काठमाडौं । श्रीलंकाले अफगानिस्तानविरुद्ध मंगलबार दुई रनको रोमाञ्चक जित निकालेसँगै एसिया कप–२०२३ को सुपर फोर समीकरण पूरा भएको छ ।
पाकिस्तानको गद्दाफी रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानसामु २९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुपर फोरमा प्रवेशका लागि अफगानिस्तानले यो लक्ष्य ३७.१ ओभरमा भेट्टाउनु पर्ने समीकरण बनेको थियो ।
सोहीअनुरुप आक्रामक ब्याटिङ गरे पनि अफगानिस्तानले ३७.४ ओभरमा सबै विकेट गुमाएर २८९ रनमात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्धको यो जितसँगै श्रीलंका समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सुपर फोरमा प्रवेश गरेको हो ।
यो नतिजासँगै प्रतियोगिताको सुपर फोरमा पुग्ने चारै टिमको टुंगो लागेको छ । सुपर फोरमा प्रतियोगिताको समूह ‘ए’बाट पाकिस्तान र भारतले स्थान बनाए । समूह ‘ए’मा रहेको नेपाल भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो ।
यस्तै, समूह ‘बी’बाट श्रीलंका र बंगलादेशले सुपर फोरको यात्रा तय गरे । समूहका दुवै खेलमा हार बेहोरेको अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो ।
सुपर फोरमा अब चारवटै टिमले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछन् । सुपर फोरका खेलहरु आजदेखि नै सुरु हुनेछ ।