले आगलागीको जोखिमलाई कम गर्ने बताइएको छ ।
ईकोवायर–जेडएच सार्वजनिक कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निदेशक रोहित गुप्ताले लिट्मस ईकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार भएको बताए । “ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ प्रविधि तथा नवीनतम उत्पादन बजारमा ल्याउन हामी तयार छौँ,” उनले भने ।
उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर–जेडएचको विश्वसनीयतामा जोड दिँदै यसको सुरक्षा प्रविधिका कारण ग्राहकले यो उत्पादनलाई विश्वास गर्नसक्ने बताए ।
“यसमा कम धुवाँ र उत्सर्जन–मुक्त विशेषता छन् । त्यसैले प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खिया नलाग्ने गुण र आगो प्रतिरोधले समग्र सुरक्षा बढाउँछ । उत्पादनको पर्यावरण–मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीले ग्राहकको मन जित्नेछ,” उनले भने ।