काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा घरेलु टिम श्रीलंका ‘ए’ले बंगलादेशसामु ३५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनायो ।
श्रीलंकाका ओपनर अभिस्का फर्नान्डोले १३३ रनको योगदान गरे । फर्नान्डोले १२४ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । मिनोद भानुकाले ५७ रन थपे । पसिन्दु सुरियावन्दराले ४३, असेन वन्दराले ३५ रन जोडे । कप्तान दुनिथ वेलालेगाले र लासिथ क्रुस्पुलेले समान ३१ रन बनाए ।
बंगलादेशका रिपोन मोन्डोल र सौम्य सरकारले समान तीन विकेट लिए । रकिबुल हसन र मेहेदी हसनले एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।