
काठमाडौं । अमेरिकी ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा रहेका सम्भावित लाखौं आप्रवासीहरूको शरणार्थी दाबी खारेज गरी उनीहरूलाई तत्काल देशनिकाला गर्ने योजना बनाइरहेको खुलासा भएको छ ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको व्यापक आप्रवासन कारबाहीको हिस्सा र ट्रम्प प्रशासनले आप्रवासीहरूलाई अमेरिकामा संरक्षण प्राप्त गर्नबाट रोक्न गरेको शृङ्खलाबद्ध कदमहरूको पछिल्लो कदम भएको दुई सरकारी स्रोतहरुलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
आप्रवासन सम्बन्धी व्यापक पक्राउ गर्नुपर्ने दबाबमा रहेका संघीय अधिकारीहरूको बीचमा प्रशासनका अधिकारीहरूले चुपचाप धेरै व्यक्तिहरूलाई देश निकालाको लागि योग्य बनाउने प्रयासमा काम गरिरहेको बताइएको छ ।
यस सन्दर्भमा निशाना बनाइएका व्यक्तिहरू गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेर पछि शरणार्थीको लागि आवेदन दिएका रहेको स्रोतहरूले सीएनएनलाई बताएका छन् ।
यसपछि उनीहरूको शरणार्थी सम्बन्धी मुद्दाहरू बन्द हुने अपेक्षा गरिएको छ । यसले उनीहरूलाई देश निकालाको जोखिममा पार्नेछ । यसले लाखौं शरणार्थी आवेदकहरूलाई प्रभावित गर्न सक्छ ।
पछिल्लो दशकमा, अमेरिकी नागरिकता र आप्रवासन सेवा(यूएससीआईएस) मा शरणार्थीको लागि आवेदन दिने अधिकांश आवेदकहरूले आफूले कसरी अमेरिका प्रवेश गरे भन्ने जानकारी स्वयम् प्रदान गरेका छन् ।
तीमध्ये करिब २५ प्रतिशतले गैरकानुनी रूपमा प्रवेश गरेको बताएका थिए ।
सन् २०२३ मा शरणार्थीहरूको विश्लेषण गर्ने एक संघीय प्रतिवेदनअनुसार, यो संख्या कम्तीमा दुई लाख पचास हजार पुग्छ । बाँकी व्यक्तिहरू विभिन्न भिसाहरू मार्फत कानुनी रूपमा प्रवेश बिन्दुबाट अमेरिका प्रवेश गरेका थिए ।