site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रकोपको रूप लिँदै डेंगी, नियन्त्रणमा कसको के भूमिका ?

काठमाडौं । नेपालमा तीन दिनमा ७८१ जना डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार २७ जुलाइदेखि २९ सम्म सो संख्यामा संक्रमित थपिएका हुन् ।

जनवरीयता विभिन्न ७० जिल्लामा पाँच हजार ४३४ जनामा डेंगी पुष्टि भएको छ । जसमा तीन हजार ६२६ जना जुलाईमा मात्रै थपिएको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

पछिल्लो दुई महिनायता सुनसरीको धरान उपमहानगरपालिकामा मात्रै दुई हजार ३५३ जना संक्रमित भएका छन् । धरानमा आठजनाको डेंगीका कारण मृत्यु भएको उपमहानगरपालिकाको तथ्यांक छ ।

ईडीसीडीमा भने हालसम्म चारजनाको मात्रै मृत्यु भएको तथ्यांक छ । सुनसरी, धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।

धरान कसरी बन्यो डेंगीको 'हटस्पट' ?

सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगी संक्रमण पोजिटिभ देखिने दर उच्च हुँदै गएको छ । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् ।

धरानमा जेठ पहिलो सातादेखि नै डेंगी संक्रमण देखिए पनि जेठ अन्तिम सातायता समुदायस्तरमा फैलिएको थियो । यसमा भण्डारण गरी राखिएको पानी र अव्यवस्थित सुँगुर/बुङ्गुर पालन मुख्य कारक रहेको धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेता बताउँछन् ।

“नगरभित्र एक/दुई दिन बिराएर मात्रै पानी आउँछ । दैनिक प्रयोग गर्न पानी भण्डारण गर्नैपर्ने बाध्यता छ,” मेहेताले बाह्रखरीसँग भने, “अर्को कुरा घरसँगै जोडेर सुँगुर, बुङ्गुर पलिएका छन्, यसले फोहोर र लामखुट्टे बस्ने वातावरण झनै बनाएको छ ।”

अधिकांश संक्रमित सिकिस्त नभएका कारण घरमै रहेको र केही  सिकिस्त बिरामीलाई  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको उनले बताए । डेंगी नियन्त्रणका लागि उपमहानगरले स्वास्थ्य कार्यालयसँगको समन्वयमा सर्च एन्ड डिस्ट्रोय अभियान चलाइरहेको छ ।

गएका वर्षहरुजस्तै फैलिएला डेंगी ?

एक महिनामा तीन हजार बढी संक्रमित भएपछि जनस्तरमा डेंगी अघिल्लो वर्षजस्तै फैलिएला भन्ने त्रास देखिन्छ । सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा बढी डेंगी संक्रमण फैलियो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सो एक वर्षमा ५४ हजार ७७४ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो संख्या नेपालमा डेंगी सुरु भएयता (सन् २००४) कै सबैभन्दा बढी हो । त्यस्तै सन् २०२२ मा डेंगी संक्रमणबाट ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

ईडीसीडीले भने यो वर्ष संक्रमण कम हुने आकलन गरेको छ । “गतवर्ष देखिएका जिल्लाहरुमा संकमण दर कम देखिएको छ, त्यसैले कुल संख्या गतवर्षभन्दा कम होला भन्ने हाम्रो आकलन हो,” डा. गोकर्ण दाहाल भन्छन् ।

डेंगी संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केसहरु देखिँदै गएकाले संक्रमण समुदायस्तरमा नफैलेला भन्ने अवस्था नरहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

“आगामी वर्ष डेंगीको जोखिम झनै बढ्दो देख्छु म । किनभने, लामखुट्टेको वृत्तिविकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइँसराइ गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो हाम्रो लागि अझ जटिल अवस्था हुन सक्छ,” उनी भन्छन्, “हरेक दुई/तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्ष पनि डेंगीको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।”

नियन्त्रणका लागि सरकार के गर्दै छ ?

सरकारले डेंगीलाई महामारीको रुपमा फैलिन नदिन डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसले तीनै तहका सरकार र नागरिक स्तरबाट रोग नियन्त्रणका लागि के भूमिका खेल्ने भन्ने स्पष्ट पारेको छ ।

ईडीसीडीका प्रमुख डा. रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरिएको बताए ।

“डेंगीको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौँ । यो वर्षको कार्ययोजना बनिसकेको छ,” उनले भने, “कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने, उपचारमा केके गर्ने, स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौँ ।”

मरासिनीले थपे, “कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौँ । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौँ ।”

नियन्त्रणका लागि सरकार र नागरिकको भूमिका के ?

डेंगी संक्रमणको अवस्था भयावह हुन नदिन सरकार र समुदाय दुवैको तर्फबाट सन्तुलित प्रतिकार्य आवश्यक हुने जनस्वास्थ्य विज्ञहरुको अनुभव छ । महामारी नियन्त्रणमा सरकार वा समुदाय मात्रैको प्रयास पर्याप्त नहुने तर्क छ जनस्वास्थ्यविद् डा. शरद वन्तको ।

“जनस्तरबाट हामीले गर्नसक्ने सरसफाइ, लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, टोकाइबाट बच्नेजस्ता ससाना तर प्रभावकारी उपाय अपनाउन सकिन्छ । तर, किटनाशक प्रयोग गर्ने, समुदायस्तरमा लामखुट्टे नष्ट अभियान नै चलाउनेजस्ता काम त सरकारको तर्फबाट हुनुपर्‍यो नि,” डा. वन्त भन्छन् ।

निर्देशन दिने मात्रै नभएर नियन्त्रणका लागि बनेका नियम र कार्ययोजना कार्यान्वयनको वातावरण बनाउने कुरामा सरकारको सबैभन्दा ठूलो भूमिका हुने उनको तर्क छ । हरेक महामारी फैलिन नदिन सरकार र नागरिकस्तरको संयोजित र सन्तुलित पहल जरुरी रहेको डा. वन्त बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro