site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलनबाट पाँच वर्षमा ५५६ जनाले ज्यान गुमाए, पानी नपाएरै मृत्युको मुखमा पुग्छन् घाइते
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा बर्सेनि जलनका घटना बढ्दै गए पनि उपचारको दायरा भने नबढेको तथ्यांकहरूले देखाउँछन् । प्राथमिक उपचारमा ज्ञानको कमी, सीमित अस्पतालमा मात्रै उपचार, छाला प्रत्यारोपणमा समस्या जस्ता कारणले जलनको उपचारलाई थप जोखिमपूर्ण बनाएको छ ।

पाँच वर्षमा ५५६ जनाले ज्यान गुमाए , तीनहजार बढी घाइते 

विश्वभर हुने जलनका घटनामध्ये ९५ प्रतिशत घटना न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गर्छन् । त्यसमा पनि एक तिहाइ जलनका घटना दक्षिण एसियाली मुलुकमा हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस हिसाबले नेपाल जलनका घटनाको 'इपिसेन्टर'को रूपमा रहेको विज्ञहरू बताउँछन् । जलेका घाइतेको उपचारका लागि डेडिकेटेट कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६०० जना भन्दा बढी जलनका घाइते भर्ना हुने गरेका छन् । 

सन् २०१८ यता २०२२ को अन्त्यसम्म तीन हजार ३३ जना भर्ना भएको अस्पतालको तथ्यांक छ । सन् २०२३ को जुनसम्म ४४४ जना घाइते थपिएका छन् । सोही पाँच वर्षको अवधिमा ५५६ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालको तथ्यांक छ । 

Royal Enfield Island Ad

बाँचेका ८० प्रतिशत घाइतेमा पनि मेजर बर्न (शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको) भएको अवस्थामा अन्य अंगमा पनि असर गरी अपांगता हुने सम्भावना रहने अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मी बताउँछन् ।

घटना बढे, उपचारको दायरा बढेन 

सामान्य जलनको उपचार स्थानीय तह तथा जिल्ला अस्पतालहरूमा भए पनि गम्भीर जलनको उपचारका लागि अहिले पनि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । एसिड आक्रमणबाट जलन भएकाहरूको निःशुल्क उपचारका लागि लागि काठमाडौंका पाटन, त्रिवि शिक्षण, वीर र कीर्तिपुर गरी चारवटा अस्पताल तोकिएको छ । 

तर, यी अस्पतालमा पनि जलनका बिरामीको उपचार गर्ने विशेषज्ञको छुट्टै दरबन्दी राखिएको छैन । जसले गर्दा एसिड आक्रमण र अन्य जलन दुवै खाले घाइतेको चाप कीर्तिपुर अस्पताललाई नै पर्दै आएको छ । 

त्यसमा पनि कीर्तिपुर अस्पतालको तथ्यांक हेर्ने हो भने ६०० मध्ये ३ देखि ४ जनामात्रै एसिड आक्रमणबाट जलन भएका घाइते भर्ना हुने गरेका छन् । 

यता वीर अस्पतालमा साउन अन्तिम सातादेखि बर्न वार्ड सञ्चालन गर्ने तयारी पूरा भइसकेको छैन । सुरुमा १० वटा बेडबाट जलनको उपचार सुरु गर्ने, त्यसमा तीनवटा आईसीयू र सातवटा वार्ड सञ्चालन गर्ने वीरको तयारी छ । 

तर, जनशक्ति र सबै स्रोत साधन उपलब्ध भए मात्रै साउन अन्तिमदेखि सेवा सुरु गर्न सकिने अस्पताल निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । 

जलेको २४ घण्टाभित्र पानी नपाएरै अधिकांशको मृत्यु 

जलन भएको २४ घण्टाभित्र पर्याप्त पानी नपाएरै नेपालमा अधिकांश घाइतेको मृत्यु हुने गरेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईको अनुभव छ । 

आगो होस् वा कुनै पनि तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नास हुँदै जान्छ । जसले छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुख्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुग्न सक्छ ।

त्यस्तै, भित्रैसम्म जलेमा अत्याधिक रक्तश्राव भइ मुटु, मष्तिस्क तथा अन्य संवेदनशील अंगमा असर पर्न जान्छ । जलेको व्यक्तिको शरीरमा सादा पानी र जीवनजल पानी पियाएर वा स्लाइनमार्फत २४ घण्टामा १० लिटर पानी दिनुपर्ने हुन्छ ।

तर, समुदायमा यसबारे सचेतना नहुँदा तथा सबै क्षेत्रमा प्राथमिक उपचार केन्द्रको पहुँच नहुँदा बिरामीको अवस्था बाटोमा नै जटिल हुने गरेको छ । यसरी जलन भएको लामो समय शरीर सुख्खा हुँदा उनीहरूमा थप जटिलता थपिने र अपांगता हुने सम्भावना बढ्ने डा. राई बताउँछन् । 

एम्बुलेन्समै छट्पटिरहन्छन् घाइते 

सरकारको निर्देशिका अनुसार एम्बुलेन्समा औषधि, उपकरण तथा जनशक्ति नहुँदा घाइते गम्भीर हुने तथा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । पाँच दिनसम्म पनि घाइतेले पानी नपाई अस्पताल आइपुग्ने गरेको डा. नकर्मीको अनुभव छ । 

‘एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७’ मा एम्बुलेन्सहरूको वर्गीकरण गरिएको छ । 
जसअनुसार ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा स्टाफ नर्ससहित चारजना, 'ग' वर्गको एम्बुलेन्समा अहेव वा अनमीसहित चारजना तथा एयर एम्बुलेन्समा स्टाफ नर्स वा हेल्थ असिस्टेन्टसहित चारजनाको टिम हुनपर्ने व्यवस्था छ । 

तर, अहिले सञ्चालन भइरहेका अधिकांश एम्बुलेन्समा यो मापदण्ड पूरा भएको पाइँदैन । कतिपय एम्बुलेन्समा पछिल्लो समय स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा एम्बुलेन्सको मापदण्ड प्राथमिक उपचार सुधारका लागि काम गरिरहेको डा. राई बताउँछन् । 

छाला बैंकलाई सक्रिय किन बनाउने ? 

डा. राईका अनुसार मानिसको शरीरको ४० प्रतिशत भाग जलेमा शरीरका अन्य भागबाट छाला लिएर पुर्न कठिन हुन्छ । छाला निकाल्न मिल्ने अंगहरू जलेमा घाइते निको हुने सम्भावना कम हुँदै जान्छ । 

यदि शरीरको आधा भाग जलेमा घाइतेलाई बचाउन नै कठिन हुन्छ । जलेका अधिकांश बिरामीको मृत्युको अर्को प्रमुख कारण छालामा हुने संक्रमण हो । 

गहिरो पोलेका बिरामीको भित्रसम्मको छाला शल्यक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ । सामान्य ड्रेसिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । अन्यथा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ ।

३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांश बिरामी नयाँ छाला नपाएर नै संक्रमणका कारण मृत्यु हुने गरेको डा. राई बताउँछन् । 

कीर्तिपुर अस्पतालमा छाला संकलनका लागि छाला बैंक सञ्चालनमा भए पनि छाला दानको अवधारणा अझै पनि स्थापित हुन नसकेको डा. नकर्मी बताउँछन् । छाला प्रत्यारोपण र छाला दानको अवधारणा सबैले बुझे मात्रै पनि धेरै बिरामीलाई बचाउन सकिने उनको भनाइ छ ।

कीर्तिपुरमा छाला बैंक स्थापना भए यता दुईजना बिरामीको मात्रै छाला बैंकमार्फत उपचार भएको डा. नकर्मीले बताए । 

कसरी गर्न मिल्छ छाला प्रत्यारोपण ? 

डा. राईका अनुसार वयस्क मानिसको तिघ्राको चार भागको तीन भाग छाला निकालेर बिरामीलाई दिन मिल्छ । नेपालमा जलेका बालबालिकामा यो विधि प्रभावकारी भएको पाइएको छ । बिरामी स्वयम् तथा परिवार या आफन्तले दान गरेको भागबाट पातलो छाला निकालेर जलेको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ । 

नयाँ निकालिएको छालामा प्वाल पारेर तन्काइन्छ र जलेको भागमा प्रत्यारोपण गरिन्छ । यसरी निकालिएको ठाउँमा दुई हप्तापछि नयाँ छाला बन्छ र त्यसलाई पनि फेरी घाउमा प्रत्यारोपण गर्न सकिन्छ । 

संक्रमण हुन नदिन दुई हप्तासम्म मृत व्यक्तिको छाला पनि प्रयोग गर्न सकिन्छ । 

परिवारका सदस्यको छाला पनि जलेका व्यक्तिलाई दिन मिल्छ ? 

बिरामीका परीवारका अन्य सदस्य वा आफन्तको छाला जाँच गरेर बिरामीलाई दिन सकिन्छ । डा. राईका अनुसार छाला दाताको पनि शल्यक्रिया गरेर नै निकाल्नुपर्ने हुन्छ । 

यसरी शल्यक्रिया गर्दा अत्यधिक सक्तस्राव हुने घाउमा संक्रमण हुन सक्ने, रगतका नसाहरू बन्द हुन सक्ने जस्ता समस्या दातालाई देखिन सक्छ । यसका अलावा बिरामीको छालामा रोग प्रतिरोधी क्षमता बनिसकेपछि दोस्रो व्यक्तिको छालालाई बिरामीको शरीरले चिन्छ र 'रिजेक्ट' गर्न थाल्छ । 

त्यसैले पनि बिरामीकै अन्य भागबाट निकाल्नु सबैभन्दा उपयुक्त विधि हो

यी हुन् जलनका घाइतेका लागि प्राथमिक उपचार 

आगो वा कुनै पनि तापयुक्त वस्तुले जलेपछि एक–एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ र प्राथमिक उपचार केन्द्रसम्म नपुर्‍याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ ।

जलेको व्यक्तिको शरीरमा सादा र जीवनजल पनी पियाएर वा स्लाइनमार्फत २४ घण्टामा १० लिटर पानी दिनुपर्ने हुन्छ ।

यसरी जलेका बिरामीहरूका लागि नि:शुल्क टोल फ्री नम्बर १६६००–५१००० को व्यवस्था गरिएको छ । यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरू अपनाउन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro