site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आतोओडा, क्रान्ति र चिनियाँ यात्री फाहियानको यात्रा विवरण
Sarbottam CementSarbottam Cement

आतोओडा
(उपन्यास : जानुका खतिवडा)
साहित्यिकवृत्तमा विभिन्न कृतिहरूका साथ उपस्थित स्रष्टा जानुका खतिवडाको पछिल्लो पुस्तक बजारमा आएको छ, ‘आतोओडा’ । यो उपन्यासमा उनले सन्थाल जातिको कथा व्यथा प्रस्तुत गरेकी छन् ।

उपन्यासकार खतिवडाले यस कृतिमा सन्थाल जातिको सामाजिक, आर्थिक र तिनका सांस्कृतिक पृष्ठभूमिलाई केन्द्रमा राखेकी छन् ।

उपन्यासको अन्तिम पृष्ठको ब्लर्बमा उल्लेख छ, “सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा लेखिएको यो उपन्यासले उनीहरूको जीवन–संघर्ष र दुःखको कथा मात्रै बोल्दैन, सँगसँगै त्यो जीवनभित्रको प्रेम, त्याग, समर्पण र सम्बन्धहरूका बहुआयामिक पक्षहरूको सुन्दर पक्षहरूलाई पनि प्रस्तुत गरेका छन् । स्थानीय भाषा र लवजको समुचित प्रयोगले उपन्यासलाई सशक्त बनाएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उपन्यासकार खतिवडा आफ्नो भनाइमा लेख्छिन्, “मलाई आफ्नो गाउँका सन्थालहरूका बारेमा अझ विस्तारमा जान्न मन थियो । केही समय पुस्तकालय धाएँ । गाउँका बूढापाका सन्थालहरूसँग भेटेर तिनका कथाव्यथा सुनेँ । गौरादह, जुरोपानी र फकिरडिपका सन्थाल बस्ती डुलेँ । तिनका मेला–पर्व हेरेँ ।...।” (पृष्ठ — १६०)

एक अंशमा उपन्यासकार लेख्छिन्, “शुकरदेव खोलातिर जान लागेको रहेछ । बुधिनको साइकिलनजिकै पुगेर रोकियो । बाबाको आवाज सुनेर सनुमई हत्तपत्त चटाइतिर फर्किई र बोरामा मुरै भर्न थाली ।” (पृष्ठ — ३९)

Global Ime bank

कलम प्रकाशनद्वारा प्रकाशित १६४+४ पृष्ठको यस उपन्यासको मूल्य ३३५– रुपैयाँ राखिएको छ ।

०००    

क्रान्ति
(उपन्यास : डा. सुदीप अर्याल)
मनोचिकित्सा विशेषज्ञका रूपमा परिचित डा. सुदीप अर्यालको उपन्यास हो, ‘क्रान्ति’ । अहिले डा. सुदीप यस धरामा छैनन् । तर, उनको कृति ‘क्रान्ति’का रूपमा पाठकसामु छ । उनका भावना यसभित्रका पानापानामा छ । यो औपन्यासिककृति केही महिनाअघि सार्वजनिक गरिएको हो ।

कृतिको ब्लर्बमा प्रकाशन संस्था लेख्छ, “स्रष्टाको शरीर नश्वर होला तर अक्षरहरूमा सुरक्षित उसको सिर्जना अमर हुन्छ र युगौँसम्म मानव चेतनालाई अमरत्वको पाठ पढाइरहन्छ । यही शाश्वत यथार्थको एउटा प्रमाण हो हामीलाई कलिलै उमेरमा छोडिगएका मनोचिकित्सक डा. सुदीप अर्यालको अमर सिर्जना, उपन्यास ‘क्रान्ति’ ।

यस उपन्यासका सर्जक डा. सुदीपकी आमा सरस्वती अर्याल ‘मेरो छोरो जो स्वयम् कृति भएर बाँच्यो अब !’ मा लेख्छिन्, “...मेरो छोरो अब डाक्टर रहेन । उसैले मनोपरामर्श दिएर ज्यान जोगाइदिएका हजारौँ मान्छे छन् यही समाजमा । तर उही मनोचिकित्सक डा. सुदीपचाहिँ अब रहेन । तर पनि मैले के सुनेकी छु भने अक्षरको साधना गर्नेहरू अमर हुन्छन् । उनीहरूको नश्वर देह नासिएर गए पनि उनीहरू आफ्नै कृतिका कारणले कहिल्यै पनि मर्न पाउँदैनन् ।”

उपन्यासको एउटा अंशमा लेखिएको छ, “मनमा फेरि पबमा केटीले गीत गाउने बारेमा कुरा खेल्न थाल्यो । के मैले मेरी बीस वर्षे छोरीलाई साँच्चै पबमा गीत गाउन जान दिन्छु होला त ? अहिले सोच्दा त दिन्छु जस्तो लाग्छ । तर सोच्नु र गर्नुमा ठूलो फरक हुन्छ कि । छोरीको बाउ हुन सोचेजस्तो सजिलो छैन । फ्रिडम दिऊँ बिग्रेलान भन्ने डर । नदिऊँ छोरीलाई बन्धनमा राखेजस्तो हुने ।...।” (पृष्ठ — ८)

पेज टर्नर प्रालिद्वारा प्रकाशित २००+४ पृष्ठको यस उपन्यासको मूल्य ५५०– राखिएको छ ।

०००

चिनियाँ यात्री फाहियानको यात्रा विवरण
(गैरआख्यान : वासुदेव ढकाल)
भगवान् गौतमबुद्ध र लुम्बिनीको संक्षिप्त चिनारीसहितको कृति ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ केहीअघि सार्वजनिक भएको छ । यस पुस्तकका लेखक हुन्, वासुदेव ढकाल ।

पुस्तकको लेखकीयमा ढकाल लेख्छन्, “यस पुस्तकको नाम ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ राखिए पनि यस यात्रासँग बुद्धभद्रको पनि महत्त्वपूर्ण भूमिका रहेको र बुद्ध, लुम्बिनी, कपिलवस्तु रामराज्य पनि यसका प्रमुख विषय भएकाले यी विषय पनि पुस्तकमा समेटिएको छ । नेपालमा जन्मिएका बुद्धभद्र र चीनमा जन्मिएका फाहियानले बुद्धको जन्मस्थल नेपाल र बुद्धलाई चीनमा चिनाउन, नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन आजभन्दा करिब १६ सय वर्षअघि नै ठूलो योगदान दिएका थिए ।...।”

पुस्तकको भूमिकामा लीलामणि पौड्याल लेख्छन्, “पुस्तकमा कतिपय तथ्यहरू खासगरी बुद्धको जन्मवर्ष र रामग्राम कहाँ हो ? भन्ने बारेमा लेखकले आफ्ना तर्कहरू प्रस्तुत गर्नुभएको छ । पुस्तकमा बुद्धको जन्मदिन हाल नेपालीले मनाउँदै आएको बुद्धजयन्तीलाई आधार मानेर ई.पू. ५४४ नै हो भनेर पुष्टि गर्ने प्रयास गरिएको छ । जुन जायज नै छ ।...।”

यस पुस्तकभित्र ‘भगवान् गौतमबुद्धको संक्षिप्त जीवनी’, ‘लुम्बिनीको संक्षिप्त परिचय’ र ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ गरी तीन भागमा २४ शीर्षकमा विभिन्न विषय समेटिएको छ ।

‘फाहियानको नेपाल प्रवेश’ आलेखमा लेखक लेख्छन्, “टुवेदबाट श्रावस्ती फर्किएर श्रावस्तीबाट बाह्र योजन दक्षिणतर्फ हिँडेपछि उनीहरू नेपालको नेपीकीया वा गोटिहवा (हालको कोटिहवा) भन्ने गाउँमा पुगे । भूगोलको अज्ञानताले दक्षिण लेखिए तापनि श्रावस्तीबाट नेपालको क्षेत्र नेपीकीया उत्तरपूर्वमा पर्दछ । नेपीकीयालाई नाभिक र क्षेमावती पनि भनिएको छ । (पृष्ठ– ४०)

मकालु प्रकाशन गृहले प्रकाशनमा ल्याएको १०४+४ पृष्ठको यस पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC