
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो भनेको नबिराउनु र नडराउनु रहेको बताए ।
उनले आफूले कुनै पनि भ्रष्टाचार नगरेको भन्दै अध्यक्ष नेपालले राजनीतिक प्रतिशोधका रूपमा मुद्दा चलाइएको उल्लेख गरे । "न बिराउनु, नडराउनु । मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु, राजनीतिक प्रतिशोधका रूपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे," उनले भने ।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालसहित आरोपीहरूलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ ।