site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमान् मदनपुरस्कारज्यूका गथासा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

निधारको सिलोटमा यो कुनादेखि ऊ कुनासम्म अटुट रूपमा कोरिएको गणितको सरलरेखाजस्तो झप्पु सिंको बाक्लो आँखीभौँ एक्कासि बुरुकबुरुक उफ्रियो ।

ज्यादै खुसी भएका बेला मात्रै उनको यो सरलरेखा यसरी थरथरिन्छ । उनको भित्री खुसीको छाल तत्कालै मुखको बाँध फुटालेर बाहिर छताछुल्ल भयो, “नमस्कार, मदनपुरस्कारज्यू !”

पेटीमा नाङ्लो गुड्दै गरेको त्यो वस्तु टक्क अडियो र अकस्मात् बिस्मात भएझैँ उदेकायो, “ओहो भैया, कता ?”

KFC Island Ad
Dabur Nepal
NIC Asia

झप्पु सिं— तपाईंकै घर, तर तपाईंलाई यहीँ भेट्दा त के खोज्छस् लाटा, पापा नै भैगो !

मदनपुरस्कार— होइन, पापाझैँ मलाई हाम्म गर्ने सुर त छैन !

Royal Enfield Island Ad

झ. सिं.— ठूलाबडाको भुँडीभित्र बडेबडे हर्सपावर जडान गरिएको हुन्छ, फलाम पनि पच्छ । आफ्नो साँघुरो र सामान्य भुँडीले त अचेलको महँगो र दुर्लभ चामलसम्म पचाउन छाडेको छ । म त तपाईंको सानोसानो इन्टरभ्यु लिऊँ भनेर...!

म. पु.— तर आज त मलाई सारै हतार छ । मलाई पुरस्कार दिइने समारोहको समय पनि भयो । झट्टै पुगेर मैले त वितरित हुनु छ ।

झ. सिं.— तर मैले तपाईं प्रदत्त हुनुअघि अन्तर्वार्ता लिन खोजेको ?

म. पु.— हेर फसाद उता घरबाट आधी घण्टा ढिलो गरेर निस्केँ, यता तपाईं जस्ता नामुद व्यक्तिलाई अन्तर्वार्ता दिने लोभ पनि लागिरहेछ । केही छैन, मरेमाथि कात्रो ! ल, तपाईंलाई मात्र पन्ध्र मिनेट दिन्छु । पन्ध्र मिनेट ढिलो हुँदा ‘नेपाल टाइम’ भनेर कटाच्छे हान्नुबाहेक कसले पो के नाप्ला ? फेरि मलाई वितरित गर्ने गण्यमान्यहरू पनि त ‘नेपाल टाइम’ मै आउन पल्केका छन् नि !

झ. सिं.— नभएको समय दिनुभएकोमा धन्यवाद ! तपाईंको गुठीको नाउँ के अरे ?

म. पु.— मदन पुरस्कार गुठी ।

झ. सिं.— यस गुठीका तीन महत्त्वपूर्ण अङ्ग छन् पुरस्कार, पुस्तकालय र प्रकाशन । तपाईं कुनचाहिँ अङ्गसँग सम्बद्ध हुनुहुन्छ ?

म. पु.— जँुगा !

झ. सिं.— के जुँगा !

म. पु.— अँ जुँगा, छोरो मान्छेको पाइन जुँगा हो, गुठीको पाइन म हुँ, तसर्थ म जुँगा हुँ । समाजमा यस गुठीको यत्रो मान एक्लै मबाट छ ।

झ. सिं.— जुँगाको कुरो निस्क्यो, जुँगाकै कुरो सोधूँ ? तपाईंका जुँगा पोरसम्म अघोर ठाडा थिए, अहिले किन घोप्टिएका छन् ?

म. पु.— पोरसम्म सबै मलाई ‘नेपालको नोबेल प्राइज’ भन्थे, देशको म मात्र सबभन्दा ठूलो पुरस्कार थिएँ । नगद दस हजार रुपियाँ । यसपालि एक लाखको अर्को पुरस्कार जन्मिसकेको छ, तसर्थ मेरो जुँगा स्वभावतः लोप्रिने नै भयो ।

झ. सिं.— कुरो त्यसो रहेछ, मैले त घोप्टे जुँगा पाल्ने अचेलको फेसनतर्फ ढल्किनुभएछ क्यारे भन्ने पो ठानेको थिएँ । अँ, तपाईंलाई आफ्नो वितरणबारे केही भन्नु छ ?

म. पु.— निर्णायकमण्डलीका पञ्चभलाद्मीले गरेको निर्णय, मैले के भन्ने ? म त जसका पछि लाइदिन्छन्, नयाँ बेहुलीझैँ लुरुलुरु जान्छु ।

झ. सिं.— किन हो निकै टर्रो कुरो गर्नुभयो नि ?

म. पु.— कुरै यस्तै हो ! ‘अमेरिकी जनताको नेपाली जनतालाई उपहार नबेचियोस् ।’ भन्ने लेबिल टाँसिएका जिनिस त राम्रो वितरण नभएर बजारमा जत्ति बिक्री हुँदै छन् भने म लेबिल नटाँसिएकाको के कुरो !

झ. सिं.— आजसम्म तपार्इं कस्ताकस्ता लेखकका फेला पर्नुभो त ?

म. पु.— २०१२ देखि आजसम्म कहिले म मसिना पोस्तक लेख्ने इतिहासकार, कहिले मोटो पोस्तक लेख्ने पत्रकार, कहिले खुद्रा कविता कोर्ने कवि, कहिले थोक कविता थुपार्ने महाकवि, कहिले अर्काको जीवनी उतार्ने लेखक, कहिले भाषासम्बन्धी रूखो लेख लेख्ने निबन्धकार, कहिले टिपनटापन सोहोर्ने निबन्धकार, कहिले कुथुङ्री कथ्ने कथाकार, कहिले उपन्यास जन्माउने उपन्यासकार र कहिले यात्रावर्णन लेख्ने लेखकका हात परेँ ।

झ. सिं.— कुनै पालि ठीक लेखकका हात परिनँ भन्ने तुस पनि छ कि ?

म. पु.— यस्तो तुस नै बढी छ, ठीक ठाउँमा परेँ भन्ने खुसी सारै थोर छ ।

झ सिं.— कहिलेकहिले त्यस्तो खुसी लाग्यो, खोलेर बताउनुहुन्छ कि ?

म. पु.— यो यस्तो गोप्य हो जसलाई म आजन्म खोल्ने छैन ।

झ. सिं.— यो गोप्य खोल्दा तपाईंमाथि कारबाही चलाइन्छ र ?

म. पु.— कारबाहीको त मलाई डरै छैन, किनभने मेरो अस्तित्व छउन्जेल मात्र त्यस व्यक्तिको नाउँ अमर छ, जसका सम्झनामा मेरो थापना भएको छ । म सकिएँ भने उसको अस्तित्व पनि बिलाउनेछ ।

झ. सिं.— त्यो व्यक्ति को हो ?

म. पु.— यो त मेरो नाउँले जनाउन्न र !

झ. सिं.— कसरी ?

म. पु.— मेरो खास नाउँ पुरस्कार मात्रै हो । ‘मदन’ चाहिँ सो व्यक्तिको नाउँ हो ।

झ. सिं.— ए, हो त । स्व. मदनशमशेरका सम्झनामा तपाईंलाई पुरस्कार बनाएर थापिएको हो । ‘म सकिएँ भने उसको अस्तित्व पनि बिलाउनेछ’ भन्नुभएको बल्ल पो बुझेँ ।

म. पु.— बुझ्ने काममा तपाईं पनि खप्पिस हुनुहुन्छ ।

झ. सिं.— तपाईं जति छैन । अँ, अब अर्को प्रश्न । के तपाईंद्वारा पुरस्कृत भएपछि लेखकहरूले प्राप्त धनको उचित उपयोग गरेका छन् ?

म. पु.— केहीले मात्रै, नत्र भने कसैले कुखुरा पाल्ने मनसुवा गरे, कसैले रक्सीमै सकिदिए, कसैले घरजग्गा किन्न ब्याङ्कमा दाखिल गरे, कसैले... यस्तैयस्तै !

झ. सिं.— के यसपालि उचित व्यक्तिलाई तपाईंद्वारा सम्मानित गरिएको छ त ?

म. पु.— यो पनि मसँगै चिहानमा पुरिने गोप्य हो । अब अबेर गरेँ भने अरूलाई त त्यति पीर पर्दैन, तर मलाई थाप्न बसेको बिचरो लेखक भने निकै फिटफिटिनेछ । लौत, बिदा !

झ. सिं.— बिदा !

यति वचन बोलेर झप्पु सिं विश्रामका मुद्रामा ढल्किए । लेख्ने काम सकेर मैले चोर आँखाले उनीतिर हेरेँ, उनका कानका भुत्ला अझै तल झरेका थिएनन् । कुरा गर्ने अमूल्य अवसर अझै बाँकी नै रहेको देखेर मैले सहर्ष मौका छोपेँ । मैले बिस्तारै खासखुस गरेँ, “श्रीमान् ! यी अन्तर्वार्ताहरू सँगालेर पछि पुस्तकाकार प्रकाशित गरी पुरस्कारका लागि पेस गर्दा कसो होला ?”

“वत्स मोराश, पुरस्कार पुरस्कार हो र लेखन लेखन हो । लेखन र पुरस्कारलाई एउटैमा मिसाउँदा विकृति जन्मिन्छ, सुकृति जन्मिँदैन ।” भन्दाभन्दै अट्टहास गर्न लागे ।

उनको अट्टहासमा खुँडाको तेजिलो धार पनि थियो र गुलाफको मोहक मगमग पनि थियो ।

(शर्माको कृति ‘इन्टरभ्यु स्पेसलिस्ट मि. झप्पु सिं’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro