site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मुर्दाघरको होहल्ला

मुर्दा अर्थात् मरेको लास । ‘लास’ भनिसकेपछि मरेको भनेर किन थप्नुपर्‍यो ? कुनै लास जिउँदो पनि हुन्छ त ! खै, तर लासहरूको अनुहार हेर्ने हो भने यिनीहरू एकापसमा गन्थन गर्लान् झैँ लाग्छ ।
०००
दृश्य: मुर्दाघाट । केही कोठाहरू । कोठैपिच्छे केही लासहरू । कोठा नम्बर १०२ मा चार लास ।

पात्रहरू: लास नम्बर १ र २ युवा । लास नम्बर ३ बालिका । एक वृद्ध छन् । जसको कागजात बनिसकेको छ ।

०००

(पल्लो कोठाबाट)
लास नम्बर ४: कस्तो मुर्दाघाट हो यो, मरेपछि पनि नाम राखिँदो रहेछ ! म छोराको हत्याको न्याय माग्न आएको थिएँ । अनशनमा आफैँ मरेँ । यतै ल्याएर कालकोठरीमा थुनिदिए ।

लास नम्बर ५: म ऋणको बोझले बाँच्नै नसकेर स्वमरण बेहोरेको हुँ । मलाई जाँच्ने नाममा मेरा अंगमा छुरा चलाएर यतै ल्याएर थन्काइदिए । साह्रै दुखिरहेछ ।

लास नम्बर ६: म झगडाको बीचमा परेर मरेको हुँ । तिमीहरू धेरै हल्ला नगर । म फेरि मारिन सक्छु ।

०००
(वल्लो कोठाबाट)
लास नम्बर १: (२ नम्बरतर्फ इंगित गर्दै) भाइ, तँसँग अलिकति पैसा छ त ?

लास नम्बर २: छैन दाइ । तिमीलाई मरेपछि पनि पैसाले छोडेन है ! चुरोटका अम्मली हौ र ?

लास नम्बर १: होइन भाइ । तिमीहरूका पो ‘हत्यारा पक्राउ गर्’ भन्दै अनशन बस्ने मान्छे छन्, हत्यारा पक्राउ भयो भने तिमीहरूको अन्त्येष्टि पनि हुन्छ । उतापट्टि कोठामा एउटी बुढी छ, लासघरमैँ कुहिने भएँ भनेर रोएको रोयै गर्छे ।

लास नम्बर २: मरेपछि पनि दशथरीको चिन्ता किन लिन्छौ दाइ ? बरु, तिमी कसरी यहाँ आइपुग्यौ ? कथा सुनाऊ न ।

लास नम्बर १: बाइक दुर्घटनामा मारिएको हुँ । गाउँबाट सहर आएर पढ्न बसेको, अति स्पीड, हेलमेट थिएन । लहैलहैमा गर्न नहुने काम गरियो भाइ ।

(भावुक हुँदै) एकदुई दिनमा बाआमा आऊलान् । कसरी अनुहार देखाउनु खै ! (३ तर्फ इंगित गर्दै) हाम्रा कुरा बुझ्छ्यौ ? तिमी निदायौ कि क्या हो नानी ? निदाएको निदायै होऊला नि !

लास नम्बर ३: होइन अंकल, बल्ल अलिअलि आँट गर्न सकेँ । दुखाइले विक्षिप्त छु ।

लास नम्बर २: नानी, कलकलाउँदो उमेरमा तिमीचाहिँ किन मरेकी हौ नि ?

लास नम्बर ३: म मरेको होइन, मारिएको हुँ अंकल । सामूहिक बलात्कारमा परेकी हुँ । बलात्कार मात्रै गरेनन्, सबैजसोलाई चिनेको हुनाले घाँटी थिचीथिची मारे । उसो त मेरा थिचिन बाँकी कुनै अंग थिएनन्, अंकल । (सुँक्कसुँक्क गर्दागर्दै बोली बन्द हुन्छ ।)

(संवाद सुनेर अलि पर रहेको बुढो लास मूच्र्छित छ । बाँच्ने आसमा उपचार गर्दागर्दै मरेको हो ऊ ।)

(एउटा लासको अन्त्येष्टिका लागि आफन्तहरू आउँछन् ।)

सुरक्षा कर्मचारी: तपाईंहरूको लास कुन अरे ? ऊ त्यो सबैभन्दा बुढोचाहिँ होइन ?

अलि परको नातेदार: हो भाइ, हो । भाइ, एउटा कुरा नि, तिमीलाई राति डर लाग्दैन ?

कर्मचारी: किन डराउनु त ! तर, कहिलेकाहीँ यो बुढोले ख्वाक्क खोकेजस्तो चैँ लाग्छ । चिसोले रुघा लागेजस्तो ऊ त्यो सानी नानीले स्याँक्क सिँगान तानेजस्तो पनि लाग्छ । यतापिट्टका चाहिँ बलियाबलिया छन्, उठेर गोद्लान् झैँ !

नियालेर हेर्नुभयो भने नि, म यहाँ आउँदा यिनीहरू सबैका आँखा रसिला हुन्छन् । खै, कसैलाई पश्चात्ताप हुँदो हो त कोही दर्दले रुँदा हुन् कि !

कहिलेकाहीँ त सुर्ती खानलाई हात पड्काएजस्तो पनि लाग्छ । आऽऽऽ छाड्नोस् यी कुरा, सबै तर्कना मात्रै हुन् । मलाई डरचाहिँ लाग्दैन । जति डराउनु जिउँदासँगै डराउनु के ! मरेकासँग केको डर ?

(अर्को लास थपिन्छ ।)

कर्मचारी: (भटभटाउँदै) हेर हेर, ओठ निचोर्दा दूध आउलाजस्तो । लभ परेर छुटेको अरे ! हाँस्नेखेल्ने उमेरमा के गरेको यस्तो ? कठै, तिमीहरूले जानेका छौ कसैले नजानेका ! तिमीहरूलाई त नर्कमा पनि बास मिल्दैन होला ।

(यतिखेर पहिलेका दुइटै लास मूच्र्छित हुन्छन् । ३ नम्बर लासले सुँक्कसुँक्क गरेझैँ लाग्छ ।)

०००

(ऊ अझै भटभटाउँदै छ ।)

सक्ने भए तिमीहरू पनि बोल्थ्यौ होला, यस्ता उरन्ठेउलाहरूलाई दुई झापड लाउँथ्यौ होला । तिमीहरू त अर्काका कारणले मारियौ । हेर, यो जानाजान मरेको । आफ्नै ज्यान कसरी मार्न सकेको होला यसले !

(‘सही हो सही हो’ । यस्तै आवाज गाइँगुइँ कानमा गुन्जिन्छ ।)

तिमीहरू हल्ला नगर । बरु, सम्झाओ यसलाई । (आँखामा आँसु टिलपिल गर्दै) मेरा पनि यही उमेरका छोराछोरी छन्, यो रात निदाउन सक्दिनँ म । ल हिँडे, तिमीहरूका आफन्त चाँडै आऊन् । तिमीहरूका अनुहार हेर्दाहेर्दा थाकिसकेँ म ।

(चुइँक्कककक खर्त्याक्खुत्रुक्क...। चाबी लगाउँछ । साइकलको प्याडल ठेल्दै अघि बढ्छ ।)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro