site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली बजारमा दैनिक ४० किलोसम्म सुनको माग छ, राष्ट्र बैंकले दिन्छ १० किलो, कसरी हुन्छ माग पूरा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्येक दिन सयौं मानिस ढिक्का सुन खरिद र सुनका गहना बनाउन सुन पलस जान्छन् ।  कुनै पनि दिन यस्ता ग्राहक सुन अभावका कारण खाली हात फर्किनु पर्दैन ।  तर, नेपाल राष्ट्र बैंकले दैनिक उपलब्ध गराउने सुन र बजारमा दैनिक सुनको माग हेर्दा दैनिक धेरै ग्राहक सुन अभावका कारण फर्कनु पर्ने हो । तर त्यस्तो भएको पाइँदैन । 

राष्ट्र बैंकले सुन व्यवसायीलाई दैनिक १० केजी सुन उपलब्ध गराउँछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अचेल नेपाली बजारमा दैनिक सुनको माग १५ देखि २० किलोसम्म रहेको छ ।

अहिले सुनका गरगहना बनाउने समय होइन, त्यो समय अब आउन लागेको छ । अर्थात् तीज, दसैं, तिहारजस्ता ठूला चाडको समयमा सुन खरिद गर्नेहरु बढी हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थात् जति सुन राष्ट्र बैंकले उपलब्ध गराउँछ त्यसको दुई गुणा बढी सुनको माग बजारमा रहेको छ ।  मागको आधा सुनमात्र राष्ट्र बैंकले उपलब्ध गराउँदा पनि ग्राहक भने खाली हात फर्किनु पर्दैन । ग्राहकको माग कसरी पूरा गरिन्छ ? 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले बाह्रखरीसँग भन्छन्, “बजारको माग हामीले स्टकमा रहेको सुनबाट पूरा गरिरहेका छौं ।”

Global Ime bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको माग अझ घटेको हो ।  खासगरी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेपछि बजारमा सुनको माग घटेको उनी बताउँछन् । 

“बजार बढ्नु पर्ने हो तर बढेको छैन । व्यवसायी चिन्तित भएका छन् । जनताको क्रयशक्ति कमजोर हुँदा सुनको माग नबढेको हो,” पूर्वअध्यक्ष तेजरत्नले भने ।  तर राष्ट्र बैंकले उपलब्ध गराएको सुनले बजारको माग भन्ने धान्न नसकिने उनी स्वीकार गर्छन् । 

तीज, दसैं, तिहार, विवाहका सिजनमा त नेपालमा दैनिक ४० किलोसम्म सुनको माग हुने गरेको छ ।  तीज नजिकिँदै छ । अबका केही दिनमा सुनको माग ह्वात्तै बढ्ने अध्यक्ष माणिकरत्न बताउँछन् । 

“नेपालमा सुनको माग बढी भयो, आयात कम भयो । आयात बढाएर बजारको माग पूरा गर्नुपर्छ,” अध्यक्ष माणिकरत्नले भने । 

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना साउनमा २२५.३३५ केजी सुन नेपालले आयात गरेको छ ।  अर्थात् दैनिक ७.०४ केजी सुन नेपाल भित्रिएको छ ।  गत साउनमा सुन आयात गर्दा एक अर्ब ८६ करोड ३७ लाख ४३ हजार रुपैयाँ विदेशिएको छ ।  

गत आर्थिक वर्ष २०७९–८० मा नेपालले ४५ अर्ब ७ करोड १ लाख २९ हजार रुपैयाँमा ३ हजार ५४२.४१ किलोसुन आयात गरेको थियो । 

गतवर्ष  औषतमा दैनिक ९.७० किलो सुन नेपाल भित्रिएको देखिन्छ । कोरोना महामारीअघि राष्ट्र बैंकले दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँथ्यो ।  चाडबाडको समयमा पाँच केजी थप गरी दैनिक २५ किलोसम्म सुन उपलब्ध हुन्थ्यो ।

कोरोना महामारी सुरु भएपछि मन्त्रिपरिषद्को बैठकले घटाएर दैनिक १० किलो उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि यो निर्णय फेरिएको छैन । 

“अहिले राष्ट्र बैंकले जति सुन दैनिक उपलब्ध गराउँछ त्यसले काठमाडौंको न्युरोडका व्यवसायीलाई मात्र पुग्छ । बाँकी ७६ जिल्लाका सुन व्यवसायीलाई आवश्यक पर्ने सुन कहाँबाट ल्याउने ?,” महासंघका पूर्वअध्यक्ष तेजरत्नले बाह्रखरीसँग भने । 

के तस्करीको सुन नेपाली बजारमै पनि खपत हुन्छ ? 

सरकारले उपलब्ध गराउने सुनले नेपाली बजारको माग धान्दैन ।  तर पनि बजारमा कहिल्यै सुन अभाव हुने गरेको छैन । सुन खरिद गर्न गएकाहरु खाली हात फर्कनु पर्दैन ।  मागअनुसार सुन उपलब्ध छैन भनिन्छ तर सुन पसल बढेका बढ्यै छन् । 

नेपाली बजारको २५ प्रतिशत माग ‘रिसाइक्लिङ’ (पुराना गरगहना) सुनले धान्ने गरेको पूर्वअध्यक्ष तेजरत्न बताउँछन् ।  बाँकी ७५ प्रतिशत सुनको मागमा भने समस्या छ ।

“बजारमा सुनको माग र अभाव छ भने आपराधिक क्रियाकलाप गर्नेहरु सलबलाउँछन् । नेपाली बजारको सुनको माग गलत बाटोबाट पूर्ति भइरहेको छैन भन्न सकिँदैन । तर यसमा हामीलाई यकिन भने छैन,” पूर्वअध्यक्ष तेजरत्नले भने । 

नेपालमा प्रत्येक वर्ष ठूलो मात्रामा तस्करी भएको सुन बरामद हुने गरेको छ । सुन बोक्ने भरियाहरु पक्राउ परे पनि सुनको मालिक भने पक्राउ परेका छैनन् ।  नेपालमा बरामद तस्करीको सुन भारत लैजाँदै गर्दा बरामद गरिएको बताइन्छ । 

तर यस्तो सुन नेपालमै खपत हुने गरेको धेरैको आशंका छ ।  अनुसन्धानमा संलग्न अधिकारीहरु पनि अवैधरुपमा नेपाल भित्र्याइएको सबै सुन भारत पुग्नेमा आशंका व्यक्त गर्छन् ।

“सबै सुन भारत नै जान्छ भन्ने देखिएन,” स्रोतले भन्यो, “नेपाली बजारमा पनि सुन खपत हुने देखियो । किनकि नेपाली बजारमा दैनिक हुने सुनको कारोबार र आयात हुने परिमाण हेर्दा नै तथ्यांक स्पष्ट हुन्छ ।”

नेपाली बजारको मागभन्दा आधामात्र सुन राष्ट्र बैंकले उपलब्ध गराउँदा पनि बजारमा सुनको अभाव नहुनुले यसैको संकेत गर्छ । 

“नेपालको बजारमा सुनको माग छ । नजिकैका देशमा सुन छ । यस्तो बेला सरकारले मागअनुसारको सुन उपलब्ध नगर्दा दोस्रो माध्यमबाट कसैले उपलब्ध गराइरहेको हुन सक्छ । सरकारले मागअनुसारको सुन उपलब्ध गरे यस्ता गलत बाटो रोज्नेहरु आफैँ हराउँछन्,” उनले भने । 

पाँचवर्षमा २४६ किलोभन्दा बढी अवैध सुन बरामद

नेपाल प्रहरीले पछिल्लो पाँच वर्षमा २४६ किलोभन्दा बढी अवैध सुन देशका विभिन्न स्थानबाट बरामद गरेको छ ।  नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०८०–८१ को साउनसम्मको अवधिमा उक्त अवैध सुन बरामद गरिएको हो ।

पछिल्लो पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट एक अर्ब ९२ करोड ३१ लाख ६२ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा गत साउन २ गते बरामद गरिएको करिब ६१ किलो सुनको राजस्व जोडिएको छैन । 

अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा उक्त अवधिमा ४०० जनाभन्दा बढी पक्राउ परेका छन् ।  आर्थिक वर्ष २०७९–८० मा प्रहरीले २०.६५,  २०७८–७९ मा ३१.३७, २०७७–७८ मा ३७.७२, २०७६–७७ मा ३४.३६ र २०७५–७६ मा ६०.९१ किलो अवैध सुन बरामद गरिएको थियो । 


आठ वर्षमा नेपाल भित्रियो दुई खर्ब ३५ अर्बभन्दा बढीको सुन

पछिल्लो आठ वर्षमा विभिन्न देशबाट नेपालमा २ खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको छ ।  भन्सार विभागका अनुसार उक्त रकममा ३९ हजार ९१५.९ किलो सुन नेपाल भित्रिएको छ । यो आँकडा वैध रुपमा नेपाल भित्रिएको सुनको मात्र हो । 

आर्थिक वर्ष २०७२–७३ देखि २०७९–८० सम्म उक्त सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।  यसमा ढिक्का सुन, कच्चा सुन र सुनका गहना सबै जोडिएको छ । 

गत आर्थिक वर्ष २०७९–८० मा ४५ अर्ब ७ करोड १ लाख २९ हजार रुपैयाँ, २०७८–७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ, २०७७–७८ मा २७ अर्ब ७१ करोड २ लाख २६ हजार रुपैयाँ र २०७६–७७ मा १३ अर्ब ६९ करोड ६८ लाख ७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७५–७६ मा ३४ अर्ब ६३ करोड ७७ लाख ४८ हजार रुपैयाँ, २०७४–७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६९ हजार रुपैयाँ, २०७३–७४ मा २३ अर्ब २३ करोड १६ लाख २९ हजार रुपैयाँ र २०७२–७३ मा १६ अर्ब ७ करोड ९५ लाख १५ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । 

नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाइटेड अरब इमिरेट् (युएई), टर्की र स्वीट्जरल्यान्डबाट आउने गर्छ । 

के नेपालबाट भारतमा सुन तस्करी हुन्छ ?

नेपालमा जति पनि तस्करीको सुन बरामद गरिन्छ त्यो भारत लैजाने क्रममा बरामद गरिएको बताइन्छ । बेलाबखत केही नेपालीहरु भारतका सहरमा ठूलो परिमाणको सुनसहित पक्राउ पर्ने पनि गरेका छन् । 

चीनपछि विश्वको दोस्रो ठूलो सुनको बजार भारत हो । भारतले आर्थिक वर्ष सन् २०२०–२१ मा ३४.६२ बिलियन अमेरिकी डलरको सुन आयात गरेको थियो ।  आर्थिक वर्ष २०२१–२२ मा भारतमा सुन आयात ३३.३४ वृद्धि भयो । 

उक्त वर्ष भारतमा ४६.१४ बिलियन अमेरिकी डलरको सुन वैधानिक रुपमा भित्रिएको थियो । भारतीय अर्थमन्त्रीले गत डिसेम्बरमा सार्वजनिक गरेको ‘स्मग्लिङ इन इन्डिया २०२१–२२’ प्रतिवेदनमा उक्त वर्ष भारतमा ८३३ किलो तस्करीको सुन बरामद भएको उल्लेख छ ।

अप्रिल २०२१ देखि मे २०२२ सम्मको अवधिमा भारतका विभिन्न सहरमा भएका १६० वटा घटनामा तस्करीको ८३३ किलो सुन बरामद भएको थियो ।  जसको मूल्य ४ अर्ब ५ करोड ३५ लाख भारतीय रुपैयाँ थियो । 

अप्रिल २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ६०४ केजी अवैध सुन बरामद गरिएको थियो । सोही अवधिमा दिल्लीमा ३७४ केजी, चेन्नेईमा ३०६ किलो र हैदराबादबाट १२४ किलो अवैध सुन बरामद भएको थियो । 

