काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरिएको छ । चलचित्र विकास बोर्डले स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत निर्मित ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरेको हो ।
उत्कृष्ट कथाका रूपमा छनोट भएसँगै यसको निर्माण पक्षलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा निर्मित यो चलचित्रको निर्देशक नवल खड्का हुन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्देशक खड्कालाई सो रकमबापतको चेक हस्तान्तरण गरिन् ।
यसअघि, बोर्डले स्टोरी बैंकका लागि कथा पठाउन आह्वान गरेको थियो । त्यसमा विभिन्न मेकरले सहभागिता जनाएका थिए ।
स्टोरी बैंकको उद्देश्य चलचित्र निर्माणमा सरकारले सहयोग गर्न सकोस् भन्ने हो । छनोट भएका स्टोरीमा निर्मित चलचित्रलाई बोर्डले आर्थिक सहयोग प्रदान गर्छ । सोहीअनुसार ‘काँडेतार’ उत्कृष्ट हुँदै १० लाख रुपैयाँ पाएको हो ।