काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले समूह चरणको अन्तिम खेलमा प्रतिष्ठाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन् ।
श्रीलंकाको पी सारा ओभरमा हुने खेल नेपाली समयअनुसार १०ः१५ बजेदेखि सुरु हुनेछ ।
यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो । नेपालले यी दुवै खेलमा २०० रनको योगफल पनि पार गर्न सकेको थिए । यसैकारण ब्याटिङमा संघर्षरत नेपाललाई आज अर्को एसोसिएट राष्ट्रविरुद्ध ब्याटिङमा स्वभाविक लयमा फर्किनुपर्ने चुनौती छ ।
यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।