कोरोना महामारीभन्दा अघि आर्थिक वर्ष सन् २०१९–२० मा दिल्लीबाट ४९४ किलो, मुम्बइबाट ४०३ किलो र चेन्नेइबाट ३९२ किलो तस्करीको सुन बरामद गरिएको थियो ।  वर्ल्ड गोल्ड काउन्सिल (डब्लूजीसी)को प्रतिवेदनअनुसार सन् २०२२ मा भारतमा सुनको तस्करी ३३ प्रतिशतले बढेको छ । 

भारतमा अवैध रुपमा भित्रिएको सुनमध्ये मात्र २ प्रतिशत बरामद हुने गरेको दाबी डब्लूजीसीको छ ।  भारतले प्रत्येक वर्ष ९०० टनभन्दा बढी सुन आयात गर्ने गरेको छ । भारतमा ३४० टनभन्दा बढी सुन तस्करीको माध्यमबाट आउने गरेको छ । 

‘स्मग्लिङ इन इन्डिया २०२१–२२’ प्रतिवेदनमा उक्त वर्ष भारतमा तस्करी भइ आएको सुनमध्ये ३७ प्रतिशत म्यानमार हुँदै आएको उल्लेख छ ।  भारतमा सो वर्ष बरामद गरिएको अवैध सुनमध्ये ७३ प्रतिशत म्यानमार र बंगलादेश हुँदै आएको थियो । 

चीन र हङकङबाट ठूलो मात्रामा सुन तस्करी भई भारत आउने गरेको प्रतिवेदनमा जनाइएको छ ।  प्रतिवेदनअनुसार नेपालबाट भारतमा निकै सानो मात्रामा मात्र सुन तस्करी भई जाने गरेको छ । 

अब के ? 
सुन व्यवसायीहरुका अनुसार अहिलेको बजारको माग दैनिक २० किलो सुन मान्ने हो भने पनि वार्षिक ७ हजार ३०० किलो सुन नेपालमा खपत हुने देखिन्छ । सरकारले उपलब्ध गराएको कोटालाई आधार मान्दा नेपालको बजारमा वैधानिक रुपमा एक वर्षमा ३ हजार ६५० किलो सुन मात्र जान्छ ।  

यो तथ्याङ्कले स्पष्ट देखाउँछ– नेपालको बजारमा एक वर्षमा कम्तीमा त्यति नै मात्रामा (३ हजार ६५० किलो) तस्करीको सुन पनि जान्छ ।  भारतको प्रतिवेदन र नेपालभित्र सुनको मागले स्पष्ट पार्छ– तस्करी भई आउने केही सुन नेपाल भित्रै खपत हुनेगर्छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य नेपालमा हुने सम्भावित अवैध सुनको कारोबारलाई रोक्ने एउटै उपाय देख्छन्–सरकारले व्यवसायीलाई दैनिक उपलब्ध गराउँदै आएको सुनको कोटा बढाउने । 

कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा झैँ दैनिक २० किलो सुन उपलब्ध गराए धेरै समस्या समाधान हुने उनको विश्वास छ ।  केही दिनअघि मात्र महासंघको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटी सुनको कोटा बढाउन अनुरोध गरेको थियो । 

त्यसअघि बजेट अगावै र मौद्रिक नीति आउनु अघि पनि महासंघको टोलीले यसै विषयमा सरकारको ध्यानाकर्षण गरेको थियो ।  “हामीले जति अनुरोध गरे पनि सरकारले हाम्रो माग सुनेको छैन । बजेट, मौद्रिक नीति केहीमा पनि हाम्रो माग सम्बोधन भएन । सरकारले हामीलाई कि त मागअनुसारको सुन उपलब्ध गर्नुपर्‍यो होइन भने सटर बन्द गर भन्नुपर्‍यो,” पूर्वअध्यक्ष तेजरत्नले भने । 

बजारको मागलाई सम्बोधन नगर्ने हो भने गलत बाटोबाट सुन पूर्ति गर्नेहरु सलाबलाई रहने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय