काठमाडौं । कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन् ।
परिवार सहमत भएपछि बस्नेतको भक्तपुरको सूर्यविनायकस्थित काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम थालिएको भक्तपुर प्रहरीका प्रवक्ता (डीएसपी) वसन्त पाठकले जानकारी दिए ।
बलात्कार आरोपमा बालसुधार गृह भक्तपुरमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमलको ३ भदौमा मृत्यु भएको थियो । सुधार गृह प्रशासनको कमजोरीका कारण कमलको मृत्यु भएको भन्दै परिवार विरोधमा उत्रिएका थिए ।
उनको शवसमेत परिवारले बुझ्न मानेका थिएनन् । तर, सोमबार सहमतिपछि भने परिवारका सदस्य पोष्टमार्टम गर्न तयार भएका हुन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा बनेको समितिले कमलको परिवारलाई क्षतिपूर्तिको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने भएपछि सहमति भएको हो ।
कमलको मृत्यु प्रकरणले उग्ररुप दिएपछि बाल सुधार गृहका अन्य बालक तोडफोडमा उत्रिएका थिए । ४ भदौमा सुधार गृह तोडफोड गरेर २५८ जना बालक सुधार गृहबाट भागेका थिए ।
उनीहरूमध्ये पाँचजना अझै फरार छन् । नियन्त्रणमा लिएका मध्ये ५७ जना बालकलाई भने काठमाडौं बाहिरको सुधार गृहमा सरुवा गरिएको छ ।