काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गर्दा सेती प्रादेशिक अस्पताल धनगढीलाई नेपाली सेनामार्फत् एउटा ‘सीआरआरटी’ मेसिन प्राप्त भयो । स्वास्थ्य सेवा विभागकै खरिदमा सेती अस्पताल पुगेका मेसिन करिब दुई वर्ष त्यसै थन्कियो । जनशक्तिको अभावमा जडान नै नगरी राखिएको सो मेसिन २०७९ चैतमा सेतीले वीर अस्पताललाई पठाइदियो ।
गत आर्थिक वर्ष २०७९–०८० मा भक्तपुर अस्पतालले स्वास्थ्य सेवा विभागसँग एनेस्थेसिया मेसिन माग्यो । अस्पताललाई चाहिएको थियो, १८ वर्षमाथिका बिरामीको उपचारमा प्रयोग हुने उपकरण । तर, विभागले पठाइदियो, पेडियाट्रिक एनेस्थेसिया अर्थात् १५ वर्षमुनिका बालबालिकामा प्रयोग हुने मेसिन ।
पाँच महिना प्रयोगविहीन बनेपछि यही असारमा मेसिन कान्ति बाल अस्पताल पठाइयो । नारायणी अस्पताल वीरगञ्जमा पाँच वर्षदेखि सुचारु रहेको सीटीस्क्यान मेसिन डेढ वर्षअघि बिग्रियो ।
मेसिन मर्मत गर्न प्राविधिक परामर्श लिँदा ठूलो रकम खर्च हुने देखिएपछि अस्पतालले मर्मतमा खर्चिन चाहेन । बरु नयाँ खरिद प्रक्रिया अघि बढायो । एक वर्ष नारायणीमा थन्किएको मेसिन गत चैतमा कोसी अस्पताल मोरङ पठाइयो ।
अस्पतालमा वर्षौँसम्म कसरी ठूला उपकरणहरु प्रयोगविहीन बन्छन् भन्ने तथ्यको यी केही उदाहरण मात्रै हुन् । स्वास्थ्य सेवा विभागको तथ्यांकमा यस्ता हजारौँ उपकरण प्रयोगविहीन बनेका विवरण भेटिन्छन् । विशेषगरी कोरोनाकालमा अनुदानमा प्राप्त भएका कतिपय उपकरण जस्ताको तस्तै विभागमा फर्काएर अन्य अस्पताललाई पठाउने गरिएको छ ।
अस्पतालको रेकर्डमै छैनन् उपकरण
स्वास्थ्य सेवा विभागले पठाएका कतिपय उपकरण भने सम्बन्धित अस्पतालको रेकर्डमै भेटिँदैनन् । कोरोनाकालमा अधिकांश अस्पतालमा अक्सिजन सिलिन्डर तथा भेन्टिलेटर मेसिन अभाव भएपछि स्वास्थ्य सेवा विभागले बजेट कार्यक्रम बनाएर उपकरणहरुको खोजी गरेको थियो ।
‘प्लामस अपडेट एवं सञ्चालन’ नामक शीर्षकमा बजेट छुट्याएर आर्थिक वर्ष २०७७–०७८ र ०७८–०७९ मा जिल्ला र स्थानीय तहअन्र्तगतका केही अस्पतालमा अध्ययन गरिएको थियो । सात प्रदेशका १४ वटा अस्पतालको अध्ययन गर्दा दुर्गमका अधिकांश अस्पतालमा उपकरण जडान नभएको अवस्थामा भेटिएका थिए ।
१४ अस्पतालमा रहेका दुई हजार ५६२ मध्ये ३५८ वटा प्रयोगमा नभएको र १२२ वटा उपकरणको रेकर्ड नै नरहेको पाइएको थियो । त्यस्तै, ६८ वटा उपरकण जडान नै नभएर थन्किएको अवस्थामा भेटिए ।
सुगममा पनि उपकरण प्रयोगविहीन
दुर्गम र जिल्लास्तरका अस्पतालमा मात्रै नभएर केन्द्रीय अस्पतालहरुमा पनि महँगा उपकरण वर्षौँ थन्किएको पाइएको छ । कोरोनाकालमा चीन सरकारले अनुदानमा उपलब्ध गराएको एउटा सीटीस्क्यान मेसिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा झन्डै दुई वर्ष थन्कियो ।
स्वास्थ्य सेवा विभागले गतवर्ष त्यसको अवस्थाबारे चासो राखेपछि जडान नै नगरिएको मेसिन विभागलाई जिम्मा लगाइयो ।
र, विभागले भोजपुर जिल्ला अस्पतालमा पठायो । अघिल्ला वर्षहरुको बजेटमा स्थानीय तह र जिल्लास्तरका अस्पतालहरुमा मात्रै अध्ययन गर्न बजेट छुट्याइएकाले केन्द्र मातहतका अस्पतालमा कति उपकरण कस्तो अवस्थामा छन् भन्ने विवरण नआएको विभागको पूर्वाधार शाखाका कर्मचारी बताउँछन् ।
चालु आर्थिक वर्षमा भने केन्द्रीय अस्पतालहरुको समेत अध्ययन गर्न बजेट छुट्याइएको र छिट्टै नै अध्ययनको काम सुरु गर्ने शाखाको तयारी छ ।
कोरोनाकालमा बाँडिएका उपकरणको छैन रेकर्ड
नेपालमा कोरोना महामारी सुरु भएयता अधिकांश स्वास्थ्य सामग्री तथा उपकरण अनुदानमा आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन शाखाको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७–०७८ यता २०८० भदौसम्म ६२२ पटक स्वास्थ्य उपकरण भित्रिएको विभागको तथ्यांक छ, जसमध्ये ११ प्रतिशत सरकारले खरिद गरेको र अन्य अनुदानमा प्राप्त भएको देखिन्छ ।
केन्द्रीय भण्डारण टेकु तथा पथलैयामा राखिने यी उपकरण मागका आधारमा विभागले विभिन्न अस्पतालहरुमा वितरण गर्दै आएको छ ।
तर, कोरोनाकालमा सबै उपकरण तथा स्वास्थ्य सामग्री खरिद र वितरणको जिम्मा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)लाई दिइएको हुँदा सो समयमा वितरण भएका उपकरणको विवरण अझै पनि विभागसँग छैन ।
“सीसीएमसीले आवश्यकता र प्रयोगको अवस्था नहेरी उपकरणहरु दिएको पनि पाइयो । ती उपकरण कहाँ कति छन् हामी खोजी गरिरहेका छौँ,” व्यवस्थापन शाखाका एक कर्मचारीले भने ।
मर्मतमा भन्दा खरिदमा जोड
स्वास्थ्य सेवा विभागले कोरोना महामारीपछि उपकरणको अवस्था र प्रयोगबारे निरन्तर चासो राखिरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री मोहनबहादुर बस्नेतले देशभरका उपकरणको प्रयोगको अवस्था, विवरण संकलन गरी माग भएका अस्पतालहरुमा पठाइने घोषणा गरेका थिए ।
त्यसपछि यो आर्थिक वर्षको सुरुआतमा पनि सबै प्रदेश र जिल्लास्तरका अस्पतालहरुलाई उपकरणको विवरण पठाउन विभागले पत्राचार गरेको थियो । प्रयोगको अवस्था के छ ? प्रयोग नभए विभागमा फिर्ता पठाउनु भन्दै सातै प्रदेशका अस्पताललाई परिपत्र गरिएको विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरासिया बताउँछन् ।
तर, हालसम्म भक्तपुर, पाटन, सेती, प्युठान र नारायणी अस्पतालबाट मात्रै प्रयोगविहीन भएका मेसिन फिर्ता गरिएको विभागको तथ्यांक छ । “हामीले फोनमार्फत् पनि विवरण माग गरेका छौँ । तर, केहीबाहेक अधिकांश अस्पतालले रेस्पोन्स गरेका छैनन्,” डा. चौरासियाले भने ।
नारायणी अस्पतालमा थन्किएको सीटीस्क्यान मेसिन पाँच वर्ष मात्रै चलेको थियो । तर, मर्मतका लागि खर्च नछुट्याएको भन्दै अस्पतालले नयाँ मेसिन खरिद प्रक्रिया अघि बढायो ।
“मेसिन बिग्रिएपछि बनाउन प्रशासनले प्राविधिक बोलाएको थियो । तर, धेरै खर्च लाग्ने भन्दै अर्को मेसिन मगायो । हाम्रोमा नयाँ मेसिन पनि आयो विभागबाट फिर्ता गर्न पत्र पनि आयो अनि यतैबाट विराटनगर पठाइदियाँैँ,” अस्पतालको स्टोरका एक कर्मचारीले भने ।
ठूला अस्पतालहरुले पनि कमिसनको लोभमा मेसिन मर्मत–सम्भारमा भन्दा नयाँ खरिदमा नै जोड दिने गरेको र बिग्रनासाथ नयाँका लागि माग गरी पठाउने गरेको विभागका कर्मचारी बताउँछन् ।
दक्ष जनशक्ति नहुँदा मेसिन थन्किन्छन्, बिरामी फर्किन्छन्
सरकारले उपकरण पठाउने तर त्यसलाई चलाउने दक्ष जनशक्ति नपठाउने गर्दा पनि कतिपय अस्पतालमा उपकरण थन्किएको अनुभव प्लामस अपडेट कार्यक्रमका लागि फिल्डमा खटिने गरेका कर्मचारीको छ ।
“दुर्गमका अस्पतालहरुमा किन मेसिन प्रयोग नगर्नुभएको भन्दा हाम्रोमा यो चलाउन जान्ने कर्मचारी नै छैनन् भन्ने गर्नुहुन्छ । धेरै अस्पतालमा यही गुनसो पाइयो,” पूर्वाधार शाखाकी बायोमेडिकल इन्जिनियर सञ्जिता शर्माले भनिन् ।
अस्पतालअनुसारको जनशक्ति थप नहुँदा पनि समस्या थपिएको उनको अनुभव छ । नेपालमा २०४८ सालयता स्वास्थ्यमा नयाँ दरबन्दी थप गरिएको छैन । हाल स्वास्थ्य सेवामा प्राविधिक तथा जनस्वास्थ्य गरी ३१ हजार दरबन्दी रहेको मन्त्रालयको तथ्यांक छ ।
सेती प्रादेशिक अस्पतालमा दुई वर्ष सीआरआरटी मेसिन थन्किनुको कारण पनि जनशक्ति अभाव नै देखिएको छ ।
“हामीले नर्सहरुलाई तालिम दिन विभागमा पत्राचार गर्यौँ । तर, कसैलाई तालिम दिइएन । बिरामी आए पनि अर्को अस्पताल पठाउनुपर्थ्यो । मेसिन जडान नै नगरी फिर्ता पठाउनु पर्यो,” अस्पताल स्टोरका एक कर्मचारीले भने ।
यसबाहेक अस्पताल र विभागबीच समन्वय नहुँदा पनि आवश्यकता नहेरी उपकरण वितरण भएर प्रयोगविहीन हुन पुगेको पाइएको छ ।