site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जाल, एक्लोपन र खुसी 

उमेर ढल्कदैँ गरेका आमाबुवा अनि विदेशिएका आफन्त र छोराछोरी । आफन्त खोज्न सामाजिक सञ्जाल छिरेका प्रौढ अनि साथी खोज्न सामाजिक सञ्जाल छिरेका युवा । यस्तोमा दुवैको गुम्दै छ खुसी अनि बढ्दो छ एक्लोपन । यस्तो बेलामा सामाजिक सञ्जालका धेरै फाइदा छन् तर साबधान भइएन भने एक्लोपनमा आगोमा घिउ थपे झैँ हुन्छ सामाजिक सञ्जाल । कसरी यस्तो हुँदो रहेछ भन्ने बुझ्न यस्ता सञ्जालले काम गर्ने तरिका थाहा पाइयो भने सजिलो हुन्छ ।
   
सामाजिक सञ्जालले कसरी काम गर्छन् ?

साथीसंगती जोड्ने सुन्दर उद्देश्य लिएर सुरु भए पनि प्रत्येक व्यक्तिको सूक्ष्म गतिविधिको विवरण राख्ने ढड्डा फाँट बनेका छन् सामाजिक सञ्जाल । हामी कतिबेला उठ्छौँ, कतिबेला कुन कुन साथीसँग फोनमा कुरा गर्छौँ, हाम्रो साइनो सम्बन्ध कुन प्रकारको छ, हामीलाई तरकारीमा के मन पर्छ, हामी के कुरामा खुसी भयौँ, हाम्रा आफन्तले टिभीमा के के हेरे, साथीभाइले के खाए, हामीले बजारमा के किन्यौँ भन्नेजस्ता हामीसँग जोडिएका मानिस, अभिव्यक्ति, भावना र वस्तुको सिलसिलेवार अभिलेख बनाएर एउटा ढड्डामा राखिन्छ । यो ढड्डामा रहेको हाम्रो जानकारी कसरी प्रयोग गर्ने भनेर संसारका धुरन्धर कम्प्युटर वैज्ञानिक, गणितज्ञ, मनोविज्ञ/चिकित्सकको समूह मिलेर थरीथरी गणितीय सूत्र/'मोडल' बनाइन्छ ।
 
यसको एउटा काम तपाईँबाट लिइएको जानकारीको विश्लेषण गरी सही भविष्यवाणी गर्नु हो । यो गणितीय सूत्र विलक्षण व्यक्तिको दिमाग जस्तो हुन्छ । हामीले प्रगाढ ठानेको साइनो कति फिक्का छ, हाम्रो समाज भावनात्मकरूपमा कता ढल्किँदै छ, चुनावमा कसलाई भोट हाल्ने मनसाय राखेका छन् क्षणभरमै भनिदिन सक्छ । फरक फरक परिस्थितिमा भएका करोडौं व्यक्तिको भविष्यवाणी एकैचोटि गर्नसक्ने यसको क्षमता वास्तवमै लोभलाग्दो हुन्छ । "क" भन्ने व्यक्तिको भोलि व्यवहार कस्तो हुन्छ, बेलुका के खान मनपर्छ, यो मान्छे लामो कामबाट आएको छ यसलाई केही नयाँ किन्न मनलाग्दो हो भनेर उसलाई मनपर्ने खाना, लुगा, सयर आदि इत्यादिको आकलन, प्रक्षेपण र प्रचार "क" भन्ने व्यक्तिले सोच्नुभन्दा पहिले नै ल्याउनु यस्ता गणितीय दिमागको काम हुन्छ ।

"ख" भन्ने व्यक्तिका आफन्त घुम्न निस्केका छ्न्, "ख" भन्ने व्यक्तिकी आमा बिरामी छिन्, "ख" भन्ने व्यक्ति बेचैन भइरहेको छ भन्ने जानकारी पनि फेसबुकलगायतका सामाजिक सञ्जाललाई हुन्छ  । यस्तो जानकारी आफूसँग उपलब्ध नभए अरूसँग किन्ने, लेनदेन गर्ने, वा चोर बाटोबाट भए पनि जम्मा गर्ने गरिन्छ । र यस्तो अवस्थाको व्यक्तिलाई के मन पर्छ, के कुरामा पैसा खर्च गर्ने उ उद्यत हुन्छ?  त्यसैअनुसारको विज्ञापन या श्रव्यदृश्य सामग्री पनि टुप्लुक्क आइपुग्छन् ।
हामी आफूले सोचेकै कुराको विज्ञापन कसरी आयो होला भन्ने लाग्छ नि । त्यसको पछाडि यस्तै गणितीय सूत्र अथवा 'मोडल' ले काम गरेको हुन्छ ।
यसरी विज्ञापन र श्रव्यदृश्य देखाउँदा फेसबुकलगायत सामाजिक सञ्जाललाई आर्थिक फाइदा हुन्छ ।

फाइदा भए के भयो त ? हामीलाई के मतलब ?

यसरी आर्थिक फाइदामा मद्दत पुगोस् भनेर हाम्रो सामाजिक हुनचाहने मानवीय गुण, हाम्रो मनोदशा बुझेर – "हेर फलानो त घुम्न निस्कियो तिमी घुम्न निस्किदैनौ? फलानोले त यस्तो किन्यो तिमी किन्दैनौ? फलानोको त कति साथी र आफन्त छन् तर तिम्रो ? फलानो त कत्ती खुसी अनि तिमी ?" जस्ता प्रश्नले थाहै नदिई सामाजिकरूपमा तुलना गर्न हामीलाई असामान्यरूपमा उक्साइरहनु राम्रो होइन  ।

प्रौढ उमेरका मानिसले युवाको जस्तो सामाजिक सञ्जालमा ध्यान नपाउनु वास्तविकता हो । यद्यपि, जस्ले धेरै ध्यान खिच्यो उसैले जित्योजस्तो गरेर सामाजिक सञ्जालले मनोवैज्ञानिक र आर्थिक इनामको व्यवस्था गरिएको हुन्छ ।
हाम्रो शरीरमा थुप्रै रसायन हुन्छन् । हामी अचम्म, भयभीत, दुखी वा सुखी हुँदा यी रसायनको मात्रा घट्बढ हुन्छ । सामाजिक सञ्जालले ध्यान खिच्न व्यक्तिका यिनैमध्ये केही रसायन बढाउने जुक्ति लगाएका हुन्छन् । यस्ले गर्दा हामीमा ध्यान पाउनको लागि होडबाजी गर्ने अवस्था आउँछ । यस होडबाजीमा युवामै पनि विभिन्न कारणले अगाडि वा पछाडि पर्छन् ।
      
यसरी यान्त्रिक उक्साइमा दाँजिएर पछारिँदा एक्लोपन झन् थपिन्छ, बेचैनी पैदा हुन्छ । अरू समूहमा छन् म एक्लो छु, अरूका आफन्त, आमा, बुवा, छोराछोरी, पत्नी साथ छन्, अरू पूरा म अपुरो, अरू खुसी म दुखी, अरू धनी म गरिबजस्ता हीनभावना पैदा गर्छ । अनि त्यही सञ्जालमा आफूलाई खुसी देखाउन मन व्यग्र भइरहन्छ । यो वास्तवमा भएको केही होइन फेसबुकलगायतका सामाजिक सञ्जालले यो थाहा पाउँदापाउँदै हाम्रो मानसिक, सामाजिक, शारीरिक, आर्थिक अवस्थाको जानकारी लिएर रचेको गणितिय कदमको नतिजा हो ।

गर्ने के त ?
आफन्त साथीभाइ टाढा छन्, उनीहरूसँग जोडिनै पर्‍यो । अरू केही काम गर्न सकिँदैन, यसमा सबै थोक हातैमा आउँछ, चलाउनै पर्‍यो?

चलाऊँ यस्का सुन्दर पक्ष पनि छन् र यसबाट धेरै फाइदासमेत लिन सकिन्छ । । यसको कार्यविधिबाट सचेत भइयो भने यसबाट पर्ने असरबाट बच्न सहज हुन्छ ।  यसले मानसिक हानि गर्ने भन्ने सत्य हो । वैज्ञानिक र विश्वविद्यालयहरूले यस्ले गर्ने हानिको सम्बन्धमा थुप्रै अनुसन्धान गरेका छन् ।
 
हामीमा चिटचिटाहट, हतासा, हीनभावना, उद्वेलन, एक्लोपन बढिरहेजस्तो लाग्छ भने कतै यो मेरो फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगको असर त होइन ? कतै सामाजिक सञ्जालद्वारा ममाथि खेलिएको खेल त होइन भनेर प्रश्न गरौँ, मनन् गरौँ । सकिन्छ भने एक दिन, एक साता, एक महिना र वर्ष दिनसम्म नचलाई आफूमा आएको मानसिक परिवर्तन हेरौँ । यसरी खेल्नेको खेल र मनोवैज्ञानिक जाल बुझियो भने हाम्रो खुसी सामाजिक सञ्जालमा खोजिरहनु पर्दैन । खुसी नितान्त वैयक्तिक विषय हो  । कसैलाई हिमाल आरोहण गर्दा खुसी लाग्ला कसैलाई सिनेमामा खेल्न । तपाँईँलाई जेहेनदार विद्यार्थीलाई दुईवटा किताब किनेर उपहार दिँदा खुसी लाग्न सक्छ । हिमाल आरोही र कलाकारको खुसी १०० र तपाईँको खुसी ९९ भन्ने त हुँदैन नि !
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro