site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बन्चरेडाँडामा निर्बाध फोहोर विसर्जन
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज निर्बाध रूपमा विसर्जन गरिएको छ । नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा कुनै अवरोध नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोधका कारण यसअघि चार दिनसम्म फोहोर विसर्जन कार्य रोकिएको थियो । हिजोदेखि पुनः नियमित रूपमा फोहोर विसर्जन गर्न थालिएको महानगरको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

हिजो १५२ गाडी फोहोर विसर्जन गरिएको उनले बताए । आज त्यो संख्या २०० को हाराहारीमा पुग्ने उनको भनाइ छ ।

“आज कुनै अवरोध छैन । फोहोर फाल्ने कार्य सामान्य छ,” उनले बाह्रखरीसित भने, “प्रहरीको सहायता पनि लिनुपरेको छैन ।”

शुक्रबार काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई केही स्थानीयले अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको थियो ।

फोहोरको दुर्गन्धले बस्नै गाह्रो भएको, धेरै झिँगा भन्किएको र संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सम्झौता कार्यान्वयन नगरिएको भन्दै स्थानीयले अवरोध गरेका थिए । दुर्गन्ध कम गर्न माटो हालेर पुरिएको र फोहोर व्यवस्थापनका लागि गर्नुपर्ने नियमित कार्य गरिने पुनः प्रतिबद्धतासँगै स्थानीयले अवरोध नगरेको प्रमुख श्रेष्ठले बताए ।

“दुर्गन्ध फैलियो, फोहोर व्यवस्थापन गरिएन, झिँगा भन्कियो भन्ने स्थानीयको गुनासो थियो,” उनले भने, “फोहोर व्यवस्थापनका कार्य नियमित गरिनेछ भनेपछि उहाँहरूले अवरोधन नगर्ने हुनुभएको छ ।”

गएको सोमबारदेखि नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी सडकमा उत्रिएर फोहोरका गाडीलाई अघि बढ्न रोकेका थिए ।

धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङले पनि फोहोर विसर्जनमा आज कुनै अवरोध नगरिएको जानकारी आफूले पाएको बताए ।

नुवाकोट प्रहरीले पनि फोहोर विसर्जन कार्य आज सामान्य रूपमा भइरहेको जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro