site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली र लामिछानेसँग प्रधानमन्त्रीको गम्भीर छलफल, छानबिन समिति बनाउन सत्तापक्ष तयार !

काठमाडौं । सहकारीको रकम हिनामिना तथा अपचलन प्रकरणलाई निकास दिन संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल पनि तयार भएको बताइएको छ ।

समिति बनाएर अघि बढे संसद्को गतिरोध अन्त्य हुने अनिमात्र बजेट अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्ष उनीहरूको छ ।  सत्ता गठबन्धनमै आवद्ध दलका एक उच्च नेता समिति बन्ने दिशातर्फ विषय अघि बढिसकेको बताउँछन् । 

तर, कुन मोडालिटी राखेर अघि बढ्ने, समितिको अधिकार क्षेत्र के हुनेलगायत प्राविधिक विषय भने मिल्न नसकेको स्रोत बताउँछ । “समिति बनेरै विषय टुंगिने देखियो । तर, प्राविधिक विषय मिलाउन बाँकी छ,” ती नेताले भने ।

विषय जटिल भएकाले फ्याट्टै यसै हुन्छ भन्ने अवस्था नरहेको तर संसद्लाई बन्धकबाट मुक्त गर्नका लागि समिति गठन गर्ने विषय अन्तिम चरणमा पुगेको छ ।   सहकारी प्रकरणमा बहालवाला गृहमन्त्री रवि लामिछाने पनि मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ । 

गृह प्रशासन अन्तर्गत रहने सुरक्षा निकायले गृहमन्त्रीको संलग्नता छानबिन गर्न नसक्ने निष्कर्ष कांग्रेसको छ ।  सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) सचेतक रूपा शोसी चौधरीका अनुसार राजनीतिक र संसदीय गतिरोध अन्त्य गर्नका लागि संसदीय छानबिन समिति बन्ने सम्भावना बढी छ । 

“वर्तमान गठबन्धनलाई निरन्तर अघि बढाउने हो भने संसदीय छानबिन समिति गठन गर्ने निष्कर्ष निकाल्न सकिएला,” उनले बाह्रखरीसँग भनिन् । वर्तमान गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्ष दुवै गम्भीर रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषयलाई टुंगो लगाउन सत्ता गठबन्धनभित्र निरन्तर छलफल गरिरहेका छन् ।  उनले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायतसँग छलफल गरिरहेका छन् । 

विशेषगरेर एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अझ बढी संवाद गरेका छन् । “संसदीय छानबिन समिति बनाउने भनेर प्रधानमन्त्रीबाट स्पष्ट कुरा आएको छैन । तर, यो विषय समाधान गरेर अघि जान कसरी सकिन्छ भनेर छलफल भने निरन्तर भइरहेको छ,” चौधरीले थपिन् । 

बजेट अधिवेशनमा पनि यो विषयले निरन्तरता पाए के गर्ने भयमा सरकार र सत्तारुढ दल पुगेका छन् ।  आफू सत्ताबाट हटेसँगै नेपाली कांग्रेसले रास्वपा सभापति समेत रहेका वर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपलचन गर्ने कार्यमा सक्रिय सहभागी भएको आरोप लगाउँदै आएको छ । 

जीबी राईसँग मिलेर पोखरा बुटवललगायतका सहकारी संस्थाको पैसा ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेको आरोप कांग्रेसको छ । 

सोही कारण संसदीय छानबिन समिति बनाएर यथार्थ विषय सार्वजनिक गर्नुपर्ने माग उसको छ ।  कांग्रेसले समितिको माग गर्दै सदनको हिउँदे अधिवेशनमा पनि निरन्तर विषय उठान गर्दै आएको थियो । सदनमा वेल घेर्ने र नाराबाजीसम्मको कार्यक्रम कांग्रेसले एकसाथ अघि बढायो । अहिले पनि सोही मूडमा कांग्रेस रहेको नेताहरु बताउँछन् ।

अर्को सत्तारुढ दल नेकपा एमाले सचेतक सुनिता बरालका अनुसार संसदको बजेट अधिवेशनअघिनै विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने हुन्छ । यसका लागि सत्तारुढ दलहरुबीच संवाद भइरहेको भए पनि निष्कर्ष भने आइसकेको छैन ।

“निष्कर्षमा पुग्नेगरी संवाद त भएको छैन छलफल निरन्तर भइरहेको जानकारी हामीलाई छ । बजेट अधिवेशन चलाउनुपर्ने बाध्यात्मक अवस्थामा छौं । २८ गते अघि यो विषयलाई टुंगो पुर्‍याउनैपर्छ,” उनले भनिन् ।

शनिबार बाँकेको कोहलपुर पुगेर कांग्रेस नेता शेखर कोइरालाले सदनको बजेट अधिवेशन सहज ढंगले चल्न नदिने अभिव्यक्ति दिए । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बटमलाइन कांग्रेसको भएको उनको भनाई थियो ।

संसद्को बैठक शुक्रबार बोलाइएको छ । आगामी आर्थिक वर्षका लागि आउँदो जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।  यही बाध्यतालाई बुझेर कांग्रेस आफ्नो मागमा झनै अडिग रहेको छ ।
कांग्रेस सचेतक सुशीला थिङ्ग कांग्रेस आफ्नो बटमलाइनबाट टसको मस नहुने बताउँछिन् । 

हालसम्म सत्ता पक्षले निकास दिने तयारी नगरेकोमा आपत्ति उनको छ । निकास नदिए के गर्ने भन्ने विषयमा छलफल गर्न २७ गते संसदीय दलको बैठक बोलाइएको भनाई उनको छ ।  “हालसम्म कसैले पनि कांग्रेससँग छलफल गरेको सूचना मलाई छैन । तर, हामी हाम्रो बटमलाइनबाट एक इन्च तलमाथि भएका छैनौं,” उनले भनिन् । 


 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro