site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवीन्द्र मिश्र र धवलशमशेर कहाँ छन् ? अदालतको बयानमा अनुपस्थित

काठमाडौं । राजावादी आन्दोलनका क्रममा तीनकुने घटनाका अभियुक्तको बयान सकाएर काठमाडौं जिल्ला अदालतमा बुधबार (जेठ २१)देखि थुनछेक बहस थालिएको छ । तर, मुख्य अभियुक्तमध्येका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छैनन् ।

स्वास्थ्य अवस्था गम्भीर भएका कारण धवलशमशेर जिल्ला अदालतको आदेशमा वैशाख ७ गते हिरासतमुक्त भएका थिए । बन्दीप्रत्यक्षीकरण रिटमार्फत रवीन्द्र सर्वोच्चको आदेशमा जेठ २ गते छुटेका थिए । उनीहरू दुवैजनालाई कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो ।

Argakhachi Cement Island Ad

त्यसरी छाडिएका उनीहरू राजावादी आन्दोलनमा सडकमा देखिएका छन् । तर, प्रहरी र अदालतमा अनुपस्थित रहँदै आएका छन् । उनीहरूलाई वकिलले प्रहरीमा उपस्थित गराउने जिम्मा लिएका थिए । तर, वकिलले नेताद्वयलाई उपस्थित गराउन नसकेपछि ५०/५० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

प्राविधिक रूपमा फरार उनीहरू अदालतको बयानमा पनि अनुपस्थित रहे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा थुनामा रहेका अभियुक्तको थुनछेक बहस जारी छ । नेताद्वय थुनछेक बहसमा पनि उपस्थित छैनन् ।

“रवीन्द्रजी र म दुवै काठमाडौंमै छौँ । आपसमा सम्पर्कमा पनि छौँ,” राप्रपा महामन्त्री धवलशमशेरले बाह्रखरीसँग भने, “२१ दिनसम्म हदम्याद हुन्छ, हामी हदम्यादभित्रै अदालतमा उपस्थित हुनेछौँ ।”

अभियोजनकर्ता निकाय जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले अदालतकै आदेशमा छुटेको हुँदा अन्तिममा उपस्थित गराउन मिल्ने जानकारी दिए । उपस्थित भएपछि उनीहरूको बयान सकाएर थुनछेक बहस हुने उनले बताए ।

प्रहरीमा भने उपस्थित हुन दिएको मितिमा अनुपस्थित भएमा जरिवाना गराउने कानुनी प्रावधान छ । सोहीअनुसार जरिवाना गरिएको उनले जानकारी दिए ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शन हिंसामा परिणत भएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्