
विराटनगर । विराटनगरको तुलसी सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद फैसला भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षमा रहेका शर्मालाई ६ वर्षको कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश सीता शर्मा अधिकारीको बिहीबारको इजालासले शर्मालाई ६७ करोड ५९ लाख रुपैयाँ जरिबाना गरेको छ । यसैगरी सोही बराबरको बिगो तिुनुपर्ने र सहकारीको राहत कोषमा दुई करोड ७० लाख ३६ हजार ८५० रुपयाँ भराउन फैसला गरेको हो ।
संस्थाका सचिव सविना न्यौपाने र प्रबन्धक सन्दीप खवासलाई जनही दुई वर्ष दुई महिना कैद सजाय भएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने, “खवासलाई २७ लाख रुपैयाँ बिगो र २७ लाख रुपैयाँ नै जरिबाना भएको छ । पीडित राहत कोषमा उनले एक लाख आठ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।” न्यौपानेले पीडित राहत कोषमा ६००रुपैयाँ जम्मा गर्नुपर्ने छ ।
अदालतले न्यौपाने र क्षेत्रीय प्रबन्धक खवासलाई गत आइतबार दोषी ठहर गरेको थियो । सहकारी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले सफाइ पाएका छन् । फरार सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा छ ।
अध्यक्ष शर्मासहित आठजनालाई प्रतिवादी बनाएर २०७९ चैत १२ गते रकम हिनामिनासम्बन्धी मुद्दा दायर भएको थियो । विराटनगरमा केन्द्रीय कार्यालय रहेको संस्थाले झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा शाखा स्थापना गरेको थियो ।
बचतकर्ताबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप थियो । सहकारीका २१ हजार ७१३ सदस्य थिए । विराटनगरमा मात्रै चार हजारभन्दा धेरै सदस्य छन् । २०५२ सालमा स्थापना भएको सहकारी तीन वर्षदेखि बन्द छ ।