शिलु शर्मा
हुन त मलाई पनि अपरिचित गोरेटोहरूमा
स्वतन्त्र र अञ्जान यात्री बन्न मन थियो
तर पनि
बाटोहरूको लामो जँघार तरेपछि
नियति र दुःखहरूले नजिक बनाएपछि
मुटुले बाटोका ढुंगा नै साथी बनाएपछि
मस्तिष्कले माटोसँगै डोर्याएपछि
कर्मका योगले घनिष्ठ बनाएपछि नै
हो, मैले त्यो गोरेटोको फगत
एउटा बटुवा मात्र हुँ भनेर बिर्सेको ।
थाहा छैन, भोलि कहाँ पुगिन्छ
तर, यात्रामा त आफ्नै लाग्ने रहेछ
नियतिले खोजीखोजी आफ्नो
बनाउन लगाएर
समयले रेटीरेटी छुट्न लगाएर
पुनः
टालेको मन लिएर हिँडेको पनि
धेरैपटक भइसक्यो ।
म फगत सृष्टिकै एउटा बटुवा
जति जोडले हिँडे पनि
जति जोडले कुदे पनि
आराम गर्दै र सुस्ताउँदै पाइला चाले पनि
सारै मन मिल्नेसँग मित्रता गाँसे पनि
सफल र असफल गोरेटोका छालसँग
जीवन साटे पनि
ममताको आँचल छुटेपछि ठूलो भएको
बालकझैँ लड्दै, भित्तो समाउँदै
र, बामे सर्दै जति नै कोसिस गरे पनि
बाटोमा दुरुस्तै देखिने र झुक्याउने दोभानमा
पुगेपछि म अकस्मात् बटुवा नै बन्नेछु ।
भ्रमित मेरा आँखाले यदाकदा भेटिने
बाटोलाई आफ्नो मानिरह्यो
भ्रमित मेरो पाइलाले लामो समय टेकेको
धर्ती आफ्नो मानिरह्यो
भ्रमित मेरो अन्तर्मनले
सालनाल विसर्जन भएको माटोलाई
अत्यन्त निकट मानिरह्यो
तर, म त फगत एउटा बटुवा रहेछु
नियतिले डसेका प्रत्येक पलले
मेरा सोचलाई दिग्भ्रमित बनाउन
खोजेपछि नै हो, मैले आफूलाई
फगत बटुवा मान्न थालेको ।
ईश्वरीय आँचलबाट सृष्टि भएर पुनः त्यहीँ नै
विलीन हुनुपरेपछि
हामी सम्पूर्ण मानव फगत एउटा अञ्जान
बटुवा नै रहेछौँ ।