site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले किन ‘ए’ टिम पठाएन ?

काठमाडौं । आज (बिहीबार)देखि श्रीलंकामा सुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । इमर्जिङ टिम्स कप एसीसीको एसियाली क्रिकेटको विकासका लागि युवा खेलाडी लक्षित प्रतियोगिता हो । यसमा एसियाका पाँच टेस्ट राष्ट्र र तीन एसोसिएट टिम छन् ।

प्रतियोगिताको प्रारुपअनुरुप नै टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले ‘ए’ टिमको रुपमा युवा खेलाडीलाई प्रतिस्पर्धाका लागि पठाएका छन् । यस्तै, दुई एसोसिएट राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमानले पनि प्रतियोगिताका लागि ‘ए’ टिम पठाएका छन् ।

a team 11689230827.jpg

तर, नेपाल भने सिनियर टिमकै रुपमा खेल्दै छ । आठ टिममध्ये प्रतियोगितामा ‘ए’ टिम नपठाउने नेपाल एकमात्र राष्ट्र हो । नेपालबाहेक कुनै पनि राष्ट्रले सिनियर टिम नपठाएकाले प्रतियोगिताका कुनै पनि खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएका छैनन् ।

नेपालसँग ‘ए’ टिम छैन ?

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठक भने नेपाली टिममा हाल सबै युवा खेलाडी नै रहेकाले अनुभव बटुल्ने अवसरका रुपमा सिनियर टिम पठाएको जिकिर गर्छन् ।

“नेपाली टिमका चार–पाँचजना सिनियर खेलाडी छैनन् । उनीहरुको स्थानमा अझ युवा खेलाडी आएका छन्,” हाल आईसीसीको वार्षिक साधारणसभा (एजीएम)का लागि दक्षिण अफ्रिकामा रहेका कार्यवाहक सचिव पाठकले बाह्रखरीसँग भने, “अन्य एसोसिएट टिमहरुले कप्तान परिवर्तन गरेर ए टिम भन्दै प्रतियोगिताका लागि पठाए । हामीमा पनि कप्तानलाई आराम दिएर अरु कोहीलाई यो जिम्मेवारी दिएर टिम पठाउने कि भन्ने कुरा आएको थियो । तर, रोहित आफै युवा छन् । उनको क्षमतालाई अझ बलियो बनाउन म्याच एक्सपोजरको आवश्यकता छ । त्यसैकारण उनले कप्तानी गर्ने भएपछि सिनियर टिमको रुपमा नेपाल श्रीलंका गएको हो ।”

rohit1689230826.jpg

नेपालले ‘ए’ टिम नपठाए पनि टोलीमा अधिकांश युवा खेलाडी छन् । प्रशिक्षक मोन्टी देसाईले यसअघि जिम्बाब्वेमा एकदिवसीय विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडाको ग्लोबल लिग खेल्ने भएका कारण टिममा छैनन् ।

उनीहरुको स्थानमा यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ र श्याम ढकाल (मौसम)ले मौका पाएका छन् । यस्तै, नेपालको टिम घोषणा भइसकेपछि आरिफ शेखले नखेल्ने भएपछि उनको स्थानमा पवन सर्राफ आएका छन् ।

नेपालको खेल

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालसँगै भारत, पाकिस्तान र यूएईको युवा टिम छन् । नेपाली टिमले भोलि (शुक्रबार) पाकिस्तानको युवा टिमविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले साउन १ गते भारतसँग खेल्नेछ ।

a team 21689230826.jpg

यस्तै, मोन्टी देसाईको प्रशिक्षण र रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमले ३ गते समूह चरणको अन्तिम खेलमा यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहबाट शीर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेलहरु साउन ५ गते र फाइनल ७ गते हुनेछ ।

नेपाली टिम ः कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्