site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली र कोइरालाबीच लगातारको वार्ताले के संकेत गर्दैछ ? देउवा पनि छन् ‘ट्रयाक टू’ मा 

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व वर्तमान सरकार छ ।  तर, सत्ता गठबन्धनभित्रै सरकार र गठबन्धन पाँच वर्षमा बाँकी रहेको अवधि टिक्ने दाबी र रटान एकातिर बढ्दो छ । 

अर्कातिर ‘वेइटिङ गर्भमेन्ट’को रूपमा रहेको नेपाली कांग्रेस सत्ता गठबन्धन फुटाउने र आफू सत्तामा उक्लने दाउमा छ ।  पछिल्लो समय कांग्रेस नेताहरू नेकपा (एमाले) सँग सत्ता सहकार्य र गठबन्धन हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिडेका छन् । 

यो अभियानमा उभिएका नेता हुन् डा. शेखर कोइराला ।  सत्ताबाट कांग्रेसको बहिर्गमन भएसँगै उनी सार्वजनिक मञ्चबाट कांग्रेस–एमाले गठबन्धनको वकालत गर्दै हिँड्न थालेका हुन् । 

वर्तमान राजनीति, राजनीतिक प्रणालीको स्थायित्व र संविधान कार्यान्वयनको दिशामा जाने भए कांग्रेस–एमाले मिल्नुको विकल्प नभएको कोइरालाले तर्क राख्ने गरेका छन् । बटमलाइनमा संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा परिवर्तन पनि उनको अडान छ । 

बाह्रखरीको प्रश्नमा उनी निकट एक नेताले शेखरको अभिव्यक्ति फगत खपतका लागि नभइ दीर्घकालीन राजनीति र स्थायित्वको लागि भएको दाबी गरे । 

शेखरले कांग्रेस एमाले मिल्दा हुन सक्छ भनेर उदाहरण दिइसकेको उनको भनाई छ । कोसी प्रदेशमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा एमाले कांग्रेस गठबन्धन उनले गराएकै हुन् । केन्द्रमा पनि यस्तै परिस्थिति निर्माणका लागि उनी जुटेका छन् । 

ती नेताका अनुसार संवादका लागि कोइरालाले ओलीसँग ४–५ पटक भेट र संवाद गरेका छन् । जसमा पछिल्ला दुई बैठक नितान्त सत्ता गठबन्धन र कांग्रेस–एमाले सहकार्यको विषय केन्द्रित भए । 

गएको बुधबार राति बालकोटमा भएको संवाद यसैलाइ मूर्त रूप दिन भएको ती नेताको दाबी छ । 

“संवाद निरन्तर जस्तै भएका छन् । पछिल्ला २ संवाद नितान्त गठबन्धन बनाउनैपर्छ भनेर भएका हुन्,” उनले भने । 

कोइराला ओलीसँग संवादमा पुग्नुपूर्व प्रत्यक्ष अप्रत्यक्ष रूपमा चरणबद्ध एमालेका नेताहरूसँग वरीयताक्रमअनुसार संवादमा जुटेका थिए ।  ती संवादहरूबाट कम सिट संख्या भएका दलहरूलाई बोकेर सरकार बनाउने पक्षमा एमाले पनि ‘आजित’ भएको निष्कर्षमा ओली पुगेको देखिएको छ ।

“केही दिनको पर्खाइ हो । कांग्रेस एमाले सहकार्य हुने आधार रेखा उहाँले कोरिसक्नुभएको छ,” अर्का एक नेताले दाबी गरे । 

ती नेताका अुनसार सुरूवातमा पार्टी सभापति शेरबहादुर देउवा आफैले एमालेसँग सहकार्यको बाटो तयार गर्न कोइरालासँग आग्रह गरेका हुन् ।  दाबी गरिएअनुसार देउवाले ओली कति समय प्रधानमन्त्री बन्ने र आफूलाई कहिले छाड्ने त्यो पनि निर्क्योल गर्न शेखरलाई भनेका छन् ।  

यता, शेखरबाहेक देउवा आफैले पनि विभिन्न माध्यम र नेतृत्वको प्रयोगबाट एमालेसँग मिलेर कांग्रेस सत्तामा पुग्नेमात्र होइन आफू प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने अडानमा छन् । 

देउवा निकट मानिने केन्द्रीय नेता तथा पार्टी प्रमुख सचेतक रमेश लेखकले ठूला दल मिल्नुपर्छ भन्नु यसैको उपज हो भन्ने बुझाइमा कांग्रेस छ ।  कञ्चनपुर पुगेका लेखकले सोमबार सञ्चारकर्मीहरूसँग मुलुकलाई सही दिशामा लान ठूला दल मिल्नुपर्ने धारणा राखे । जुन जनताको चाहना बन्दै गएको भनाई उनको थियो । 

देउवाले पनि ‘ट्र्याक टु’ वार्ता जारी राखेको स्रोत बताउँछ । “नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ । जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन्,” उनले भने । 

“ओलीपछि मेरो पालो कहिले आउने हो भन्नेमात्र सभापतिज्यूलाई चासो छ,” शेखर निकट ती नेताले भने । 

शेखरको चाहना प्रधानमन्त्री ?

नयाँ समीकरण बनाउन मरिहत्ते गरिरहेका शेखरको चाहना सत्ताको नेतृत्व कि अन्य केही ? यो प्रश्न पार्टीभित्रै छ । 

शेखर निकट मानिएका अर्का नेताका अनुसार यो विषय पार्टीका बैठक र फोरमहरुमा पनि उठ्ने गरेका छन् । ‘देउवालाई वाइपास गरेर प्रधानमन्त्री बन्न शेखर चाहन्छन्’ भन्ने भाष्य निर्माण पार्टीभित्रै भइरहेको ती नेता बताउँछन् । 

शेखर पार्टी संसदीय दलको नेता पनि होइनन् । दलको नेता देउवानै हुन् । यता, महामन्त्री गगनकुमार थापा जसरी भएपनि संसदीय दलको नेता फेरिछाड्ने पक्षमा छन् । भए आफू नभए विकल्पमा शेखरलाई नै अघि बढाएर दलको नेता फेर्ने तयारी उनको छ । उनले सार्वजनिकरुपमै भन्ने गरेका छन् ।

यसकारण नयाँ गठबन्धन बनाएर आलोपालोमा शेखर प्रधानमन्त्री बन्ने दौडमा रहेको विषयलाई नकार्न नसकिने भनाई ति नेताको छ ।  “प्रधानमन्त्री दोस्रो वा तेस्रो कुरा हो । पहिलो कुरा कांग्रेस एमाले गठबन्धन हो र यो बनिछाड्छ,” ती नेता भन्छन् । 

निवर्तमान खेलकुदमन्त्री डिगबहादुर लिम्बु कोइरालाको अभिव्यक्तिलाई सत्ताको लेनदेनसँग मात्र जोडेर हेरे अपूरो हुने बताउँछन् । शेखरमा सभापति देउवाजस्तो सत्तालिप्सा नभएको दाबी गर्दै उनी राजनीतिक स्थायित्व हेरेर नयाँ गठबन्धनका लागि कदम अघि बढाएको दाबी उनको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro