site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एक उदास साँझ’मा कवि प्रमोद 
Sarbottam CementSarbottam Cement

प्रमोद प्रधान (२०१५) एक प्रतिनिधि कवि हुन् । ३० को दशकमा उदाएका, चम्किएका प्रतिनिधि कविहरूमध्येका एक सशक्त कवि हुन् । उनका ‘रातभरिका सुस्केराहरू’ (२०३२), ‘विभाजित मान्छे’ (२०४०), ‘एकान्तगीत’ (२०५४) र ‘एक उदास साँझ’ (२०७२) गरी चारवटा कवितासंग्रह प्रकाशित छन् ।

उनका कविताहरू नेपाली कविताका विभिन्न प्रतिनिधिमूलक ग्रन्थमा पनि समावेश छन् । प्रमोदका केही कविताहरू हिन्दी, बंगाली र अंग्रेजी भाषामा पनि अनूदित भएर छापिएका छन् ।

‘प्रश्नहरूको कहतारोमा एउटा बन्दी’, ‘रातसँग प्रश्न’, ‘मैले प्रेम गरेकी केटी !’, ‘विभाजित मान्छे’, ‘जीवन कविताजस्तो किन हुँदैन ?’, ‘कविता र जंगल’, ‘एकान्तगीत’, ‘बादलको कुनै भर हुन्न’, ‘बाँस’, ‘कुरूप अनुहार’ आदि उनका प्रतिनिधि चर्चित कविता हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमोद प्रधान प्रारम्भिक चरणमा कविता लेखनमा सक्रिय भई बीचमा कम लेखेर पछिल्लो समयमा फेरि कवितामा सक्रिय भएका स्रष्टा हुन् । नेपाली साहित्यमा मुख्यतः कवि, समालोचक, अनुसन्धाता र बालसाहित्यकारका रूपमा परिचित र स्थापित भएता पनि उनले गीत, गजल, मुक्तक, हाइकु, कथा, निबन्ध र नियात्रा समेत रचना गरेका छन् ।

उनका कवितासंग्रह ‘एक उदास साँझ’ (२०७२)मा ५५ वटा कविता संगृहीत छन् । ती यसप्रकार रहेका छन्– तिमी लेख, मान्छे, अन्त्यहीन बस्तीहरूमा, एक छिन, प्रश्नहरूको कहतारोमा एउटा बन्दी, सम्भावना मेरो मृत्युको !, चुपचाप, रोप्नुपर्छ यहाँ..., घामपानी घामपानी स्यालको बिहे, विषाक्तताभित्रको एउटा आस्था, एक कोटी सलाईको खोजमा, मेरो देशको कथा सुनेपछि..., म इतिहासको जंगबहादुर हुँ, ए ! सड़क त हिँड्नेहरूका लागि न हो !, एउटा अघोषित युद्ध, साइपाटा : जिन्दगीको, बेड नं. ३८ र एउटा घाइते बिरामी, आक्रमण, पीड़ा, विभाजित मान्छे ।

Global Ime bank

त्यस्तै, अन्य कविताहरूमा रातप्रति केही शब्द, नीलो दह र सेतो रजहाँस, रातसँग प्रश्न, जीवन कविताजस्तो किन हुँदैन ?, स्वतन्त्रता, मृत्युभोज, जाडोको एक बिहान सूर्य र म, रूखजस्तै मलाई..., मैले प्रेम गरेकी केटी !, बिहानीलाई निमन्त्रणा दिने पन्छीहरू, स्मृतिको एउटा गाउँ, बादलको कुनै भर हुन्न, एकान्तगीत, आफ्नै कोठाको शब्दचित्र, अध्यारो र साँझबत्ती, पहिलो जन्मदिनमा छोरीलाई सम्झँदा, काठमाडौं, क्यालेण्डर २०४८, म अर्थात् समय, दृश्यहरू, कविता र जंगल, तीन लघुकविता, जंगल : दुई कविता, बाँस, तिमी र म, अक्षरहरूको जुलुसमा अर्थ हराएपछि, नदी र मानिस, उमेरका सिँढी र पहाडजस्तै पीडा, मोनालिसासँग, आगो, जताततै आगो !, एक उदास साँझ, अतीतगाथा, सँगसँगै, मैनबत्ती र आँधी हुन् ।

प्रमोद प्रधान सरल कविताका रचयिता हुन् । सरल विम्बका सुमधुर कविताद्वारा वर्तमान समयका पीडालाई उनी सहजै व्यक्त गर्न सक्ने खुबी राख्दछन् । समसामयिक विषयलाई लिएर लेखिएका उनका कवितामा समाजको यथार्थको चित्रण पाइन्छ । देशप्रेम, प्रकृतिप्रेम, समयको चिन्ता, स्वतन्त्रता र मानवादी विचार उनका कवितात्मक प्रवृत्तिगत विशेषता हुन् । 

उनका कविताले जीवनको बाह्य आवरण छामेजस्तो देखिए पनि भित्र गहिरो अर्थ बोकेका देखिन्छन् । उनी कठोर समयविरुद्ध तिनै सरल शब्दको विचारले प्रहार गर्दछन् । यस संग्रहको शीर्ष कविता ‘एक उदास साँझ’ एक सुन्दर कविता हो ।  त्यो साँझ र उदासीनताले एकाकीपन, सञ्चारविहीन स्थिति र मनमा उत्पन्न हुने ऐकान्तिक अत्यासलाई संकेत गर्दछ ।

यसरी हेर्दा कतिपय कवितामा दिग्दारी, व्यर्थता, मनस्ताप र निराशाले छोपेका क्षणहरू छन् । कविता यसप्रकार रहेको छ– 

एक उदास साँझ
थाकेको अनुभव गर्दै छ दिन... लोलाएका छन्
उसका परेलीहरू
सुन्ने इच्छा पनि छैन यतिखेर कुनै सुमधुर संगीत
गुनगुनाउने रहरलाई
बन्धकी राखेको छ उसले अहिले...
मिर्मिरेसँगै देखिएका उत्साह र आह्लादको बाढी 
सपनाहरूलाई बगाएर शान्त भएको छ ।
र, ठिक यसै बेला 
घर फर्किरहेका गाईका बथानसँगसँगै 
क्षितिजपारिबाट 
झरिरहेछ साँझ विस्तारै 
गोरेटा, 
गल्ली, सडक हुँदै आँगनहरूमा
र, पसिरहेछ
घरका प्रत्येक कोठा–चोटाहरूमा
र, कुनाकाप्चाहरूमा झ्याल र ढोकाहरूबाट... 
छायाँहरू पूर्वतिर लम्किरहेछन् र
क्रमशः हराउन थालेका छन्
यस घडी
साथ नछाड्ने बाचा गरेका छायाँ पनि मसँग छैन
हराएका छन् आँखाबाट सपनाहरूको जुलुस ।
हराएका छन् ओठबाट विद्रोहको स्वर ।।
हराएका छन् मनबाट आगोका फिलुंगा ।।। 
र, यो झरेको साँझ
निस्तब्ध,
निश्चल र
निरीह फैलिरहेछ...
सूर्योदयसँगै थालिएका
दिनचर्याका भारीहरू फुकाउँदै एकालापमा व्यस्त छ साँझ ।
कति गाह्रो छ हिसाब–
आफैसँग बात मारिरहेछ र 
खोजिरहेछ आफ्नै दिनको हिसाब... 
क्यालकुलेटरबाट पनि मिलाउन सकिन्न । 
कति साह्रो छ जीवन– 
कम्प्युटरबाट पनि सम्हाल्न सकिन्न ।।
चिया गिलासको तातो बाफसँगै 
उडिदिए हुन्थ्यो यो साँझ

सिलिङका माकुरा – जालहरूलाई हेर्दाहेर्दै 
बितिदिए हुन्थ्यो यो साँझ 
जीवनको हिसाबकिताब गर्ने रहर पटक्कै छैन 
यो साँझमा– मायाप्रेमका कुरा गर्ने चाहना रत्तिभर छैन
यो साँझमा–
नाता कुटुम्बहरू–
साथीसंगीहरू–
परिचित जनहरू– 
कसैलाई सम्झने अलिकति पनि मन छैन ।
कोठाबीचको
टेबलमा बलिरहेको
एक्लो, नितान्त एक्लो मैनबत्तीझैँ
र,
उदास छु म
यो साँझ पनि ।

यसरी जीवनको आरोह–अवरोहका एक साँझलाई उदास र दिक्कलाग्दो समयका रूपमा कवितामा चित्रण गरिएको छ । यहाँ समेटिएका सबै कविताहरू आफैँले भोगेका अस्वीकृत समयविरुद्धका आक्रोश हुन् । ती बन्धन र वर्जनाविरुद्धका संकेत हुन् ।

समय सधैँ निरंकुुश थियो र स्रष्टा सधैँ थुनिएको बन्दीका रूपमा बाँच्न विवश छ भन्ने अभिप्राय आएका सबै कविताले जीवनको उदासपनको चित्रण गरेका छन् ।

समसामयिक विषयलाई लिएर लेखिएका उनका कवितामा समाजको यथार्थको चित्रण पाइन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय